रिपब्लिक पार्टीका तर्फबाट श्री डोनाल्ड ट्रंपले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको एकसय दिन कटिसकेको छ। यहि सन् २०२५ को जनवरी २० का दिनदेखि उनको विधिवत् दोश्रो कार्यकाल् शुरु भएको हो। पहिलो पटक सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपतिको पदभार सम्हालेका थिए। कुनै एक व्यक्ति दुई कार्यकाल सम्म राष्ट्रपति बन्न सकिने अमेरिकन संवैधानिक व्यवस्था भएता पनि पहिलो कार्यकाल सकिए पछिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसंग पराजित भएकाले लगातार राष्ट्रपति बन्न सकेनन्। यसरी एक कार्यकालको बीचमा डेमोक्रेटिक पार्टीका जो वाइडन राष्ट्रपति बने र त्यस पछि उनी पुन: निर्वाचित भएका हुन्।
आफ्नो चुनावी अभियानमै उनले अवैध आप्रवासीलाई फिर्ता, आर्थिक सुधार र आयात माथि थप कर वृद्धि, जलवायु विनियम माथि कटौती, युक्रेन युद्धलाई समाप्त, गर्भपतनमा कुनै प्रतिबन्ध नलगाउने, ६ तारीख जनवरी २०२१ मा ट्रम्प समर्थकहरुले वाशिंगटन डीसीमा गरिएको दंगामा दोषी ठहराइएका अपराधीहरु मध्येका कतिपयलाई मुक्त गरिदिने, र आफ्नो विरुद्ध अपराधिक अभियोग उचाल्ने विशेष वकील जैक स्मिथ लगायतकालाई बर्खास्त गर्ने जस्ता सात प्रमुख मुद्दा उठाएका थिए। तर मुख्यत: अवैध अप्रवासी, आर्थिक सुधार कर वृद्धि र युक्रेन युद्ध समाप्त यी तीन मुद्धामा उनी बेसी केन्द्रित थिए। उक्रेन युद्धलाई आफुले सत्ता आरोहण भएको सय दिन भित्र समाप्त गरिदिने घोषणा गरेका थिए। यी सबै नाराका पछि अमेरिकालाई फेरि पनि एक नम्बर देश बनाउनु थियो। अमेरिकाको झण्डै ३४ ट्रिलियन डलरको कर्जालाई न्यून गर्नु बताएका थिए ।
पहिलो दिनमानै आप्रवाशीलाई देश निकालाको आदेश:
राष्ट्रपतिको कार्यभार सम्हालेको दिनै अवैध आप्रवासीहरुलाई उनीहरुकै देशमा फर्काउने आदेश दिए, हजारौं आप्रावासीहरुलाई अनेक बहानामा कडाईका साथ् अमानवीय रुपमा हत्कडी लगाएरै देश निकाला गरियो। यो क्रम निरन्तर चलिरहेको छ। यसको कोपभाजनको शिकार आफ्नो सपनाको सुन्दर भविष्य स्थल अमेरिकालाई बनाएका, जसले आफ्नो जीवनको उर्वर ऊर्जा, सीप अमेरिकाको निर्माणको लागि खर्च गरेका थिए उनीहरुलाई ठुलो चोट पुर्याएको छ।
युक्रेन युद्धमा गरेको सहयोगको असुली :
युक्रेन युद्धलाई समाप्त गर्न उनले जुन हथकण्डा अपनाए, त्यसमा रशिया विरुद्ध युक्रेनलाई उचाली युध्दमा होमेर मझ्दारमा लगेर आफ्नो सहयोगको बदला युक्रेनमा रहेको दुर्लभ खनिज पदार्थ हडप्ने अमेरिकाको कुत्सित स्वार्थ रहेछ भन्ने कुरा अहिले आएर छर्लंग भएको छ। पूँजीवादी साम्राज्यवादी सोच भएका देशहरुले आफ्नो शक्ति भएका बेला छिमेकी मित्र मुलुकलाई पनि अप्ठेरोमा पारी हडप्न पछि पर्दैनन् भन्ने कुरा क्यानाडालाई अमेरिकाको ५१औं प्रान्त बन्न आउ भन्ने र दुर्लभ खनिजको भण्डार रहेको डेनमार्क स्वशासित भूमि ग्रीनल्याण्डलाई बलपूर्वक अमेरिकी अधिनमा ल्याउने जस्ता कुरा गर्न डोनाल्ड ट्रम्प पछि नपर्नु यसको ज्वलन्त उदाहरण हो। आज युक्रेनी अदूरदर्शी र स्वार्थी नेतृत्वको कारण नाटो शैन्य गठबन्धन र अमेरिकी शक्तिको उक्साहटमा लाग्दा आफ्नो भूमि मात्र गुम्दै छैन, धनजनको अकल्पनीय क्षति र यहाँका बासिन्दाले देशभित्र युध्दको त्रासदीपूर्ण र लाखौंले विदेशी भूमिमा शरणार्थी भएर नारकीय जीवन बिताउन बाध्य हुनु आजको यथार्थ बन्न पुगेको छ ।
अमेरिकालाई फेरि महान बनाउ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई फेरी महान बनाउँ (Make America great again -MAGA )भन्ने नारालाई साकार बनाउन आयात माथि भारी कर लगाएर अमेरिकाको ब्यापार घाटाको पूर्ति गर्ने जुन रणनीति बनाएका छन् यसले पार्ने विश्वब्यापी असर र स्वयम् अमेरिकालाई सबै भन्दा बेसी अकल्पनीय मन्दीको मार खेप्न पर्ने अर्थशास्त्रीहरुले बताएका छन्। औद्योगिक र विकसित मुलुकले आफ्नो उत्पादनका लागि १९औं शताब्दीको शुरुबाटै विज्ञान र प्रविधिबाट टाढा रहेका गरीब देशहरुमा बजारको विस्तार गराउन शुरु गरेता पनि खासगरी दोश्रो विश्व पछि पुँजीवादी देश संयुक्त राज्य अमेरिकाले आफ्नो सीप, ज्ञान र प्रविधिको आडमा खुला बजार र भूमण्डलीकरणको नीतिलाई अति प्राथमिकता दिएर लागु गराउन पहल गर्यो।
आफ्नो बजार सुरक्षित राखी बसेका समाजवादी देशहरु सोभियत संघ र चीन पनि यस अभियानबाट सुरक्षित रहन सकेनन्। पुँजीवादीहरुले चलाएको यस आँधीमा सोभियत संघको आर्मेनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, कजाकिस्तान, किर्गिस्तान, लाटभिया, लिथुआनिया, मोल्डोभा, रूस, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेन र उज्बेकिस्तान गरी १५ टुक्रामा विभाजित भयो । यहि खुला बजार अर्थतन्त्र र नीजिकरणका संवाहकहरुले नेपालका सारा उधोगधन्दाहरु चौपट पारे। चीन भने ज्ञान, सीप प्रविधिको क्षेत्रमा अति मेहनत र अनुशासित भइ प्रतिष्पर्धी मात्र नभई उत्कृष्ट देश बनाउन सफल भयो र पूँजीवादी राष्ट्रहरुलाई बौलाउने स्थितिमा ल्याउन सफल भइरहेको छ।
के चीन अब विश्वको प्रमुख शक्ति मुलुक बन्नेछ ?
चीनको आर्थिक रुपान्तरण अद्भुत देखिएको छ । केही दशक अगाडि सम्म खेतीपातीमा आधारित गरिब अर्थतन्त्र भएको देश आज दोश्रो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ। यसको पछाडि असल आर्थिक योजना, सटिक बजार ब्यवस्थापन र चिनीयाँ जनताको अनुसाशित कडा मेहनत हो। यसको साथै वैदेशिक पुँजी निवेशलाई आकर्षण गर्नु, वैश्विक अर्थतन्त्रसँग जोडिनु, उपभोग्य बस्तुको उत्पादनमा मात्र होईन उच्चतम आधुनिक प्रविधिको विकासलाई पनि चीनले उत्तिकै प्राथमिकताकासाथ विकास गर्नु रहेको छ ।
सन् १९७२का बेला चीनमा अध्यक्ष माओ जेदाेङ्ग र प्रधान मन्त्री चाउएन लाई रहेका बेला अमेरिकी रिपब्लिकन पार्टीकै राष्ट्रपति रिचार्ड निक्सन थिए, उनले आफ्ना राष्ट्रीय सुरक्षा सल्लाहकार तथा परराष्ट्रविद् हेनरी किसिन्जरलाई चीन पठाएका थिए। दुवै देशका टेबल टेनिस खेलाडीहरुबीच मैत्रीपूर्ण खेल खेलाएर शुरु गरिएको सम्वन्ध सुत्रलाई 'पिंगपोङ्ग डिप्लोमेसी'को नामले सम्झने गरिएको छ। पछि धेरै दिनसम्म ‘चप स्टिक’ले खाने अभ्यास गरेर स्वयम् राष्ट्रपति निक्सन पनि चीन पुगेका थिए। यसरी अमेरिका-चीन सम्बन्ध जोडिएको थियो। अमेरीकीहरुको उद्देश्य चीनको विशाल बजारलाई कब्जा गर्नु थियो। त्यस बेलासम्म चीनले आफुलाई बाहिरी संसारसंग जोड्न त्यति मनपराएको थिएन। कथित प्रजातन्त्रको नाममा कम्युनिस्ट तानाशाही मुलुक भनी घेरेर अलग्याउने गरिएको थियो। चीन विश्व ब्यापार संगठनको सदस्य बनेको भने विधिवत् रुपमा २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको समयमा थियो। यिनी भने डेमोक्रेटिक पार्टीका थिए। यसलाइ चीनले एउटा अवसरको रुपमा लियो ।
चिनीया ज्ञान, कला, शीप र सँस्कृतिको प्राचीन भण्डार
यद्यपि पछिल्लो दुई-अढ़ाईसय वर्ष अगाडि एशियाका मुलुकहरु खास गरी चीन-भारत, ज्ञान, कला, संस्कृति शीपमा विश्वभर बेजोड़ थिए। चीनले प्रथम शताब्दीदेखि १५औं शताब्दीबीच दिशा पत्ता लागाउने कम्पास, बन्दूकको बारूद, कागज र छापाखानाको आविष्कार गरेको थियो भने प्राचीन भारतले शून्य र दशमलब प्रणाली, चेस खेल, आयुर्वेद, उन्नत धातु विज्ञान, परिष्कृत शहरी योजना, पृथ्वीको गोलाकार आकारको ज्ञान, खगोल विज्ञान र शल्यक्रियामा पनि खोजहरू गरी विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याएका थिए। यस्तै चीन कति समृद्ध थियो भन्ने कुरा सिल्क रोडको चर्चाले पनि सावित गर्दछ । तर पछिल्लो समयमा विभिन्न आक्रान्ताहरुले उनीहरुको प्रगतिलाई ध्वस्तै बनाई छाडे । अँग्रेज, फ्रांसेली, रूसी र जापानीहरुले चिनियाँ प्रतिभाशाली युवाहरुलाई अफीमको कुलतमा फसाएर बाँड़ीचूड़ी लूट्ने काम गरिरहे। त्यस समयपनि पूँजीवादी देशहरुले अफिमको ब्यापार गरेर आफ्नो ब्यापार घाटालाई पूर्ति गर्न चाहेका थिए ।
चिनीयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनीयाँ जनताले साम्राज्यवादबाट मुक्ति पाए पछि पनि चीनसँग संबन्ध बढ़ाएर उसको विसाल बजारलाई कब्जा गरी बेसीभन्दा बेसी मुनाफा लिने उनीहरुको चाल थियो । तर चीनले आफ्नो समाजलाई अति सावधानीपूर्वक बाँकी दुनियाँ समक्ष खुला मात्र गरेन की पूँजीवादी देशले विकास गरेका सीप, ज्ञान र प्रविधिलाई गहिरो अध्ययन गरी अझ आफुलाई समृद्ध बनाउने काम निपूणतापूर्वक गर्यो । चिनियाँ जनतालाई गरिबीबाट मुक्त गराउन माओ जे दोङले जुन आधारशीला राखेका थिए त्यो सी जिनपिंगको समय सन् २०२० मा आएर सम्भव हुन पुग्यो। संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूमा संयुक्त राज्य अमेरिका, फ्रान्स, रूस, बेलायतसँगै चीन पनि रहेको छ । यी देशहरूसँग कुनै पनि प्रस्ताव वा निर्णयलाई भिटो गर्ने अधिकार छ।
विज्ञान र प्रविधिमा चीनको अद्भुत अन्वेषण र विकास
चीनले पहिलो शताब्दीमा नै गरेको (गन पाउडर)को खोजलाई समृद्ध बनाउँदै आज मेग्नेसियम हाइड्राइडको प्रयोग गरी हालसम्म कायम न्यूक्लियररहित बम भन्दा १५ गुना शक्तिशाली हाइड्रोजन बमको परीक्षण गरेको छ, यसले दुई सेकंड सम्म १००० डिग्री ताप उत्पादन गरिरहने क्षमता राख्दछ भने यसको संसर्गमा आएका जतिलाई पगालेर ध्वस्त बनाउनेछ । अहिलेसम्मका बमले केवल ०.१२ सेकंड मात्र ताप उत्पन्न गरिने आँकलन गरिएको छ । चीनको यो परीक्षणबाट अमेरिका निकै अत्तालिएको बुझिएको छ ।
चीनलाई हिजो अमेरिकाले अंतरिक्ष क्षेत्रमा अलग्याउने प्रयास गर्यो तर चीनले हरेस खाएन। आफ्नो परंपरागत चंगा-ग्लाइडर हुदै अत्याधुनिक ड्रोनमा अग्रणी स्थान र रकेटदेखि स्थायीरूपमा चालक दल भएको आफ्नो छुट्टै अन्तरिक्ष स्टेशनसम्म स्थापना गर्न सफल भयो। आजसम्म जम्मा दुईवटा अंतरक्षीय स्टेसन छन र चीनको एकल र अर्को बाँकी दुनियाँको। चीन सिल्क र सूती कपडा उद्योगमा विश्वव्यापी रूपमा अग्रणी छ, जसको उत्पादन स्तर सबैभन्दा ठूलो छ र यसको व्यापक औद्योगिक श्रृंखला छ। चिनीया टेक्सटाइल उद्याेग नवीन प्रविधि, विविध कपडा, र आधुनिक प्रविधिसँग परम्परागत शिल्प कौशलको मिश्रणको लागि सुविख्यात छ।
डुंगा देखि युद्धपोतसम्मको यात्रा
सामान्य काठको डुंगा हुँदै आज वार्षिक एकहजार सातसय अत्याधुनिक समुन्द्रिक जहाज उत्पादन मात्र गरेको छैन कि चीनसँग जहाज संख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो नौसेना छ, जसमा ३७० भन्दा बढी युद्धपोत र पनडुब्बीहरू छन्। यसमा विमानवाहक, विनाशक युद्धपोत, नजर राखिरहने (escorting corvettes) र पनडुब्बीहरू जस्ता विभिन्न प्रकारका अत्याधुनिक जहाजहरू समावेश छन्। तुलनात्मक रूपमा अमेरिकाभन्दा समुद्री सामरिक शक्तिमा चीन अगाडि छ।
हाइपरसोनिक विमान
यसरी नै चिनले आवाज भन्दा १० गुना छिटो पुग्ने हाइपरसोनिक प्रविधिमा आधारित मिसाइल निर्माण गरेको छ । २२०० प्रति घण्टा गति भएको लड़ाकु विमानहरु बनाएको छ । ब्यवसायिक विमान निर्माणको लागि Aircraft corporation of China (COMAC)ले उत्तम नतीजाकासाथ लगातार सफल परीक्षण गरिरहेको छ । हालै COMAC ले चिनीयाँ प्रविधिमा निर्माण गरेको C -929 ले १२००० किमि परिक्षण उडान दिएको छ । यो लामो दुरी उडानको लागि बनाइएको यात्रुवाहक हवाइजहाज हो र यसको २८० यात्रु क्षमता रहेको छ ।
चीनले झण्डै ४८ हजार किलोमीटरमा अति तीब्रगतिमा चल्ने रेलमार्ग र विश्वको सबैभन्दा छिटो प्रति घण्टा ३५० किलोमिटर गति रहेको बुलेट ट्रेन अगस्त २००८ देखि संचालनमा ल्याएको थियो । विश्वको दुईतिहाइ तीब्र गतिमा चल्ने रेलमार्ग चीनमा रहेको छ । चीन बीवाइडी जस्ता इलेक्ट्रिक मोटरकार उत्पादन गरेर ईभिमा अग्रणी स्थानमा उभिएको छ ।
कृत्रिम नदीको निर्माण: महत्वाकांक्षी जल परियोजना र ग्रेट वाल
चीनले उत्तरको आफ्नो बञ्जर भूमिलाई हरियाली बनाउने लक्ष्य लिएर १४३२ किलोमीटर लामो कृत्रिम नदी निर्माण गरी बार्षिक ९.२ हजार घन मीटर पानी पुर्याउने गर्दछ । यो जल परियोजनाको माओ जे दोङ्गले सन् १९५२मा कल्पना गरेका थिए, सन् २००२ बाट यसको शुरूवात गरिएको थियो ।
चीनमा सन १३६८ देखि १६४४ सम्म झण्डै ३ शताब्दी लगाएर बनाइएको पृथ्वीको सबैभन्दा विशाल, लगभग ५,५०० माइल (८,८५० किलोमिटर) लामो पर्खालले उनीहरुको लगनशीलता, संकल्प र धैर्यताको चित्रण मात्र गरेन यसले बदलिँदो संसारमा आश्चर्यजनक प्रतिभा प्रदर्शन गर्न उनीहरुलाई प्रेरित गरिरहेको छ । यो पृथ्वीमा सबैभन्दा उल्लेखनीय मानवनिर्मित संरचनाहरू मध्ये एक ग्रेट वाललाई १९८७ मा युनेस्कोले विश्व सम्पदा स्थलको रूपमा तोकिएको थियो।
कृत्रिम दीप: आर्टिफिसियाल इण्टेलिजेन्स
आज उनीहरुले दक्षिण चीन सागरमा निर्माण गरेको कृत्रिम द्वीप (Artificial Island) होस् या सोलार प्यानल निर्माण, ईभीमोटरको मोटर ब्याट्री, रोबटिक चिप्स, सेमी कण्डक्टर, मोबाइल उत्पादन, आर्टिफिसियल इण्टिलिजेन्स (AI) चमत्कारी उपलब्धी, फाइभ जी नगरको ब्यवस्थापनदेखि अमेरिका लगायत कतिपय विकसित देशहरुले सिक्स–जी नेटवर्क कसरी बनाउने भनी सोचिरहेको बेला चीनले टेन–जी नेटवर्क इन्टरनेटको विकास गरेको छ। जसले २ सेकण्डमा आठ किलोबाइटको फिल्म डाउनलोड गर्न सक्नेछ ।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई )
आज उत्पादनमा विश्वको एकतिहाई हिस्सा चीनले ओगटेको छ । इलेक्ट्रोनिक्स प्रडक्टमा त चीनको एक्लैको हिस्सा ५९ प्रतिशत रहेको छ । इलेक्ट्रोनिक्स निर्यातमा अमेरिकाको हिस्सा करिब ६ प्रतिशत रहेको छ । चीनले आफ्ना यावत् उत्पादनलाई विश्वका विभिन्न कुनामा पुर्याउन सन् २०१३ मा वान बेल्ट वान रोड नाम दिएर महत्वाकांक्षी परियोजना शुरू गरेको थियो । जसलाई सन् २०१६मा आएर बेल्ट एंड रोड इनिसिएटिव नाम दिइएको छ । वैदेशिक नीतिको एक अंग बनाउँदै र यसलाई सफल बनाउँदै मध्य एशियाबाट यूरोप अनि ल्याटिन अमेरिका, अफ्रिकासम्म सड़क, रेल, बंदरगाह, हवाई मार्गको ठूलो सञ्जाल बनाएको छ। परस्पर भलाईका लागि शान्तिपूर्ण रणनीतिका माध्यमबाट संसार जोड्ने लक्ष बनाई विपन्न राष्ट्रको जनजीवनलाई पनि माथि उठाउन सहयोग पुर्याई रहेको छ। बिआरआई चिनीयाँ सिल्क रोडको नयाँ संस्करण मान्न सकिन्छ । जसका कारण विश्वका १४९ भन्दा धेरै मुलुकहरु आफ्नो ब्यापार ब्यवसायलाई माथि उठाउन बेल्ट एण्ड रोडसँग अनुबंधित भएका छन। पूँजीवादी राष्ट्रहरुले केवल आफ्नो फाइदाको लागि सम्बन्ध राख्ने गरेको अवस्थाबाट चीनले Common Prosperity for All र परस्पर Win Win भन्ने नारालाई ब्यवहारबाटै सावित गरेकोले पनि चीन आकर्षणको मियो बन्न सकेको हो । २०-२५ वर्ष अगाडि अमेरिका विश्वका धेरै मुलुकहरुसँग व्यापारिक साझेदार र वस्तु निर्माण केन्द्र थियो । त्यो आज ठीक उल्टो भई सो स्थान चीनले लिएको छ ।
अमेरिकाका बढ्दो ऋण र चीनको अभूतपूर्वक आर्थिक उन्नति
एकातर्फ चीनले चार दशकभित्र गरेको गरिबी निवारण, अकल्पनीय आर्थिक उन्नतिदेखि विज्ञान र प्रविधिमा गरेको अविश्वसनीय जस्ताे लाग्ने आश्चर्यजनक प्रगति र अर्को तर्फ पूँजीवादी राष्ट्र खास गरी संयुक्त राज्य अमेरिकाले आफुहरुले नै अगाडि बढाएको खुला बजार अर्थनीति र वैश्विककरणमा प्रतिस्पर्धामा उत्रिन नसक्दा ३६ ट्रिलियन ऋणको बोझमा परेको छ। आज अमेरिकाले आफ्नो खर्च धान्न बर्सेनी खरबौं डलर बराबरको सेकुरिटी वण्ड बेच्ने गर्दछ। हिसाब गर्दा अमेरिकी नवजात शिशुको अंशमा पनि नब्बेलाख डलरको ऋणकाे बाेझ परेको छ।
डोनाल्ड ट्रम्पको कर नीति स्वयंका निमित्त प्रत्युपादक
चीनको हालको जीडीपी लगभग १९.२३१ ट्रिलियन डलर छ, जसले यसलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशको रुपमा खड़ा गरेको छ । यो तथ्याङ्क २०२४ मा रिपोर्ट गरिएको थियो। चीनको प्रतिव्यक्ति जीडीपी लगभग १३,६५७ डलर रहेको छ। सन् १९८० मा चीनको गार्हस्थ उत्पादन जम्मा १५१ बिलियन मात्र थियो। संयुक्त राज्य अमेरिकाको जीडीपी संसारमा सबैभन्दा ठूलो छ, झन्डै २९ ट्रिलियन डलर। विगत १० वर्षको तथ्यांक हेर्दा चीनको यो बृद्धि दर ६.५ प्रतिशत भन्दा माथि रहेको छ भने अमेरिकाको यस अवधिमा २ प्रतिशत भन्दा कम रहेको छ। साथै चीनले हर क्षेत्रमा चामत्कारिक खोजमा पाएको सफलता, सामरिक शक्तिको विकास, तीब्रतर आर्थिक वृद्धिदर हेरेर सन् २०३५ सम्म संयुक्त राज्यलाई उछिन्ने र एक नम्वरको शक्ति राष्ट्र बन्ने अनुमान गरिएको छ। आगामी दश वर्षमा चीनले हालसम्मको अमेरिकाको एकलौटी दवदबामाथि चुनौती दिन थाले पछि अमेरिकालाई औडाह चल्नु स्वाभाविक हो।
दुई तीन दशक अगाडि सम्म विश्वका अधिकांश देश अमेरिकी उत्पादनमा आश्रित थिए, आज अमेरिकामा उत्पादन लागत बढ्दा बेशी मुनाफा नहुने हुदा त्यहाँका पूँजीपतिहरुले चीन लगायत अन्य मुलकमा पूँजी लगानी गरी आफना ब्रान्डेड बस्तुहरु पनि बाहिर उत्पादन गर्न थालियो। अमेरिकन लिवाइस जिन्सदेखि एप्पल आइफोन, HP, Dell, नाइकी, राल्फ, टमी, ग्याप, Calvin Klein ,Converse , Tommy Hilfiger, Polo Ralph Lauren, Under Armour, जस्ता हजारौं फेसन र आवश्यक उपभोग्य वस्तुहरु चीन लगायत विश्वका अन्य मुलुकमा सस्तो लागतमा तयार गरी अमेरिका लगेर सयौं गुणा नाफा गरी बेच्न पूँजीपतिहरु पल्केपछि अमेरिकामा उत्पादन क्रम घट्दै गई आजको अवस्थामा आई पुगेको हो।
सन् २०२३को तथ्यांक अनुसार अमेरिकी उत्पादन क्षेत्रले कुल अमेरिकी कुल गार्हस्थ उत्पादन (जीडीपी)मा १०.२% योगदान गरेको थियो। त्यस समसम्म कुल अमेरिकी रोजगारीको ९.७% उत्पादन क्षेत्रले ओगटेको थियो। अमेरिकी उत्पादन क्षेत्रले अमेरिकी अर्थतन्त्रमा २.६५ ट्रिलियन डलर योगदान गर्दछ।
कृषि र यस सम्बन्धित उद्योगहरूले अमेरिकी जीडीपीमा लगभग १.५३७ डलर ट्रिलियन योगदान गरेको छ , जुन कुल जीडीपीको ५.५ प्रतिशत हो। अमेरिकी फार्महरूले प्रत्यक्ष रूपमा २२२.३ बिलियन डलर (जीडीपीको ०.८%) योगदान गरे तापनि, खाद्य तथा पेय पदार्थ उत्पादन र खाद्य सेवाहरू जस्ता कृषि इनपुटहरूमा निर्भर क्षेत्रहरूले मूल्य थपेको कारण समग्र प्रभाव ठूलो छ। अमेरिका आज पूर्णत: वित्तीय पूँजीवादी आर्थिक प्रणालीमा निर्भर रहेको छ।
चीनको इतिहासमा "अपमानको शताब्दी" ले पहिलो अफिम युद्ध (१८३९-१८४२) देखि जनवादी गणतन्त्र चीनको स्थापना (१९४९) सम्मको अवधिलाई जनाउँछ। विदेशी हस्तक्षेप र पश्चिमी शक्तिहरू, रूस र जापानद्वार अधीनमा रहँदा भोगेको इतिहासबाट सृजित अनेक कथा र ब्यथाबाट विश्वसँगको विगत र वर्तमान सम्बन्धलाई कसरी हेर्छ भनेर बुझ्नु पर्दछ।
आधुनिक चिनीया आर्थिक प्रणालीका प्रणेता देङ सियाओपिङले चिनिया प्रचलित उखान -"समय नआउञ्जेल शक्तिलाई लुकाई राख" (Hide your strength and bide your time ) लाई दोहर्याई राख्थे र भन्ने गर्थे "सधै शान्त दिमाख राख, नेतृत्वको लागि होड नगर, तलै रहे पनि मर्यादित भइ बस, तर उदेश्य भने ठुलो काम गर्छु भन्ने लेउ।"
आज महाशक्ति राष्ट्र अमेरिकाको प्रलयकारी ट्यारिफ नीति खास गरि चीन परिलक्षित छ त्यसको बिरुद्ध आफ्नो शक्ति देखाउने समय भएको बुझ्यो। अहिलेसम्म शान्त बुद्धिले आफ्नो प्रगति गरिरहेको थियो। संसारको सबैभन्दा बेँशी जनशक्ति भएको मुलुक जुन आज टेक्नोलोजीमा दुनियाँका धेरै देशबाट कोशौं टाढा पुगिसकेको छ। सुपरफास्ट ट्रेन, टेनजी नेटवर्क, आर्टिफिसियल इन्टेलिजेन्स, ००४ टाईप एयरक्राफ्ट क्यारियर समुद्री जहाज, सी९२९ यात्रुवाहक हवाईजहाज, आवाजभन्दा दश गुना तेज मिसाइल, टिकटक, हुवावे मोबाइल, क्वान्टम कम्प्युटर, अलिबाबा, बेल्ट एण्ड रोड़ इनिसिएटिव आदिको विकासले अष्ट्रेलिया, भियतनाम, मलेसिया, दक्षिण कोरिया, थाइल्याण्ड, पाकिस्तान, मेक्सिको, ब्राजिल, अंगोला, जाम्बिया आदि देशहरुले चीन आफ्नो निर्भरता बढाएका मात्र छैनन् आफ्नो मुलुकको विकासमा ठूलो उपलब्धि पनि हासिल गरेका छन्।
अमेरिकाले लिएको हालको नीति एकाएक आएको होइन र यसको लागि चीनले एकदशक अगाडि देखिने सम्भावनाको आँकलन गरि प्रतिकारको लागि पूर्ण तयारीमा बसेको कुरा छर्लङ्ग भएको छ। डोनाल्ड ट्रम्पको नीतिले अमेरिकालाई ठूलो समस्यामा पार्ने अर्थविद्हरुले विश्लेषण गरिरहेका छन्। यसबाट अमेरिकी बजारमा भएको वस्तुहरुको अभावमा एकाएक पचपन्न साठी प्रतिशत मुल्य वृद्धि र अभावका कारण न्युयोर्क, लस्एञ्जलस्, सिकागो, फ्लोरिडा, वासिंगटन जस्ता ठुला शहर लगायत २०० भन्दा शहरमा विरोध प्रदर्शन भइरहेका छन्।
अर्कोतर्फ चीनमा मार्च २०२५को तथ्यांक अनुसार, चीनको मासिक मुद्रास्फीति दर -०.१ प्रतिशत थियो, जुन अघिल्लो वर्षको सोही महिनाको समान थियो । यसले ऋणात्मक मुद्रास्फीति दबावलाई संकेत गर्दछ, जसको अर्थ वस्तु र सेवाहरूको मूल्य पहिलेको झै नै घटिरहेको छ। २०२४को लागि वार्षिक औसत मुद्रास्फीति दर ०.२ प्रतिशतको रूपमा रिपोर्ट गरिएको थियो। अर्थविदहरुका अनुसार, चीन चाहन्छ चीनियाँ बजारमा बस्तु र सेवाको मूल्य बढोस्, जनतासँग रहेको आवश्यकता भन्दा बढी सञ्चित धन खर्च भई बजारमा निस्कोस । यसैले ट्रम्पको कर बृद्धिबाट चीन डराउने होइन कि एउटा अवसरको रुपमा लिने उसले तैयारी गरेको प्रस्ट छ।
यदि ट्रम्पले आफ्नो नीति माथि पुनर्विचार नगरेको खण्डमा अमेरिकाको निमित्त उनले घोषणा गरे जस्तो विदेशी वस्तुबाट “मुक्तिको दिन” होइन कि “आत्मघाती दिवस” बन्ने ठूलो खतराकाे सम्भावना छ । अमेरिकाले चीनलाई झुकाएर आफु ठूलो बन्ने नीति होइन, परस्पर सम्मान, समझदारी, परिपक्क ब्यवहार देखाएमा नै बुद्धिमत्ता ठहर्नेछ । अन्यथा साँस्कृतिक, आर्थिक, सामरिकरुपमा द्रुत गतिका साथ समृद्ध बनी ब्यूझिसकेको चीनलाई कुनै पनि मोर्चामा पराजित गराउन खाेज्दा अमेरिकालाई केही हात लाग्ने देखिँदैन, बरु महाशक्तिको श्रीपेचकाे समय अघि नै दु:खद अन्त्य हुने संभावना बढेर जाने प्रष्ट छ ।
शरणबिक्रम मल्ल