शुक्रबार, कार्तिक ७ गते २०८३

दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसरमा प्रदेशस्तरीय गोष्ठी गर्दै नेफ्स्कून


बैशाख २२, २०८२ सोमबार
दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसरमा प्रदेशस्तरीय गोष्ठी गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले प्रदेशस्तरीय साकोस गोष्ठी गर्ने भएको छ । संघले कोशी, मधेश र लुम्बिनी प्रदेशमा गोष्ठी आयोजना गर्न लागेको हो ।

संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाईरहेको हुँदा नेफ्स्कुनले पनि गोष्ठी गरी सहकारी वर्ष मनाउन लागेको जनाएको छ । सहकारी संघसंस्थाहरुको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनाका लागि विषयविज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ । नेफ्स्कूनले बैंशाख २५ गते इटहरीको लायन्स क्लब सभा हल, बैशाख २८ गते गौतम होटल बर्दिबास र बैशाख ३१ गते कल्पतारु होटल, नेपालगञ्जमा गोष्ठी आयोजना हुने जनाएको छ । 

दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षले राखेका उद्देश्यको प्राप्ति, सहकारीको पहिचान प्रर्वद्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीहरुलाई सचेत गराउने ध्येयकासाथ प्रदेश स्तरीय गोष्ठी गर्न लागिएको हो । 

त्यसकासाथै सहकारीसम्बन्धी विद्यमान कानुनका द्विविधा, स्थानीय परिवेश तथा अभियानकर्मीहरूको फरक बुझाइबाट सिर्जना हुने समस्याका समाधानका साथै सहकारीका सदस्यको बचतको सुरक्षा र संस्थाको संस्थागत दिगोपनाका लागि सुशासनलाई मध्यनजर गर्दै एकैैसाथ ३ प्रदेशमा गोष्ठी हुन लागेको प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले बताए । पारदर्शिता, जावाफदेहिता र सदस्य केन्द्रीयता मार्फत सहकारीको वित्तीय सुशासन अभिवृद्धि गर्न सकेमात्र वर्तमानमा सहकारीको छविमा सुधार ल्याउन सकिने उनले जनाए ।  

प्रदेशगत गोष्ठीले सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीको महत्व र लेखा सुपरिवेक्षण समितिको भूमिकाबारे सचेतना फैलाउने, संस्था सञ्चालन सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी दिने, साकोस अभियानको प्रवद्र्धन तथा हितका लागि साकोस अभियानको कार्यदिशा स्पष्ट पार्ने र वित्तीय नियन्त्रण प्रणालीका आधारभूत विषयहरुको बारेमा जानकारी उद्देश्य लिएको छ । 

प्रत्येक गोष्ठीमा कम्तीमा २०० जना सहभागी हुने अपेक्षा संघको रहेको छ । सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा अन्य सरोकारवाला व्यक्तिहरु गोष्ठीमा सहभागी हुन सक्नेछन् ।  एक दिवसीय गोष्ठीमा तीनवटा सत्र सञ्चालन गरिने र दुई वटा सत्र विषयविज्ञहरू कार्यपत्र प्रस्तुत हुनेछ । 

गोष्ठीमा वित्तीय सुशासनको अवधारणा र महत्व, आन्तरिक नियन्त्रण प्रणाली प्रवद्र्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका, पारदर्शिता, जवाफदेहिता र सदस्य केन्द्रीयता जस्ता विषयमा छलफल हुनेछ । 

त्यसैगरी बचत ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल,  साकोसहरुको संस्थागत सुधारको लागि साझा प्रयास, सहकारी क्षेत्रमा नियमन र स्वायत्तताको सन्तुलन  र सहकारी नियमनको नयाँ प्रावधानः चुनौती र अवसरहरुका बारेमा सहभागीहरुलाई प्रशिक्षित गरिने भएको छ । गोष्ठीमा सहभागी हुन अनलाइन आवेदन दिएर रजिष्ट्रेशन गर्न सकिने नेफ्स्कूनले जनाएको छ ।