काभ्रे । बनेपा नगरपालिकाले सहकारीहरुका लागि ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा ल्याएको छ। सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले को शासकीय, वित्तीय तथा अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न सकिने यो प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु गरिएको जनाइएको छ ।
यसअघि अफलाइन प्रयोग हुँदै आएको प्रणालीलाई डिजिटलरुपमा रूपान्तरण गर्दै विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाबाट सेक्योस अनलाइनको औपचारिक शुभारम्भ गरिएको हो। बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले एक कार्यक्रमबीच उक्त प्रणालीको उद्घाटन गर्दै यसको औजार विन्धबासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।
नगर प्रमुख शाक्यले बनेपा नगरपालिकाको कार्यक्षेत्रभित्र विगतमा दर्जनौं सहकारीहरू वेपत्ता भएको, कतिपय झोलामै सीमित रहेको, सूचना प्रणाली कमजोर भएकाले पारदर्शिता नदेखिएको, र पदाधिकारीहरूको लापरवाहीका कारण बचतकर्ताहरूको रकम जोखिममा परेको अवस्थालाई न्यूनिकरण गर्न नयाँ प्रविधिको प्रयोग गरिएको बताए।
उनले विन्धबासिनी साकोसलाई देशकै नमुना संस्था भएको उल्लेख गर्दै, यो प्रणाली लागू गर्ने पहिलो सहकारी बन्न सफल भएकोमा धन्यवादसमेत दिए। साथै, बनेपा सहकारी इतिहासको सुरुआती केन्द्र भएकाले पनि यो प्रणाली यहाँबाट सुरु गर्नु उपयुक्त रहेको बताए।
विन्धबासिनी साकोसको ४५औं सञ्चालक समिति बैठक सोही प्रणालीमार्फत सम्पन्न भएको थियो। अध्यक्ष श्रेष्ठले संस्था नीति, विधि र प्रक्रियाअनुसार सञ्चालन भएकाले विन्धबासिनी साकोस देशभर उदाहरणीय सहकारी बनेको बताए।
बनेपा नगरपालिका सामाजिक तथा सहकारी शाखाका अधिकृत दिनेशकुमार पोखरेलका अनुसार, नगरभित्र सञ्चालनमा रहेका मुख्य कार्यालय, शाखा वा सेवा केन्द्र रहेका सबै सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा उक्त अनलाइन प्रणालीमा आबद्ध गरिएको छ। हालसम्म १०० भन्दा बढी सहकारी संस्थाहरू प्रणालीमा आवद्ध भइसकेका छन् भने बाँकी संस्थाहरूलाई पनि जोड्ने प्रक्रिया जारी रहेको पोखरेलले जानकारी दिए।
बनेपा नगरपालिकाले प्रस्तुत प्रणालीलाई सहकारी संस्थाको स्वःमूल्यांकन गर्ने आधुनिक प्रविधिका रूपमा अगाडि सारेको छ। प्रणालीले २७ वटा सूचकका आधारमा मूल्यांकन गर्नेछ, जसबाट सहकारीहरूको वास्तविक अवस्था थाहा पाउन सकिने नगरपालिका पक्षको भनाइ छ।
नेपालपत्र संवाददाता