बुधबार, भाद्र ३ गते २०८३

किसानहरू नै मेरा भगवान हुन-स्वामी सहजानन्द सरस्वती


आषाढ २६, २०८३ शुक्रबार
किसानहरू नै मेरा भगवान हुन-स्वामी सहजानन्द सरस्वती

एक  महाबेदान्ती भारतीय स्वामी यसरी मरिमेटेर र प्रष्टताकासाथ लागेका थिए किसान आन्दोलनमा

लाेकनारायण सुबेदी

बृटिशकालीन बेलायती साम्राज्यवाद बिरोधी भारतीय स्वतन्त्रता संग्रामको समय अखिल भारतीय किसान सभाद्वारा १९३६ मा स्वामी सहजानन्द सरस्वतीको अगुवाईमा जमिन्दारी प्रथाको उन्मूलनकासाथै किसानहरुका सबै प्रकारका ऋणहरु मिनाह गरिनुपर्ने माग उठेको कुरा स्मरणीय छ । हुन पनि त्यो भारतीय किासनकाे माग आज ९६ बर्ष पछि पनि अनुत्तरित र जिउँदै छ । किसान आन्दोलनका ती भारतीय जनक तथा किसान संघर्षका सिद्धान्तकार, सूत्रधार एबं संघर्षकार स्वामी सहजानन्द सरस्वतीद्वारा अग्रेज साम्राज्यवादी शासन र जमिन्दारी प्रथाका बिरुद्ध आवाज उठाउनु त्यतिबोल कति ठूलो साहस र दृढ संकल्पपूर्ण अभियान थियो होला सहजै अनुमान गर्न सकिन्छ र त्यो स्मरण गर्दा पनि आज भारत र अन्यत्र पनि साँच्चो अर्थमा किसान आन्दोलनमा लाग्नेहरु र लाग्न चाहनेहरुलाई ऊर्जा प्राप्त हुन्छ । अनि स्वामी सहजानन्दले अघि बढाएको संघर्षलाई पुनर्बोध गर्नु उपयुक्त हुन्छ । 

एकजना सदाचारी ब्यक्तित्व जाे भारत उत्तरप्रदेश गाजीपुर जिल्लाको देबा गाउँमा जन्मेका देदीप्यमान, सत्यनिष्ठ,बिचारक र लेखक, त्यागका प्रतिमूर्ति, अथक क्रान्तिकारी योद्धा, बेदान्त, मीमांसाहरुका मर्मज्ञ नव यूवा थिए — क्रान्तिकारी किसान नेता स्वामी सहजानन्द सरस्वती । उनले भारतको उत्तरप्रदेशमा सामाजिक तथा जातिय भेदभावलाई चूनौति दिदै धार्मिक कट्टरता र ब्राह्मण इत्तर जातिहरुलाई दण्ड धारण गर्न नदिने समेतका अन्यायपूर्ण आडम्बरहरुका बिरुद्ध बास्तवमा के सिद्ध गरे भने ‘सबै योग्य ब्यक्तिले सन्यास ग्रहणको पात्रता राख्दछन्’ । उनले ‘मानब–मानब’ एकसमान र ‘सर्ब–धर्म समभाव’ तथा मानवताको उत्थान एक मात्र उदेश्यलाई प्रतिस्थापन गरे । यसलाई स्पष्ट पार्दै स्वामीले के भनेका छन् भने – ‘म इश्वरको खोजीमा हिडेको थिए । मैले उनलाई जंगल र पहाडमा खोजें, ग्रन्थ र पुस्तकहरुमा पनि कम खोजिन तर उनलाई पाउन सकिन । यदि उनलाई मैले कतै भेटे भने किसानहरुमा भेटें । ‘किसान नै मेरा भगवान हुन् र उनीहरुलाई नै म पूजा गर्ने गर्दछु । त्यसैले म के कुरा सहन सक्दिन भने कसैले मेरा ती भगवानहरुलाई अपहेलना या अपमान गरोस्’ ।

  स्वामीजीले स्वाधीनताको आन्दोलनको क्रममा के पाए भने किसान अग्रेजहरुबाट भन्दा पनि बढी सामन्ती जमिनदारहरुको निर्मम शोषणबाट सन्त्रस्त र पीडित छन् । उनले सामन्ती ब्यवस्थाको अमानबीय रुपलाई एकदमै निकटबाट देखे । अनि त के थियो र उनले साम्राज्यवादी तथा सामन्ती दुबैखाले शोषणका बिरुद्ध एकसाथ आन्दोलनको शंखघोष गरिदिए । स्वतन्त्रता संग्राममा लाग्नुकासाथसाथै किसानहरुको जीवनमा सुधार ल्याउनु पनि उनको एउटा प्रमुख लक्ष बन्न गयो । किसान–मजदुरको राज नै उनको सपना थियो र कमाउने कामदार जनताको मुक्ति नै उनको निम्ति पूर्ण स्वाधीनता थियो ।

यस लक्षकासाथ संघर्षरत स्वामी सहजानन्द सरस्वतीले १९२७ मा पटना जिल्लाको बिहतामा श्रीराम आश्रम खडा गरेर त्यसलाई किसान आन्दोनलको केन्द्र बनाए अनि पश्चिमी पटनामा किसान सभाको स्थापना गरे । फेरि १९२९ मा सोनपुर(छपरा)मा बिहार प्रान्तीय किसान सम्मेलन आयोजना गरे, जसले स्वामीजीलाई अध्यक्ष चुन्यो । डा. कृष्णसिंहलाई प्रान्तीय मन्त्री र यमुना कार्यीय, गुरु सहाय लाल तथा कैलाश बिहारी लाललाई प्रमण्डलीय मन्त्री चुनियो । त्यस किसान सभाले सरकार समक्ष खेतीयोग्य जमिनको स्थानान्तरणका सम्वन्धमा किसानलाई पूर्ण अधिकार दिने र खेतीयोग्य जमिनमा घर नबनाउने, कुवा खन्ने अधिकार सुरक्षित तुल्याउने प्रस्ताब पनि राखे ।

 १९३६ मा काग्रेसको लखनऊ सम्मेलनमा अखिल भारतीय किसान सभाको स्थापना भयो । स्वामीजीलाई त्यसको अध्यक्ष चुनियो भने भारतका अन्य प्रमुख नेताहरु एन.जी. रंगा, ई.एम. एस.नम्बुदरी पाद, जयप्रकाश नारायण, राम मनोहर लोहिया, पण्डित कार्यानन्द शर्मा, पण्डित यमुन कार्यीय, पण्डित राहुल साँकृत्यायन, आचार्य नरेन्द्र देव, पी.सुन्दरैया आदि नेताहरु किसान सभासँग जोडिए । अनि सुभाष चन्द्र बोससँग मिलेर स्वामीजीले किसान आन्दोलनलाई तीब्र पारे । स्वामीले बिहारको बिहटा चिनी मीलमा तीन पटक हडताल गराए । त्यसरी नै भारतका टेकारी, रेवडी, साम्बे, अबारी, धरहरा, बरहिया टाल, कुसुम्बा टाल, गुजरात किसान आन्दोलन, गाया, शहाबाद, दरभंगा, सरण, पटना, भागलपुर, पञ्जाव आदि सबै ठाउमा किसान आन्दोलनको सुत्रपात्र भयो । बिहारमा बकास्त संघर्ष, बंगालमा त्रिभागा संघर्ष, बरेलीको आदिबासी संघर्ष, त्रिपुरा, आन्ध्र, केरल सबै ठाउँहरुमा किसान संघर्षहरु किसान सभाले पैदा गरेका लहररहरुको परिणाम थियो अनि स्वाधीनतापछि काग्रेस भूमिसुधार सम्वन्धि कानुन बनाउन बाध्य भायो । किसान सभाका कार्यहरुलाई लिएर स्वामीले बिरोध र असहयोगको पनि दंश झेल्नु परेको थियो ।

 १९३४ ( जसलाई नेपालमा ९० सालको भूकम्प भनिन्छ)मा बिहारमा भूकम्पको त्रासदीमा सहायता कार्य चलाईरहेका स्वामीजीले के पाए भने त्यस्तो आपत बिपतको घडीमा पनि जमिनदार किसानसँग कर अशुल्न निर्दयी किसिमले दबाब दिइरहेका थिए । उनले यो कुराको गुनासो महात्मा गान्धिसँग पनि गरे । गान्धिजीले दरभंगा महाराजसँग कुराकानी गर्ने सल्लाह दिए । स्वामीजीलाई यो सल्लाह मन परेन । उनले प्रष्ट भने कि दरभंगा महाराजा स्वयमै किसानको शोषण गर्ने सबभन्दा ठूला शोषक हुन् । अनि स्वामीजीले गान्धिजीसँग आफ्नो सम्बन्ध पनि तोडिदिए ।

अखिल भारतीय किसान सभाको  स्थापना सम्मेलनको उदघाटन भाषणमा नै उनले उनले एकदमै स्पष्ट पारेका थिए  कि “किसान पूर्ण स्वतन्त्रताका लागि प्रतिबद्ध छन् र किसान सभाको लड़ाई किसान–मजदूर र शोषित बर्गलाई सम्पूर्ण  आर्थिक राजनीतिक शक्ति प्रदान गर्ने संघर्ष हो । यो केवल सत्ता हस्तान्तरण गर्ने  लड़ाई मात्र होइन ।”
अर्को कुरा जसलाई उनले बढी ठीक सम्झेका थिए र  अझ बढी जोड दिएर भनेका थिए कि   वगाहरुमा बिभक्त समाजमा बर्ग संघर्ष नै परिर्बनको माध्यम हो । बर्ग सहयोग या बर्ग समन्वयको समझदारीबाट केही पनि हासिल हुन सक्तैन । एक प्रकाण्ड बेदान्ती दण्डी स्वामीजी यस्तो निष्कर्शमा पुग्नु भारतमा कम महत्वपूर्ण बिकास चेतना थिएन । यो उनले समाजलाई राम्रोसँग बुझ्ने बैज्ञानिक दृष्टिकोणबाट नै हासिल गरेका थिए । 
उनले भनेका थिए –‘‘किसानहरुको तात्कालिक राजनीतिक, आर्थिक मागहरुका लागि संघर्ष गर्दै गएर  राजनीतिक सत्ता हासिल गर्ने संघर्ष गर्नु पर्दछ । यस संघर्षको केन्द्रमा हरेक किसिमको जमिन्दारी ब्यवस्थाको अन्त्य, जमिनदारको लगानको समाप्ति, कर प्रणालीमा परिबर्तन गरेर त्यसलाई प्रगतिशील तुल्याउन र सबैभन्दा मूख्य जमिन जोत्नलाई अनि भूमिहीनहरुलाई जमिन र ऋण मुक्ति जस्ता मागहरु रहेनेछन् ।’’ 
स्वामीजीको तेश्रो महत्वपूर्ण थियो राजनीतिमा धर्मको घूसपेठ । यस्तो घुसपेठप्रति उनको कडा असहमति र आपत्ति थियो । उनी के मान्दथे भने ‘धर्म एउटा एकदमै निजी बिषय हो । यसलाई सामाजिक तथा राजनीतिक बिषयबाट टाढा राखिनु पर्दछ । जसले यसो गर्दैन र धर्मलाई राजनीतिको सिढी बनाउने गर्दछन् तिनीहरु न धार्मिक हुन् न सामाजिक ।’’ अहिले पनि किसान आन्दोलनको सन्दर्भमा यो उनको निष्कर्श महत्वपूर्ण छ । धर्म र समाजिक चेतनका बारेमा स्वामी लेख्दछन् – 
प्रायेण देबमुनयः स्वबिमुक्ति कामाः
मौनं चरन्ति बिजने न परार्थनिष्ठाः
नैतान विहाय कृपणान् विमुमुक्षु एको
नात्य त्वदस्य शरणं भ्रमतोनुपश्ये !!”

 ‘‘अर्थात मुनिहरु स्वामी बनेर आफ्नै मुक्तिाक लागि एकान्तबास बस्दछन् तर म कदापि यसो गर्न सक्तिन । सबै दुःखी जनलाई छोडेर मलाई केवल आफ्नो निम्ति चाहिएको छैन । मत तिनै दुःखीहरुको साथमा रहनेछु, बाच्नेछु र मर्नेछु ।’’

        यसै क्रममा १९३६ मा त्याे काग्रेस कार्य समितिले एउटा प्रस्ताब पारित गरेर किसान —मजदुर बर्गको संघर्षमाथि रोक लगाइदियो । यस प्रस्तावका बिरुद्ध स्वामीजी र सुभाष चन्द्र बोसले पूरै देशभरी नै प्रतिबाद गरे र प्रतिबाद दिबस नै मनाए । कांग्रेसले दुबै नेताहरुका बिरुद्ध कारबाही गर्दै उनीहरुलाई काग्रेसबाट निष्काशन गरिदियो । १९४० मा त रामगढमा ‘अखिल भारतीय सम्झौता बिरोधी सम्मेलन’मा दुबै नेताले बृटिश सरकारका बिरुद्ध कडा नीति लिदै १९ मार्च १९४० का दिन ‘अग्रेज भारत छोड’ आन्दोनलको घोषणा नै गरेर आन्दोलन अझ चर्काए । १९ अप्रिल १९४० का दिन स्वामीजीलाई पक्राउ गरेर ३ बर्षको काराबासको सजाय सुनाइयो । त्यसका बिरुद्ध सुभाष चन्द्र बोसले ‘अल इण्डिया स्वामी सहजानन्द डे’ मनाएर भारत बन्दको आह्वान समेत गरे र भारत बन्द गराए ।

 आज भारतमा स्वाधीनताको ९ दकश जति पछि पनि कृषि बिकासको अनुहार अर्बौ अर्ब खर्च गरिसक्दा समेत लाखौं किसानहरु आत्महत्या गर्न र खेतीपाती छोड्न बाध्य छन् । गाउबाट पलायन हुने स्थिति निरन्तर जारी रहेको छ । किसालने भारतमा कृषि उपजको लाभकारी मूल्य लिन पनि सकिरहेका या पाइरहेका छैनन् । किसान अनिकाल र बर्बादीको खेती गरिरहेका छन् । यस क्रममा भूमण्डलीकरणको प्रभाव तथा खेतीको आधुनिकीकरणको नमामा बहुराष्ट्रिय कम्पनीहरुले बीऊमाथि कब्जा गरिसकेका छन् । भारतका हजारौ बर्षदेखिका टिकाऊ परम्परागत बीऊहरुलाई नष्ट गरिसकेको या गरिरहेको अबस्था छ । स्वाधीन भनिएको भारतमा आज पनि किसान बर्गको पीडाको कुनै औषधी छ भने स्वामी सहजानन्दको बिचार र संघर्षकै बाटोमा छ । यस परिप्रेक्षमा स्वामी सहजानन्दको जुन दूरदर्शी आह्वान थियो त्यो आह्वान जिउँदो रहेछ भन्ने पुनः पुनः प्रमाणित भइरहेको छ । प्रष्ट छ किसानको स्वाधिनता र समुन्नति बिना भारतको स्वतन्त्रताको सार्थकता हुन नसक्ने रहेछ भन्ने यथार्थ छर्लंग भइरहेकाे छ । नेपालमा पनि कमरेड पुष्पलाल ‘किसानका समस्या हल नभै नेपालका राष्ट्रिय समस्या पनि हल हुँदैनन्’ भन्ने गर्दथे । देशकाे बर्तमान समग्र अस्थाले याे कुरा निरन्तर प्रष्ट पारिरहेकाे छ ।