मुुलुकको निर्वाहमूखी कृषिलाई आधुनिक र व्यवसायिक बनाइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको सयुक्त बैठकमा आर्थिक बर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उपजमा देशलाई आत्मनिर्भर बनाइने जनाए ।
उनले त्यसका लागि यान्त्रिकीकरणलाई प्रयोगमा ल्याउँदै युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम ल्याउने समेत बताए । भूमि, कृषि सामाग्री, बीमा,खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम कायम गरी युवापुस्तालाई कृषिमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा उनले प्रस्तुत गरेका छन् । भूमि बैंक मार्फत् जमिनको सुनिश्चित गर्दै परियोजनालाई नै धितोमा राखी स्थानीय वित्तीय संस्था मार्फत वित्तीय र अन्य सामाग्री व्यवस्था गरिने भएको छ । प्रमुख बाली,पशुपालन र मत्स्य क्षेत्र लक्षित कार्यक्रम मार्फत् कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा र कृषि आम्दानीको वृद्धि गरिने भएको छ ।
माटोको जैविक गुणमा ह्रास आउन नदिन प्राङ्गरिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिँदै दिगो कृषि उत्पादन तथा प्रणाली प्रबर्धनको विशेष कार्यक्रम सञ्चालन गरिने उनले बताए । त्यसैगरी रसायन तथा विषादीको आयात तथा प्रयोगलाई नियमन गरी यसको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथा जैविक विविधतामा आउने ह्रासको जोखिम न्युनिकरण गरिने भएको छ । दुग्ध पदार्थ, ऊन र मासुजन्य वस्तुको उत्पादन तथा निर्यात प्रबर्धन गरिने र पशुपन्छीजन्य रोग नियन्त्रणको लागि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषि बीमाको दायरालाई विस्तार गरिने र विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचय पत्रसहित सेवा सुविधा दिइने उनले बताए ।
नेपालपत्र संवाददाता