बागमती प्रदेश प्रमुख दीपक प्रकाश देवकोटाले सहकारी संस्था आम जनताको सुखदुःखको साथी भएको बताएका छन् । कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाले काठमाडौंमा आयोजना गरेको ‘सहकारीको मर्म र चुनौती विषयक विचार गोष्ठी तथा अन्तरक्रिया’कार्यक्रममा बोल्दै उनले व्यक्तिगत र पारिवारिक ढङ्गले सञ्चालन गरिएका र केही बदमास नियतकाले नेतृत्व गरेका सहकारीले यो अभियानमा हिलो छ्याप्न खोजेको बताए । उनले ती सिमित उदाहरण बाँकी सहकारीको लागि सिकाइ हुनुपर्नेमा जोड दिए । नकारात्मकताको बिउ रोपेर सकारात्मकता उम्रन सक्दैन भन्दै उनले त्यसैले केही छिटपुट बदनियतलाई समग्र सहकारी जगतको बदनामीमा जोड्नु घोर अन्याय हुने जनाए ।
उनले भने ‘सुर्केथैली, बाकस अनि पटुकीमा पोको पारेका निम्न आय समूहका पैसा जनताको बैंक सहकारीले सहकार्यमा परिचालन गरेको छ । त्यत्तिकै निश्क्रिय रहेको पैसा अण्डा दिने कुखुरा भएको छ । यो खुशीको कुरा हो । सहकारीले वित्तीय साक्षरतामा अझै जोड दिएर आम समुदायलाई सहकारीमा जोड्नु पर्दछ ।’प्रदेश प्रमुख देवकोटाले थपे‘सबै कुराको बारेमा पढाउछौं तर पैसाको बारेमा केही सिकाउन्नौं । चाहिने पैसा सबैतिर तर त्यसैको बारेमा पढाई छैन । विद्यालय, विश्वविद्यालयका पाठ्यक्रममा वित्त सम्वन्धि विषयवस्तु अनिवार्य समावेश गरिनुपर्दछ । आर्थिक समृद्धि सकारात्मक सोंचाईले मात्र आउँदैन, सकारात्मक कार्यले आउँछ ।’
सहकारीमार्फत देश समृद्धिको मार्गमा बढ्नेमा कुनै दुईमत नभएको उनको भनाई छ । नेपालको संविधानले सरकारी, सहकारी र नीजि क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा लिएको र सहकारी क्षेत्रको बिस्तार र प्रर्वद्धनमा जोड दिएको उनको भनार्ई छ । सहकारी क्षेत्रको चुनौती र कमीकमजोरीलाई चिर्दै संविधान र कानुन उपयोगसहित आम जनताको जीवनस्तर उकास्ने अभियानको सारथी बन्न लाग्नुपर्नेमा उनको जोड छ । मुलकमा रहेका सहकारी मध्येकै नवजीवन एक अग्रणी र उत्कृष्ट सहकारीको रुपमा उभिन सकेकोमा उनले गर्व गरे ।
संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढेका कारण सहकारी क्षेत्रमा समस्या आउँदा समेत बलियो संस्थाको रुपमा स्थापित भएको उनको भनाई छ । सदस्यलाई वित्तीय तथा गैर वित्तीय सेवाका साथै उनीहरुको भान्साका लागि आवश्यक पर्ने दाल, चामल र तेल उत्पादन गरी सरल मूल्यमा उपलब्ध गराउनु संस्थाको उपलब्धी भएको उनले जनाए । संस्थाले सुदूरपश्चितम र लुम्बिनी प्रदेशका हजारौं जनताको आर्थिक तथा सामाजिक रुपान्तरणमा उल्लेख भूमिका खेलेको उनले जनाए । सहकारी मार्फत सदस्यहरुको आयआर्जनमा वृद्धि भई आर्थिक अवस्थामा समेत सुधारको आएको उनको भनाई छ ।
नेपालपत्र संवाददाता