मन्थली नगरपालिका–११, गजपानीका फस्टबहादुर श्रेष्ठको घरमा हिजो राति करिब ९ बजे विद्युत सर्ट भएर आगलागी हुँदा ठूलो क्षति पुगेको छ। पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले तत्काल राहत प्रदान गरेको छ।
रेडक्रस जिल्ला शाखाका कार्यसमिति सदस्य रमेश उदाशको नेतृत्वमा पुगेको टोलीले मन्थली नपा ११ का वडा अध्यक्ष भिमबहादुर थापाको उपस्तिथिमा पीडितलाई त्रिपाल १ थान, कम्बल २ थान, म्याट्रेस २ थान, भाँडा सेट १ थान र डोरी १ मुठा हस्तान्तरण गरेको हो। राहत सामग्री हस्तान्तरण कार्यक्रममा स्थानीय बासिन्दा तथा समाजसेवीहरू समेत सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै रेडक्रसका प्रतिनिधिहरूले विपद् र आपत्कालिन अवस्थामा रेडक्रस सधैं साथमा रहेको बताउँदै पीडितलाई थप आवश्यक सहयोगका लागि संस्था सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गरेका थिए। पीडित फस्टबहादुर श्रेष्ठले यस्तो कठिन परिस्थितिमा सहयोग गरेकामा रेडक्रस र सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि लगायतका क्षेत्रमा निरन्तर सेवा दिँदै आइरहेको छ। पीडितलाई तत्काल राहत पुर्याएर मानवीय सेवा प्रदान गर्नु रेडक्रसको प्रमुख लक्ष्य हो भन्ने स्पष्ट सन्देश यस कार्यले पुनः उजागर गरेको छ।
नेपालपत्र संवाददाता