सुनसरी । कोशी प्रदेशको इटहरीमा बिहीबार सम्पन्न प्रदेशस्तरीय साकोस गोष्ठीले सहकारी क्षेत्रको सुशासन, दिगोपन, र सुधारको दिशामा पाँच बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ। नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको उक्त गोष्ठीमा प्रदेशभरका २०० भन्दा बढी सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सहकारी संस्थामा देखिएको बचत अपचलन, वित्तीय अनियमितता र नियमनको कमजोरीबारे कडा टिप्पणी गर्दै सहकारी अनुगमनलाई प्रभावकारी र प्रविधिमैत्री बनाउनुपर्ने धारणा राखे । “सहकारी बचत–ऋण कारोबार मात्र होइन, उत्पादनमुखी क्षेत्रसँग जोडिनुपर्छ। अहिले देशभर देखिएको विश्वास संकट समाधान गर्न डाटा बेस, सफ्टवेयर र सघन अनुगमन अपरिहार्य छ,” मन्त्री हाङगामले भने ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रको स्वशासनका लागि पृथक नियामक निकाय गठन भइसकेको उल्लेख गर्दै संस्थागत सुशासन अब अभ्यासमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । प्रदेश संघका अध्यक्ष हरि सुवेदी, मोरङ जिल्ला संघ अध्यक्ष प्रेमप्रसाद कोइराला, र सञ्चालक शान्ति अधिकारीलगायतले पनि नेफ्स्कूनको मार्गदर्शनमा चल्न संस्थाहरू प्रतिवद्ध रहेको बताए।
गोष्ठीको पहिलो सत्रमा नेफ्स्कूनका सिईओ डा. शिवजी सापकोटाले ‘साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा चार्टर्ड एकाउन्टेन्ट राजन अधिकारीले ‘लेखा सुपरिवेक्षण समितिको भूमिका’ र राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकालले ‘सरकार र अभियानको साझा सवाल’ विषयमा प्रस्तुति गरेको थिए । । कार्यपत्रहरूमा वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, अनुगमनको सशक्तीकरण, र डेटा पारदर्शिताबारे विशेष जोड दिइएको थियो।

गोष्ठीले पाँच बुँदे साझा प्रतिबद्धता जारी गरेको छ । संघकी उपाध्यक्ष शान्ति अधिकारीले समापनका क्रममा वाचन गरेको पाँच बुँदे साझा प्रतिबद्धतामा निम्न बुँदा समेटिएको छ:
- अभियानले मार्गदर्शन गरेका रणनीतिलाई निरन्तरता दिने।
- आन्तरिक लेखा परीक्षण र सुपरिवेक्षणलाई सुदृढ गर्दै सुशासन सुनिश्चित गर्ने।
- साकोसमैत्री कानुन निर्माणमा सक्रिय सहभागिता जनाउने।
- सदस्यता, वित्तीय अवस्था र संस्था सुधारका लागि स्तरीकरणमा आबद्ध रहने।
- सहकारी ऐन र नियामक निकायसँग समन्वय गर्दै जिम्मेवार भूमिका निर्वाह गर्ने।
प्रतिबद्धता जारी भएपछि सहभागी सबै प्रतिनिधिहरुले सामूहिक रूपमा त्यसलाइ लागु गर्न सहमति व्यक्त गरेका थिए।

नेपालपत्र संवाददाता