अनौठो सिद्धान्त जस्तो लाग्न सक्ला, तर कुनै पनि बिमारीलाई कुनै पनि खालको क्षति पुग्न नदिनु अस्पतालको पहिलो कर्तव्य हो.... : फ्लोरेन्स नाईटिङ्गेल
आधुनिक नर्सिङ् पेशाकी जन्मदाता फ्लोरेन्स् नाईटिङ्गेल (१८२०–१९१०) ईटलीमा (उनी जन्मेको फ्लोरेन्स सिटी उनैको स्मारक नामकरण) ब्रिटिश खातापिता परिवारमा जन्मेकी विश्वप्रसिद्ध महान समाजसुधारक तथा सेविका हुन्। खातापिता परिवारको व्यक्तिले यस्तो तुच्छ काम गर्ने ! भनी परिवारले रोक्दारोक्दै पनि सेवाको लागि उनी घरबाट निस्केर इटली पुगिन् ।
मैले उनको सर्वप्रथम नाम र योगदान थाहा पाएको नौ–दश कक्षाको अँग्रेजी पाठ्यक्रमको पुस्तक ‘पायोनियर्स् अफ प्रोग्रेस’ (विकासका अग्रणी) मा समाविष्ट एउटा च्याप्टर ‘द लेडी विद द ल्याम्प’ (बत्ती बोकेकी महिला) शीर्षकमा । ईङ्लिशका शिक्षक (हेडसर) श्री दिनप्रसाद सुवेदीज्यू (हाल अमेरिका) साह्रै प्रभावकारी किसिमले अंग्रेजी पढाउनु हुन्थ्यो ।
फ्लोरेन्स तथ्याङ्कशास्त्री र बेजोड लेखिका पनि हुन् ।
१८५३–५६ मा रसियाले ओटोमन साम्राज्यसहित बेलायत, फ्रान्स, सार्डिनिया (भूमध्यसागरमा सिसिली पछिको दोस्रो ठूलो टापु, इटालीका २० क्षेत्रमध्ये एक, केही हदसम्म घरेलु स्वायत्तता प्राप्त) को गठबन्धन तोडिदिएको क्राईमियाको भीषण युद्धमा धेरै सैनिक हताहत भएर सेवा–सुश्रुसा र उपचार नपाएको हृदयविदारक घटनामा फ्लोरेन्स नाईटिङ्गेलले यस्तो सेवा र उपचार दिने नर्स पेशाको स्थापना गरिन् आफैँ नर्स बनेर । अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो ।यसको राजधानी इस्तानबुल थियो, जसलाई पूर्वी रोमन शासन अवधिमा कन्स्ट्यान्टिनोपोल भनिन्थ्यो ।
फ्लोरेन्स नाईटिङ्गेलले स्थापना गर्नुभन्दा अघि नर्सिङ् पेशा नै थिएन, शिक्षा, तालिम र शिप नभएका स्वतन्त्र मानिसबाट सेवा लिने गरिन्थ्यो ।
युद्धका घाईते सिपाहीहरूको सेवा र सुश्रुसामा चौबिसै घन्टा खट्ने र राती सबै सुतिसके पनि आफू एउटा बत्ती बोकेर सबै घाईतेहरू सुते वा सुतेनन् वा छटपटाईरहेका होलान् कि भनी एकएकलाई आफैँ हेर्न पुग्ने भएकी हुँदा उनलाई उपचाररत घाईते सिपाहीहरूले कृतज्ञतापूर्वक ‘बत्ती बोकेकी महिला’ (Lady with the lamp) भन्ने उपनाम दिएका हुन् ।
१८६० मा लण्डनको सेन्ट थोमस अस्पतालमा उनले नर्सिङ् स्कूल (आज किङ्स् कलेजको एक प्रभाग) को स्थापना गरिन् । उनको जन्मदिन १२ मईलाई अन्तर्राष्ट्रिय नर्सिङ् दिवसको रुपमा मनाईन्छ ।
उनको उक्त भनाई ‘नोट्स् अन हस्पिटल्स्’ नामक अनुभव संग्रह (१८६३) को तेस्रो संस्करणको भूमिकामा उल्लेख छ।
इच्छुक पाठकको लागि यसको पूर्णरुप :
It may seem a strange principle to enunciate as the very first requirement in a Hospital that it should do the sick no harm. It is quite necessary, nevertheless, to lay down such a principle, because the actual mortality in hospitals, especially in those of large crowded cities, is very much higher than any calculation founded on the mortality of the same class of diseases among patients treated out of hospital would lead us to expect. The knowledge of this fact first induced me to examine into the influence exercised by hospital construction on the duration and death-rate of cases received into the wards; and it led me to lay before the Social Science Association a paper reprinted with the present title.
चन्द्रमणि गाैतम