शुक्रबार, कार्तिक ७ गते २०८३

“सहकारीले युवालाई सहजरुपमा पूँजी उपलब्ध गराएका कारण उद्यमशील बन्दा विदेशिने क्रम न्यून छ”

बैशाख २२, २०८२ सोमबार
“सहकारीले युवालाई सहजरुपमा पूँजी उपलब्ध गराएका कारण उद्यमशील बन्दा विदेशिने क्रम न्यून छ”

कतिपय सहकारी संस्थाहरु वित्तीय संकटबाट गुज्रिरहेका बेला  श्री बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको समग्र अवस्था के छ ? 

बज्रबाराही बचत तथा ऋण सहकारी समुदायमा आधारित भएर वित्तीय कारोबार गर्ने उदेश्यले स्थापना भएको संस्था हो । सुरुमा ८३ हजार रुपैयाबाट सुरु संस्था गरिएको थियो । सञ्चालक समितिबाट जनही पाँच हजार बाँकी १९ जना संस्थापक सदस्यबाट २ हजारको दरले गरी कुल ८३ हजार रकमबाट संस्था सुरु गरेका थियौं । आजको दिनसम्म आइपुग्दा संस्थाको कुल सम्पत्ति २७ करोड रुपैयाँ पुगेको छ । 

संस्था सुरु गर्दा बज्रबाराहीमा वित्तीय कारोबार गर्ने कुनै पनि वित्तीय संस्था थिएनन् । बचत ऋणको कारोबार गर्ने समुदायको यो पहिलो संस्था हो । कुनै प्लान नेपाल त कुनै बागमती  जलाधारको सहयोगमा यो क्षेत्रमा अन्य प्रकृतिका सहकारी संस्था स्थापना भएका थिए । तर बचत तथा ऋणको कारोबार गर्ने संस्था भने यो पहिलो हो । समुदायका मानिसहरु संगठित भएर स्वतःस्फूर्त रुपमा खुलेको संस्था भएकाले सदस्यहरुको आकर्षण दिनप्रतिदिन बढेर गयो । सञ्चालक समितिको इमान्दारिता र व्यवस्थापनको लगनशीलताका कारण संस्थाप्रति सदस्यको विश्वसनीयता बढ्दो छ । यहाँबाट काठमाडौं उपत्यका नजिकै रहेको र त्यहाँका सहकारीमा वित्तीय लगायत अनेकन समस्या आइरहँदा पनि बज्रबाराही सहकारीमा त्यसको कुनै पनि प्रभाव देखिएको छैन । संस्थाले सदस्य केन्द्रीत भएर वित्तीय कारोबार गरिराखेको छ र सदस्यहरुलाई बचत ऋणको साथै उद्यमी  बनाउन विभिन्न प्रयास गर्दै आएको छ । हामीले सदस्यले उत्पादन गरेको वस्तुलाई विक्री वितरण गर्ने उदेश्यले प्रदर्शनी कक्ष समेत स्थापना गरेका छौं। सदस्यको उत्पादनलाई बजारसम्म पु¥याउन हामीले कार्यविधि तयार गरिराखेका छौं । कोभिड १९ र मुलुकमा आएको आर्थिक मन्दीको बीचमा पनि संस्था स्मुथली अगाडि बढेको छ । 

सहकारी संस्थाले प्राथमिक पुँजीको कोषको आधारमा बचत तथा ऋणको कारोबार गर्ने व्यवस्था कानुनले गरेको छ , संस्थाको पूँजीकोषको अवस्था के छ ? 

हामीसँग संस्थागत पूँजी बलियो छ । पूँजीकोषको आधारमा १ जना सदस्यलाई ५६ लाखसम्म ऋण लगानी गर्न सक्ने भए पनि हामीले ३० लाखसम्मको ऋण एक जना सदस्यलाई लगानी गर्ने गरेका छौं । एउटै सदस्यलाई ठुलो रकम लगानी गर्ने भन्दा पनि धेरै सदस्यहरुलाई ससानो पूँजी लगानी गर्ने रणनीति हाम्रो छ । हामीसँग २ हजार ३ सयभन्दा माथि सेयर सदस्य हुुनुहुन्छ । सदस्यसँगको सम्बन्ध बलियो बनाउनुपर्छ र एक आर्थिक बर्षमा कुल सदस्यको ३३ प्रतिशत भन्दा बढी सदस्यलाई ऋण लगानी गर्नुपर्छ भन्ने सहकारीको अन्तर्राष्ट्रिय मापदण्ड छ । सोही अनुसार सहकारी विभागले पनि मापदण्ड तयारी गरी जारी गरेको छ । ठुलो ऋण लगानीको पछाडि सहकारी संस्थाहरु लाग्नुहुन्न । सहकारीले ससाना क्षेत्रमा ऋण लगानी गरेर सदस्यलाई स्वरोजगार बनाउनुपर्छ । सीमित सदस्यलाई ऋण लगानी गर्ने भन्दा पनि धेरै सदस्यहरुलाई उद्यमशील बनाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । हामी प्राथमिक पूँजीको १५ प्रतिशतसम्म ऋण एउटै सदस्यलाई लगानी गर्ने पक्षमा छैनौं । ठुलो ऋणको लागि बैंक तथा वित्तीय संस्था छन् । हाम्रो लक्ष्य भनेको सदस्यहरुलाई बचत गर्ने बानीको  विकास गरी धेरैभन्दा धेरैलाई उद्यमी बनाउने हो । संस्थामा १ करोड ६८ लाख जगेडा कोष रहेको छ भने शेयर पूँजी २ करोड ८ लाख माथि छ । 

सहकारी संस्थाका लागि नियमित मासिक बचत मेरुदण्ड नै भनिन्छ, संस्थामा आवद्ध सदस्यहरु मध्ये कतिले नियमित रुपमा बचत गर्दै आएका छन् ?

अहिलेको आर्थिक मन्दीले सदस्य र संस्थालाई नियमित मासिक बचतको महत्व बुझाएको छ । संस्थाहरुले नियमित मासिक बचतको महत्व अहिले आएर  बुझेका छन् । सदस्यलाई संस्थामा नै उपस्थित गराएर मासिक बचत गराउने संस्थाहरु आजको दिनमा बलिया छन् । जुन संस्थाले मासिक बचतलाई प्राथामिकता दिएका छन्, ती संस्थाहरु समुदायमा बलिया वित्तीय संस्थाको रुपमा स्थापित भएका छन् । ती संस्थामा बचत फिर्ताको लागि कुनै समस्या छैन भने सदस्यहरुलाई आवश्यकता अनुसार ऋण लगानी गर्न सकेका छन् । सदस्यहरुमा पनि बचत गर्नुपर्छ भन्ने भावनाको विकास भएर गएको छ भने संस्थाको अवस्था के छ, संस्था कसरी अगाडि बढेको छ ? भन्ने विषयमा पनि सदस्यहरु जागरुक भएर गएका छन् । हामीले सबै सदस्यलाई अनिवार्य रुपमा नियमित मासिक बचत गराएका छौं । एक बर्षभन्दा बढी नियमित मासिक बचत नगर्ने सदस्यको खाता बैकिङ्ग सिष्टम अनुसार डम्र्याट हुन्छ । नियमित मासिक बचत गर्न नचाहने सदस्यहरुलाई विभिन्न चरणमा फलोअप गर्छौं र कुनै किसिमले पनि कन्भिन्स गर्न सकिएन भने सदस्यता फिर्ता लिएर जान भन्छौं । संस्थामा आवद्ध २ हजार ३८५ जना सदस्यलाई मासिक बचतमा जोडेर लगेका छौं । कुल सम्पत्तिमा मासिक बचतको हिंसा २३ प्रतिशत रहेको छ भने संस्थामा कोपिला बचत गर्ने बाल सदस्यहरु पनि छन् । कोपिला बचतको हिस्सा १२ प्रतिशत रहेको छ । यी दुबैलाई मासिक बचतको रुपमा गणना गर्ने हो भने ३० प्रतिशत भन्दा बढी मासिक बचतको हिस्सा हुन आउँछ । छिट्टै फिर्ता नुहेन बचतले संस्थालाई वित्तीय रुपमा सुरक्षित गर्छ । 

२ हजार माथि सदस्य संस्थामा आवद्ध भइरहँदा कति प्रतिशत सदस्यमा ऋण प्रवाह भएको छ ?

ठुला र मध्यम उद्यम गर्ने सदस्यहरुले मात्र पहिलेदेखि नै संस्थाबाट ऋण लिने गरेका छन् । सानो उद्यम गर्ने सदस्यहरुले संस्थामा ऋण नै माग नगर्ने र र वरपर रहेका महिला र अन्य सहकारी संस्थाबाट सानो ऋणको प्रवाह धेरै भएको पाइएको छ । हामीले साना उद्यम गर्ने सदस्यको पहुँच ऋणमा पु¥याउन नसकेको कारण अब उनीहरुलाई लक्षित गरी कार्यक्रमहरु ल्याएको छौं । संस्थाले ८.९९ प्रतिशत ब्याजदरमा ऋणको स्किम ल्याइरहँदा पनि सानो आकारको ऋण प्रवाह गर्न सकिराखेका छैनौं । सदस्यहरुमा पनि बज्रबाराहीले ठुलो ऋण दिन्छ भन्ने छाप परेको हुनसक्छ । सदस्यहरुले सानो ऋण माग गर्न संकोच मानेको अवस्था छ । हामीले पोलिसी रिभ्यु गरेर ससानो ऋण लगानीलाई प्राथमिकता दिने योजना बनाएका छौं । आजका दिनमा कुल सदस्यको १८ प्रतिशत सदस्यमा मात्रै संस्थाले ऋण प्रवाह गर्न सकेको छ । सहकारी विभागले जारी गरेको मापदण्डले कुल सदस्यको ३३ प्रतिशतमा ऋण प्रवाह गर्नुपर्छ भनेको छ । यो विषयमा सञ्चालक समितिको बैठकमा पनि छलफल भएको छ । मासिक १० जना साना ऋणी थप गर्दै लैजाने नीति लिएका छौं । 

अहिले समुदायमा आधारित सहकारी संस्थामा तरलता बढेर ऋण लगानी हुन नसेको भन्ने सुनिन्छ, बज्रबाराहीको अवस्था के छ ?

संस्थाको टिमवर्क राम्रो छ । चित्लाङदेखि कुन्साल र ओखरगाँउसम्मका सञ्चालक संस्थामा हुनुहुन्छ । हामीले कार्यक्षेत्रभित्रका प्रत्येक सदस्य र गैह्र  सदस्यको घरघरमा पुगेर संस्थाको भित्तेपात्रो वितरण गर्ने गरेका छौं । हरेक टोलबाट संस्थाको सञ्चालक, व्यवस्थापन र उपसमितिहरुमा प्रतिनिधित्व रहेको छ । यसले गर्दा कुन टोलमा कसले के व्यवसाय गरिराख्नु भएको छ भनेर सूचना लिन सजिलो भएको छ । यसले गर्दा हामीलाई बचत संकलन र ऋण प्रवाहमा पनि सहजता मिलेको छ । यो क्षेत्र व्यवसायिक गतिविधि बढी हुनेमा पर्छ । काठमाडौंबाट २५÷३० किमिको दुरीमा रहेको तथा तरकारी र दुधको लागि पकेट क्षेत्रको रुपमा विकास भएर गएको छ । त्यसका साथै पर्यटकीय क्षेत्र भएकाले होटल व्यवसाय पनि फष्टाएको छ । व्यवसायिक गतिविधि बढी हुने भएकाले संस्थामा जम्मा भएको पूँजीलाई त्यसै राख्नु परेको छैन । सदस्यहरुबाट ऋण माग हुने गरेको छ भने ऋण असुलीमा पनि खासै समस्या छैन । हामी २० प्रतिशत तरलता लिएर बसेका छौं । 

सहकारी संस्था बचत ऋणको कारोबारमा मात्रै सिमित भए भनिरहँदा संस्थाले लिएको बचत र गरेको ऋण लगानीबाट सदस्यहरुको आर्थिक समृद्धिमा कतिको टेवा पुगेको छ ?

हामीले सदस्यको व्यवसायिक उत्पादनलाई वृद्धि गर्न टेवा पु¥याइराखेका छौं । बज्रबाराहीलाई मिनी दहचोक भन्ने भाष्य निर्माण भएको छ । अधिकांश सदस्यहरु गोलभेडा खेतीमा लागेका छन् । अरु ठाउँमा विदेश जाने क्रम बढेर गएको बेला यहाँका नगन्य मात्रामा युवाहरु विदेश गएका छन् । सहकारी संस्थाले सदस्यहरुलाई आवश्यक पूँजी प्रवाह गरी विदेश जाने क्रमलाई रोकेको छ । सदस्यहरुमा सीप, क्षमता र काम गर्ने इच्छाशक्ति छ भने सहकारी संस्थाले आवश्यक पूँजी उपलब्ध गराउने गरेको छ । संस्थागत रुपमा पूँजी उपलब्ध गराएको कारण सयौं सदस्यहरुलाई मुलुकमा नै कृषि पेशामा स्थापित हुन सहयोग गरिराखेका छौं । त्यसैगरी कुखुरापालन र गाईपालनमा पनि कृषकहरु आकर्षित भएका छन् । यहाँ ३ वटा डेरी नै सञ्चालनमा आएको छ । सहकारीले गाई पालनको लागि कृषकहरुलाई प्रवद्र्धन गर्ने काम भएको छ । आर्थिक रुपमा आत्मनिर्भर बन्नको लागि यहाँका वासिन्दालाई सहकारीले ठुलो टेवा पु¥याएका छन् । सहकारीमार्फत सदस्यहरुले केही न केही व्यवसाय गर्दै आएका छन् । सामाजिक काममा पनि सहकारी संस्थाले सहयोग गर्दै आएका छन् । हामीले ३÷४ बर्षदेखि स्वास्थ्य चौकीलाई बेबी व्ल्याङ्केट उपलब्ध गराउँदै आएका छौं । स्वास्थ्य चौकीमा सुत्केरी गराउने जो कोहीलाई संस्थाले बेबी व्ल्याङ्केट उपलब्ध गराउँदै आएको छ । सहकारीले आर्थिक तथा सामाजिक  क्षेत्रमा सकरात्मक भूमिका खेलेको छ । 

शहरी क्षेत्रमा ऋण असुली नहुँदा पनि सदस्यको बचत फिर्तामा समस्या भयो भनिन्छ, यहाँको अवस्था के छ ?

ऋण लगानी र असुली एकअर्काका परिपूरक हुन् । लगानी गर्दा विचार पु¥याइएन, पर्याप्त धितो राखिएन वा लगानीको क्षेत्र पहिचान गर्न सकिएन भने असुलीमा समस्या हुन्छ नै । त्यसका साथै सदस्यको आम्दानी अनुसारको मात्र ऋण लगानी गरिएन र जथाभावी ऋण लगानी गरियो भने यसले असुलीमा समस्या ल्याउँछ । हामीले सुरुका दिनदेखि नै लगानी गर्नुपूर्व यथेष्ट छलफल गर्ने गरेका छौं । सञ्चालक समितिले कतिपय ऋणका फाइल स्वीकृत नगरेको अवस्था छ । हामीले ऋण लगानी गर्दा सञ्चालक समिति र व्यवस्थापनबीच कोर्डिनेसन गछौं । हामीले अहिलेसम्म एक जना सदस्यको मात्रै धितो लिलाम गरेका छौं । ऋण असुलीमा ठुलो समस्या छैन तर वित्तीय कारोबार गर्ने संस्था भएकाले एकाध समस्या त आइहाल्छ । ऋण असुलीमा संस्थाको सिंगो टिम नै प्रतिवद्ध छौं । लगानी गर्दा नै सचेत भएकाले असुलीमा त्यति समस्या छैन । 

संस्थाले के कस्ता प्रविधिमा प्रयोगमा ल्याएको छ र यसको प्रयोगमा सदस्यहरुलाई कसरी साक्षात्कार गर्दै लैजानुभएको छ ?

प्रविधिमार्फत् सेवा प्रवाह गर्न सकेनौं भने सदस्यलाई समृद्धिमा लैजान सकिँदैन । अहिले हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढेर गएको छ । हामीले पनि विभिन्न प्रविधिको प्रयोग गरी सदस्यलाई सेवा दिँदै आएका छौं । बचत गर्नको लागि सदस्य कार्यालयसम्म आउनु पर्दैन । नियमित मासिक बचतदेखि बचत फिर्ताको लागि कार्यालयमा आएर भूक्तानी पूर्जा दिइराख्नु पर्दैन । सदस्यहरुले मोबाइल बैकिङ्गमार्फत बचत राख्न र झिक्न सक्नुहुन्छ । आधिकारिक फेसबुक पेजमार्फत संस्थाका हरेक गतिविधिदेखि वित्तीय साक्षरतासम्मको जानकारी दिने गरेका छौं । मोबाइल एप  सञ्चालन गर्ने हामी मकवानपुर जिल्लाकै पहिलो संस्था हौं । मोबाइल एपमा विभिन्न प्राविधिक समस्या छन् र बैंकको जस्तो प्रभावकारिता छैन । बैंक सरहकै विद्युतीय सेवा दिन पूँजीको अभावले भनेजति लगानी गर्न सकेका छैनौ । तैपनि हामीले सदस्यलाई अत्यावश्यकीय सेवा प्रविधि मार्फत् दिएका छौं । 

सहकारी क्षेत्रमा वित्तीय संकट आएपछि सहकारी संस्था माथि नै प्रश्न उठेको छ र अब सहकारी संस्थालाई स्थानीयकरण गर्नुपर्छ भन्ने सुझाव समेत उच्चस्तरीय आयोगले दिएको छ । तपाईको दृष्टिकोणबाट हेर्दा सहकारी संस्था कस्तो र कति कार्यक्षेत्रभित्र हुनुपर्छ ?

मेरो दृष्टिकोणमा सहकारीले देशभर नै कार्यक्षेत्र लिएर ७७ जिल्लामा नै सेवा केन्द्र खोल्नुपर्छ भन्ने छैन । ठुलो कार्यक्षेत्र लिएर देशभर सेवाकेन्द्र खोल्नु सहकारीको मर्म र भावना होइन । सहकारी संस्थाको अध्यक्ष र व्यवस्थापनले प्रत्येक शेयर सदस्यलाई चिन्नुपर्छ । सहकारी स्थानीयस्तरमा समुदाय केन्द्रीत नै हुनुपर्छ । बैंकको मोडेलमा देशभर सेवा केन्द्र खोल्ने र कर्पोरेट अफिस र मुख्य कार्यालय राख्ने कुरामा सहकारी लाग्नुहुँदैन । सहकारी  मूल्य, मान्यता र सिद्धान्तले पनि सहकारी सदस्यकेन्द्रीत भएर वित्तीय कारोबार गर्नुपर्छ भन्छ । बढीमा एक जिल्लाभन्दा बाहिर गएर सहकारीले काम गर्नुपर्छ जस्तो मलाई लाग्दैन । व्यवसायिकताको नाममा सहकारीको मर्म भावनालाई कुल्चेर अघि बढ्न खोज्दा सहकारी अभियान नै धरासायी हुनगयो । २०६८ सालको मापदण्डले पनि सहकारी संस्थाहरुलाई स्थानीयकरण गर्न भनेको थियो र आजको आवश्यकता पनि त्यही छ । बाहिरबाट आयातित संस्थाहरु आएर यहाँको बचत लिएर जाँदा यसले जोखिम निम्त्याएको छ । संस्थाका सञ्चालक को हुन्, कसरी संस्था सञ्चालन भएको छ, त्यो विषयमा सदस्य जानकार नहुने हुँदा यसले राम्रो गरिराखेको छ जस्तो मलाई लाग्दैन । ठुलो कार्यक्षेत्र लिएर जथाभावी वित्तीय कारोबार गर्ने सहकारी संस्थामा नै आज समस्या आएको छ । स्थानीयकरण हुँदा चेक एण्ड ब्यालेन्स हुन्छ । 

शहरी क्षेत्रको समस्या हेर्दा राज्यलाई समेत दवाव दिने अवस्था बन्यो । संस्थामा पहिलो जिम्मेवारी सदस्यको हुन्छ । कस्तो संस्थाको सदस्य बन्ने र बचत गर्ने भन्ने कुरामा सदस्यले नै ध्यान दिनुपर्छ । स्थानीयकरण भयो भने सहकारीमा देखिएका थुप्रै समस्या हट्छन् । राष्ट्र बैंकले पनि बचत ऋण सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड जारी गरेको छ । त्यसको कार्यान्वयन हुनुपर्छ । सहकारीमा प्रभावकारी नियमन नै हुनुपर्छ तब मात्र समस्या आउँदैन । कतिपय अवस्थामा दण्ड जरिवाना पनि लगाउनुपर्छ । वित्तीय कारोबार गर्ने संस्था भएकाले यसको नियमनमा ध्यान दिनैपर्छ । सहकारीकै कारण अर्थतन्त्रमा मन्दी आयो भनेर भनिन थालेको अवस्थामा प्रभावकारी नियमनमार्फत् सहकारीको पूँजीलाई आयआर्जन हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । 

तीन तहको सरकारले सहकारीको नियमन तथा अनुगमन गरी राखेको अवस्था छ, यसले गर्दा पनि प्रभावकारी नियमन भएन भनिन्छ नि ?

अहिले सहकारी संस्थालाई स्थानीय, प्रदेश र संघीय विभागमार्फत् नियमन तथा अनुगमन भइराखेको छ भने सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण समेत गठन गरेको छ । धेरै वटा निकायले सहकारीको नियमन गर्दा अलमलको अवस्था छ । अब एकद्वार प्रणालीमार्फत् सहकारी संस्थाको नियमन गर्दा राम्रो हुन्छ । स्थानीय तहले प्रदेश र प्रदेशले संघीय विभाग हुँदै राष्ट्र बैंक र प्राधिकरणलाई रिपोर्टिङ गर्ने सिष्टम विकास गर्नुपर्छ । एकद्वार प्रणालीमार्फत् जान सकियो भने संस्थाहरुलाई पनि सहज हुन्छ र रिपोर्टिङ प्रणाली पनि प्रभावकारी हुन्छ । सबैले कानुनले दिएको अधिकार प्रयोग गर्दै जाने हो भने सहकारी संस्थाहरुलाई रिपोर्टिङ लयायतका अन्य कुराको जानकारी दिन समस्या पर्छ । सबै सहकारी संस्थामा दक्ष जनशक्ति र प्रविधिको प्रयोग न्युन छ । यसकारण एकद्वार प्रणाली मार्फत् नै सहकारी संस्थाको नियमन गर्ने विधिको विकास भयो भने यो क्षेत्रको लागि माइलस्टोन बन्नसक्छ । 

राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्ड पूर्ण रुपमा पालना गर्न सम्भव छ ? 

राष्ट्र बैंकले भखरै मात्र निर्देशन तथा मापदण्ड जारी गरेको छ । सुरुमा भएका कारण ती कुरा लागु गर्न केहि कठिन होला । हिजोका दिनसम्म कसैले पनि सहकारी संस्थालाई प्रभावकारी रुपमा अनुगमन नगरेको अवस्था थियो । जुनजुन व्यवस्था लागु गर्न सकिँदैन, त्यसलाई संशोधन गरेर जानुपर्छ । राष्ट्र बैंकले पहिलो पटक सहकारी संस्थाको वित्तीय कारोबारलाई व्यवस्थित गर्न चासो देखाएर मापदण्ड ल्याउनु स्वागतयोग्य छ । अहिले देखिएका जटिलताहरुलाई सहज बनाउँदै जानुपर्छ । निर्देशन तथा मापदण्डको पालनाले सहकारी क्षेत्रलाई सुधार गर्ने उपयुक्त माध्यम बन्नसक्छ । 

सहकारी प्राधिकरणको औचित्य कत्तिको देख्नुहुन्छ ?

सहकारीको कसले जिम्मा लिने भन्ने अन्यौल रहेको अवस्थामा सहकारी प्राधिकरण गठन हुनु राम्रो पक्ष हो । स्थानीयस्तरका सहकारी धरासायी  हुँदा स्थानीय सरकार दोषी त प्रदेशका सहकारी संस्था धराशायी हुँदा प्रदेश सहकारी दोषी हुने गरी संरचना विकास भएको छ । बागमती प्रदेशमा सहकारी हेर्न ९÷१० जनाको दरबन्दी रहेको छ । प्रदेश मातहत ३ हजार माथि सहकारी संस्था छन् । कर्मचारीले त्यति धेरै सहकारी संस्थाको कसरी अनुगमन गर्ने भन्ने समस्या रहेको छ । प्राधिकरणमार्फत् विधिको विकास गरी देशभरका वित्तीय सहकारीलाई एउटा कार्यालयबाट नियमन अनुगमन हुन सक्यो भने संस्था, शेयर सदस्य र सबैका लागि फलदायी हुन्छ । 

केही संस्थाले गरेको वित्तीय अपचलनका लागि सिंगो सहकारी अभियानप्रति नै  समाजको हेर्ने दृष्टिकोण नकारात्मक बनेको अवस्थामा अब कसरी अगाडि बढ्नुपर्छ ?

सरकारले दर्ता दिएको संस्थामा सदस्यले बचत गर्ने र ऋण लिने काम गर्नु गलत होइन । कतिपय संस्थाका सञ्चालक र व्यवस्थापकले आफ्नो जिम्मेवारी वहन नगरी मनलागी ढंगले संस्था सञ्चालन गरे । आफन्त र नातागोतालाई धितो नै नराखी र प्रक्रिया नपु¥याई ऋण प्रवाह गरियो । सहकारी संस्थाले पनि नाफाको लोभमा घरजग्गा र शेयर बजारमा लगानी गर्ने काम गरे । सदस्यको बचतलाई जथाभावी लगानी गरेका कारण अहिलेको समस्या आएको हो । केही सहकारी संस्थाले गरेको वित्तीय अपचलनका कारण सदस्यहरुमा नकारात्मक भावना सृजना भएको छ । 

अहिलेको समस्याले नकरात्मकतासँगै सकरात्मकता पनि बढाएको छ । यी घटनाबाट सदस्यहरु पनि केहि चनाखो भएका छन् । सदस्यहरु सुसूचित भएका छन् । जुनपायो त्यहि सहकारीमा सदस्यले बचत अब गर्दैनन् । यसलाई हामीले अवसरको रुपमा पनि लिनुपर्छ । कुनै सहकारीमा सदस्य बन्न आग्रह गर्दा म किन सदस्य बन्ने र बचत गर्ने भनेर सदस्य स्वयंले प्रश्न गर्न थालेका छन् । संस्थाको समग्र अवस्था बुझेर मात्र सदस्य बन्ने परिस्थिति बनेर गएको छ । यो सकारात्मक पक्ष हो । सहकारी के हो भन्ने कुरा संस्थाहरुले आआफ्ना कार्यक्रम, सदस्यलाई गर्ने व्यवहार र सहकारी शिक्षामार्फत् सदस्यहरुलाई बुझाउनुपर्छ । अहिले सबै भन्दा बढी चासोको विषय सहकारी बनेको छ । अब सहकारी क्षेत्र सकारात्मकतिर जान्छ र बुझाईको स्तर पनि बढेर जान्छ भन्ने लाग्छ । सहकारीको खोल ओढेर साहुकारी प्रथामा चल्ने संस्थाका अब दिन गए । समाजको आवश्यकतामा स्थापना भएका सहकारीको भविष्य उज्ज्वल छ । सहकारी छाँटिने बेला यहि हो । सहकारीको मर्म र भावना अनुसार स्थापना भई सदस्यको हितमा काम गरेका संस्था समाजमा स्थापित भएर जान्छन् ।