राजाले धनसंग्रह गरेमा जनता गरिब हुन्छन् र राष्ट्र गरिब हुन्छ; मन्त्रीले धनसंग्रह गरेमा भ्रष्टाचार र अराजकता फैलिन्छ । गुरुले धनसंग्रह गरेमा शिक्षाको मूल्य–मान्यतामा ह्रास आउँछ र मूर्खहरूको साम्राज्य फैलिन्छ.....: रामायणमा महर्षि वशिष्ठ
रामायण मर्यादा र आदर्शहरूको पौराणिक ग्रन्थ हो । महर्षि वशिष्ठ राजा दशरथ र रामका गुरू हुन् । उनले चारैजना दशरथपुत्र– राम, भरत, लक्ष्मण र शत्रुघ्नलाई सर्वविद्या पारंगत गरेपछि दशरथले दिएको गुरूदक्षिणा लिन ईन्कार गर्दै उपरोक्त वाणी दशरथ समक्ष प्रकट गरेको वर्णित छ ।
पुराणहरूमा युगानुकूल वशिष्ठ नामका अनेक ऋषिहरूको भूमिका देखिन्छ । एक वशिष्ठ ब्रह्माका पुत्र भए, दोस्रा वशिष्ठ इक्क्षवाकुको जीवनकालमा, तेस्रा वशिष्ठ राजा हरिशचंद्रको जीवनकालमा, चौथा राजा दिलीपका जीवनकालमा, पांचौँ राजा दशरथको पाला (त्रेतायुग) मा र छैटौँ महाभारत काल (द्वापरयुग) मा थिए ।
हामी नेपालीको पुरातन चेतना रामायण र महाभारतका सन्देशका आधारमा भएको हो । तर दुई युगका यी दुई धर्मग्रन्थहरूका आधारभूत मान्यतामा पूरा विपरीत भाव छ । रामायणको मान्यता छ, राज्यका निम्ति भाईहरू आपसमा लड्दै नलड्ने । महाभारतको मान्यता छ, राज्यका निम्ति भाईहरू आपसमा नलडी नछोड्ने । रामायणमा राम जितेका राज्य भाई शत्रुघ्न, रावणका भाई विभिषण, सुग्रीवलाई बाँड्छन । तर महाभारतमा पाण्डवहरू पाँच जनालाई पाँच गाउँ माग्दा पनि दुर्योधन वचन लगाउँछन् ।
यस्ता धेरै विपरीतार्थक मान्यता दुई ग्रन्थमा पाईन्छ । यी धर्मग्रन्थलाई समालोचनात्मक दृष्टिले पढ्यो भने यसबाट उपयोगी रस पनि पाईन्छ । अन्धभक्तिले पढ्यो भने दिग्भ्रमित भईन्छ ।
चन्द्रमणि गाैतम