शुक्रबार, कार्तिक ७ गते २०८३

‘ऐननियम पालनामा चुक्दा सहकारीमा समस्या आयो’


चैत्र २७, २०८१ बुधबार
‘ऐननियम पालनामा चुक्दा सहकारीमा समस्या आयो’


राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले ऐन नियमको पूर्ण पालना नगर्दा सहकारी क्षेत्रमा समस्या आएको बताएकी छिन् । राजधानीमा बुधबार भएको एक कार्यक्रममा बोल्दै उनले सहकारीका सात सिद्धान्त र १० वटा मूल्य, मान्यतालाई पालना गरेर अगाडि बढेका सहकारी संस्थामा समस्या नआएको उल्लेख गरिन् । ‘सरकारले जारी गरेको ऐन कनुनलाई कि त मान्दिन भन्नु पर्यो कि त पालना गरेर जानुपर्यो’, उनले भनिन्, ‘सहकारीको ऐन नियमका साथै मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ ।’ 

सहकारी ऐन २०७४ मा भएका व्यवस्था कार्यान्वयन गर्न नसक्दा पनि यो क्षेत्रमा समस्या बढेको उनले जनाइन् । कर्जा कूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष जस्ता व्यवस्था तत्काल लागु गनुपर्ने उनको माग छ । सहकारीमा सुशासन कायम गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले संरचनागत व्यवस्था गर्नुपर्ने उनको माग छ ।  सहकारी संस्था र संघको भूमिका के हो भन्नेमा क्लियर हुन आवश्यक रहेको भन्दै उनले संघ र संस्थाले एउटै काम गर्ने होइन होला नि ! भनेर प्रश्न गरिन् । जिल्ला, प्रदेश, केन्द्रीय संघ र सहकारी महासंघको काम के हुने भनेर प्रष्ट गर्ने बेला आएको अध्यक्ष मल्लले बताइन् । कर्तव्य के हो भन्ने  बुझिएन भने संघहरुको भविष्य अन्यौल हुने उनले प्रष्ट पारिन् । 

सहकारीमा शेयर खरिद नगरीकन सदस्य नभइने र सदस्य नबनी कारोबार गर्न नपाइने भए निर्देशन र मापदण्डमा त्यो विषय फरक ढंगले आएकाले त्यसलाई संशोधन गर्न उनले ध्यानाकर्षण गराइन् । बचत तथा सहकारी भनेर साइनबोर्ड राखेका मात्रै प्राधिकरणमा रजिष्ट्रशेन हुुनु पर्ने हो कि बचतऋणको कारोबार गर्ने सबै प्रकृतिका संस्था भन्नेमा अन्यौल रहेकाले त्यस विषयमा प्रष्ट पार्न उनले आग्रह गरिन् ।