बुधबार, भाद्र ३ गते २०८३

धनसंग्रहले राजा गरीबी ल्याउँछ, मन्त्री भ्रष्टाचार बढाउँछ, गुरुले शिक्षाको पतन गराउँछ


बैशाख ४, २०८२ बिहीबार
धनसंग्रहले राजा गरीबी ल्याउँछ, मन्त्री भ्रष्टाचार बढाउँछ, गुरुले शिक्षाको पतन गराउँछ
राजाले धनसंग्रह गरेमा जनता गरिब हुन्छन् र राष्ट्र गरिब हुन्छ; मन्त्रीले धनसंग्रह गरेमा भ्रष्टाचार र अराजकता फैलिन्छ । गुरुले धनसंग्रह गरेमा शिक्षाको मूल्य–मान्यतामा ह्रास आउँछ र मूर्खहरूको साम्राज्य फैलिन्छ.....: रामायणमा महर्षि वशिष्ठ
 
रामायण मर्यादा र आदर्शहरूको पौराणिक ग्रन्थ हो । महर्षि वशिष्ठ राजा दशरथ र रामका गुरू हुन् । उनले चारैजना दशरथपुत्र– राम, भरत, लक्ष्मण र शत्रुघ्नलाई सर्वविद्या पारंगत गरेपछि दशरथले दिएको गुरूदक्षिणा लिन ईन्कार गर्दै उपरोक्त वाणी दशरथ समक्ष प्रकट गरेको वर्णित छ ।
 
पुराणहरूमा युगानुकूल वशिष्ठ नामका अनेक ऋषिहरूको भूमिका देखिन्छ । एक वशिष्ठ ब्रह्माका पुत्र भए, दोस्रा वशिष्ठ इक्क्षवाकुको जीवनकालमा, तेस्रा वशिष्ठ राजा हरिशचंद्रको जीवनकालमा, चौथा राजा दिलीपका जीवनकालमा, पांचौँ राजा दशरथको पाला (त्रेतायुग) मा र छैटौँ महाभारत काल (द्वापरयुग) मा थिए ।
 
हामी नेपालीको पुरातन चेतना रामायण र महाभारतका सन्देशका आधारमा भएको हो । तर दुई युगका यी दुई धर्मग्रन्थहरूका आधारभूत मान्यतामा पूरा विपरीत भाव छ । रामायणको मान्यता छ, राज्यका निम्ति भाईहरू आपसमा लड्दै नलड्ने । महाभारतको मान्यता छ, राज्यका निम्ति भाईहरू आपसमा नलडी नछोड्ने । रामायणमा राम जितेका राज्य भाई शत्रुघ्न, रावणका भाई विभिषण, सुग्रीवलाई बाँड्छन । तर महाभारतमा पाण्डवहरू पाँच जनालाई पाँच गाउँ माग्दा पनि दुर्योधन वचन लगाउँछन् ।
 
यस्ता धेरै विपरीतार्थक मान्यता दुई ग्रन्थमा पाईन्छ । यी धर्मग्रन्थलाई समालोचनात्मक दृष्टिले पढ्यो भने यसबाट उपयोगी रस पनि पाईन्छ । अन्धभक्तिले पढ्यो भने दिग्भ्रमित भईन्छ ।