आइतबार, आश्विन १८ गते २०८३

सन् २०२५ मा विश्व अर्थतन्त्र वृद्धि २.८ प्रतिशतमा सिमित हुने


बैशाख १५, २०८२ सोमबार
सन् २०२५ मा विश्व अर्थतन्त्र वृद्धि २.८ प्रतिशतमा सिमित हुने


अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा अप्रिल २०२५ मा प्रकाशित  वल्ड इकोनोमिक आउटलुक अनुसार विश्व अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।  सन् २०२४ मा  विश्व अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंककी  का.मु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले बैंकको ७० औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विकसित देशहरूको अर्थतन्त्र सन् २०२४ मा १.८ प्रतिशतले वृद्धि भएकोमा सन् २०२५ मा १.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण रहेको बताइन् ।

यसैगरी, २०२४ मा ४.३ प्रतिशतले वृद्धि भएको उदीयमान तथा विकासोन्मुख देशहरूको अर्थतन्त्र सन् २०२५ मा ३.७ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । सन् २०२५ मा छिमेकी मुलुकहरू भारतको अर्थतन्त्र ६.२ प्रतिशत र चीनको अर्थतन्त्र ४.० प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ ।  भन्सारदर वृद्धिमा भएको प्रतिस्पर्धाका कारण विश्व व्यापारको विस्तारमा कमी आउने देखिएको छ । सन् २०२४ मा विश्व व्यापार (वस्तु तथा सेवा) ३.८ प्रतिशतले वृद्धि भएकोमा सन् २०२५ र सन् २०२६ मा क्रमशः १.७ प्रतिशत र २.५ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण कोषले गरेको छ ।  

अन्तर्राष्ट्रिय मुदा कोषका अनुसार सन् २०२४ मा विश्वको मुद्रास्फीति ५.७ प्रतिशत रहेकोमा सन् २०२५ मा ४.३ प्रतिशत रहने प्रक्षेपण छ । विकसित अर्थतन्त्रको मुद्रास्फीति सन् २०२४ मा २.६ प्रतिशत रहेकोमा सन् २०२५ मा २.५ प्रतिशत रहने प्रक्षेपण छ । यसैगरी, सन् २०२४ मा ७.७ प्रतिशत रहेको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको औसत मुद्रास्फीति सन् २०२५ मा ५.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ    ।