बुधबार, भाद्र ३ गते २०८३

चामल उत्पादन पछि नवजीवन सहकारीले तोरीको तेल र मुसुरोको दाल उत्पादन गर्ने


बैशाख १४, २०८२ आइतबार
चामल उत्पादन पछि नवजीवन सहकारीले तोरीको तेल र मुसुरोको दाल उत्पादन गर्ने


कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाले उत्पादन गरेको चामल अब काठमाडौंमा समेत खरिद गर्न पाइने भएको छ । संस्थाले आफ्नै ब्राण्डमा चामल उत्पादन गरी विक्री गर्न सुरु गरेको हो । संस्थाका अध्यक्ष  देवबहादुर बमले सहकारीलाई उत्पादनमा जोड्नुपर्छ भनेर आफुहरु लागि परेको बताए । 

दुई वर्ष अघिदेखि किसानबाट धान संकलन गरी अहिले नवजीवन ब्रान्डको चामल बजारमा ल्याएको उनले जानकारी दिए । संस्थाले १६ हजार क्विन्टल धान संकलन गरी आफ्नै  मिलबाट चामल उत्पादन गरी बजारमा ल्याएको उनको भनाई छ । बर्दिया र कैलालीका किसानबाट धान संकलन गरी संस्थाले नवजीवन ब्रान्डको चामल उत्पादन गरेको र यसमा कुनै पनि मिसावट नभएको उनले जनाए । ढिकिमा कुटेको जस्तै देखिने र चामलमा कुनै किसिमको केमिकलको प्रयोग नगरेको उनले प्रष्ट पारे । धनगढीमा १९ दिनमा १९ सय बोरा चामल बिक्री गरेको उनको भनाई छ ।  

नेपालमा ठुला ठुला ब्यापारीले यो काम गरेको भन्दै उनले उत्पादन र बजारीकरणमा असफल भइएला कि भन्ने डर लागेको भए पनि सञ्चालक समिति र कर्मचारीको अथक मेहनतले सफलता प्राप्त गरेको बताए। संस्थाले तीन महिना अघिबाट मोटो र मसिनो गरी २ प्रकारका चामल उत्पादन गरी विक्री गर्न शुरू गरेको हो । 

नवजीवनले उत्पादन गरेको चामललाई ब्रान्ड बनाएरै छाड्ने भन्दै उनले भारतको अमुल, बेलायतको मेन्चेष्टर र बंगलादेशको फिरोदाको जस्तै ब्राण्ड बनाउने लक्ष्य रहेकाे जनाए । मुलुकमा भएका सहकारी उत्पादन जान आँट नगरेको भएपनि नवजीवनले भने डेढ विगाह जमिन खरिद गरी आफ्नै भवनबाट उत्पादन र प्रशोधनको काम थालेको अध्यक्ष बमले जनाए । थप डेढ विगाह जमिन खरिद गरी नवजीवन ग्रामको रुपमा विकास गर्ने र देशभरका सहकारीहरुले अवलोकन गर्ने थलोको रुपमा विकास गर्ने उनले बताए ।

संस्थाको चामल मिल स्थापना गरेपछि देशका विभिन्न जिल्लाका  १७ वटा सहकारी संस्थाले अवलोकन गरिसकेका छन् । उद्याेग मन्त्रालयले प्रत्येक बर्ष तोरीको तेलको लागि १५ लाख अनुदान दिने घोषणा गरेको सो अवसरमा उनले जानकारी दिए । ८५ लाख रूपैया संस्थाले र १५ लाख सरकारको अनुदान गरी  १ करोडको तोरी खरिद गरी आफ्ना सदस्यहरुलाई ६ महिनाभित्र सुपथ मूल्यमा तोरीको तेल उपलब्ध गराउने  उनको भनाई छ।

संस्थाले मुसुरोको दाल समेत उत्पादन गरी विक्री गर्ने भएको छ । यसका लागि सरकारले ४० लाख अनुदान दिइसकेको र बाँके, बर्दिया, कैलाली र कन्चरपुरमा उत्पादन भएको दालको बजारीकरण गर्ने भएको छ । त्यसपछि संस्थाले पिठो समेत उत्पादन गर्ने तयारी गरेको  छ भने  निकट भविष्यमा पिउने पानी समेत बजारमा ल्याउने भएको छ  । आइएल्ओले निशुःल्क फिल्टर दिने भएकाले बजारमा चलेको मूल्य भन्दा कम मूल्यमा पानी उपलब्ध गराउने भएको छ । बजारमा १ सय रुपैयाँ पर्ने मिनरल वाटर नवजीवनले २५ रुपैयाँमा दिने उनको भनाई छ ।  

३० रुपैयाँ बोटलको पानी १५ रुपैयाँमा विक्री गर्ने गरी संस्थाले योजना अगाडि बढाएको छ । नवजीवनका शेयर लिएका र काठमाडौंलाई कर्मथलो बनाएर बनाएका सदस्यहरुलाई लक्षित गरी संस्थाले काठमाडौंमा चमाल विक्री केन्द्र सञ्चालन गर्नुका साथै चाँडै नै सेवा केन्द्र समेत विस्तार गर्ने जनाएको छ ।  संस्थामा १ अर्ब ३० करोड अर्थात ३० प्रतिशत माथि  तरलता रहेको भन्दै त्यो पूँजीलाई कहाँ लगानी गर्ने  भनेर समस्या रहेको उनले सुनाए । संस्थाको पूँजीलाई बालुवामा नभई विरुवामा पानी हाल्ने भन्दै अध्यक्ष बमले सुलभ ब्याजदरमा सदस्यहरुलाई ऋण लगानी गर्ने जानकारी दिए ।

अहिले पनि संस्थाले ९ प्रतिशत ब्याजदरमा सदस्यहरुलाई ऋण लगानी गर्ने गरेको र बैंक तथा वित्तीय संस्थाको सरह नै ब्याजदर भएको उनले बताए  ।  यस आर्थिक बर्षभित्रमा ४० हजार सदस्य पु¥याउने संस्थाको लक्ष्य रहेको भन्दै उनले ५ हजारदेखि ३५ लाखसम्म शेयर खरिद गरेका सदस्य संस्थामा रहेको बताए । संस्थामा ३१ करोड माथि शेयर पूँजी पुगेको छ । संस्थाको जगेडा कोष ६० करोड माथि रकम रहेको छ  । दश वटा सेवा केन्द्र मार्फत सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाकोे मूख्य कार्यालय सहित ६ वटा सेवा केन्द्रको आफ्नै भवन रहेको छ । बाँकी सेवा केन्द्रको पनि आफ्नै भवन निमार्ण गर्नको लागि जग्गा खरिद भइसकेको उनको भनाई छ ।

उनले संस्थाले वित्तीय पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेको अगाडि बढेको जानकारी दिइँदै गएको बर्ष १० जना कर्मचारीलाई कारवाही गरी १ अर्ब ५५ लाख असुली गरेको बताए ।   वित्तीय अपचलन हुन नदिने उनले प्रतिवद्धता जनाए । संस्थाले काठमाडौंमा सेवा केन्द्र खोल्न अनुमति पाएको र सेवा केन्द्र सञ्चालन गरी गरी सदस्यलाई वित्तीय तथा गैर वित्तीय सेवाका साथै  उत्पािदत चामललाई समेत  बजारीकरण गर्ने उनको भनाई छ । २०४८ सालमा १४ जना सदस्यबाट सुरु भएको संस्थामा हालसम्म ३६ हजार सदस्य पुगेको उनले बताए । आफु ३ बर्ष अगाडि संस्थाको अध्यक्ष निर्वाचित भएको भन्दै उनले ३ अर्बको कारोबारलाई वृद्धि गरी ७ अर्ब पु¥याउन सफल भएको जानकारी दिए ।   

nava jeevan s.jpg

संस्थाले शनिबार काठमाण्डौंमा बसोबास गर्ने सदस्यहरूलाइ लक्षित गरी एक अन्तरक्रिया कार्यक्रम गर्नुका साथै उत्पादित चामलको प्रदर्शनी समेत गरेको थियो ।