धर्म उत्पीडित प्राणीको सुस्केरा हो, हृदयहिन दुनियाको हृदय हो, आत्माहिन अवस्थाको आत्मा हो, यो सर्वसाधारणको अफिम हो....

: कार्ल मार्क्स
कार्ल हेनेरिक मार्क्स (१८१८–१८८३) का कृतिलाई रुसका भ्ला.ई. लेनिन (१८७०-१९२४) र त्यसभन्दा अगाडि रुसकै गियोर्गी प्लेखानोभ (१८५६-१९१८) ले संसारमा फैलाउन योगदान पुर्याए । तर लेनिनले मार्क्सवादको व्याख्या गर्ने सिलसिलामा दार्शनिक अपब्याख्या यति नराम्रोसँग गरे कि लेनिनलाई पढेर मार्क्सवाद बुझ्न खोज्नेहरुका लागि उनका दार्शनिक विचारहरु एकदमै विकृत लाग्ने भयो ।
उदाहरणका लागि धर्मको सवालमा मार्क्सको यो भनाईबाट प्रष्ट होला । उनले धर्मलाई निरपेक्ष रुपमा अफिम भनेका थिएनन् । हेगेलको अधिकारको दर्शनको समालोचना, परिचय (Contribution to the Critique of Hegel's Philosophy of Rights, Introduction...), पृष्ठ १, (१८४३) मा उनले लेखेको उक्त विचारको अलिक विस्तृत रुप यस्तो थियो :
"Religion is the sigh of the oppressed creature, the heart of a heartless world, and the soul of soulless conditions. It is the opium of the people."
"The abolition of religion as the illusory happiness of the people is the demand for their real happiness. To call on them to give up their illusions about their condition is to call on them to give up a condition that requires illusions. The criticism of religion is, therefore, in embryo, the criticism of that vale of tears of which religion is the halo.
Criticism has plucked the imaginary flowers on the chain not in order that man shall continue to bear that chain without fantasy or consolation, but so that he shall throw off the chain and pluck the living flower."
उनको प्रसिद्ध ग्रन्थ पूँजी प्रकाशित भएर बजारमा जाँदा त्यसको हालत कस्तो थियो भन्नेबारे यो भनाईले प्रष्ट पार्दछ, "पूँजी’ले त्यति पनि पैसा नल्याउने भयो, जति रकम यो लेखेको समयमा मैले सिगार खाँदा खर्च भएको थियो ।"
सन् १८७६–१८८३ मा प्रकाशित मार्क्सको प्रसिद्ध ग्रन्थ ‘पूँजी’ Das Kapital को बारेमा उनैले गन्थनमा भनेको भनी उनका ज्वाईँ पावल लाफार्ग (१८४२–१९११) लाई उद्धृत गर्दै राहूल सांकृत्यायनले लेखेको जीवनी ‘कार्ल मार्क्स' को पृ. २०७ मा उल्लेख छ । मार्क्सको यस भनाईले 'पूँजी'बारे उहाँको धारणा र समकालीन युरोपमा त्यो ग्रन्थको अवस्था के रहेछ भन्ने आँकलनका लागि सजिलो होस् भन्ने अभिप्रायले यो उद्धरण राखियो।
राहुल सांकृत्यायन (१८९३-१९६३) ले हिन्दीमा लेखेको मार्क्सको यो जीवनी निकै दमदार छ । यस किताबमा उनका निजी जीवनका निकै रोचक कुरा पढ्न पाइन्छ ।
कार्ल् मार्क्सले कुनै कम्पनी चलाएनन्, न त कुनै राजनीतिक संस्था नै हाँके । कुनै हिसाब किताब वा लेखा हेरेनन् । केही समय कलेजमा लेक्चरर हुने बाहेक कुनै जागीर गरेनन् । उनलाई एंगेल्स् जस्ता उद्योगपति र विद्वानको आजीवन सहयोग मिलिरह्यो । उनका सबै विचार वा सिद्धान्त देखेको, पढेको र चिन्तन गरेको आधारमा मात्र भयो, भोगाई र अनुभव चाहिँ आफ्नै गरिबीमात्र थियो ।
मार्क्सकी छोरी लौरासँग बिहे गरेका पावल पेरिस युनिभर्सिटीमा मेडिकल कलेजका विद्यार्थी थिए, जो राजनीतिमा लागेको अभियोगमा कलेजले निकालिदिएछ । यिनी आफ्ना ससुराप्रति समान धारणा र हेलमेलको ब्यवहार देखाउँथे । तर मार्क्सका अर्का ज्वाईँ शार्ल ल्वांगेचाहिँ मार्क्ससँग मिल्दैनथे । राजनीतिक तथा वैयक्तिक सम्बन्ध बनेन भनी सोही पुस्तकमा उल्लेख छ ।
चन्द्रमणि गाैतम