शुक्रबार, कार्तिक ७ गते २०८३

राज्यले जिम्मेवारी दिए सबै बचतऋण सहकारीको जिम्मा नेफ्स्कूनले लिन्छः अध्यक्ष ढकाल


चैत्र २७, २०८१ बुधबार
राज्यले जिम्मेवारी दिए सबै बचतऋण सहकारीको जिम्मा नेफ्स्कूनले लिन्छः अध्यक्ष ढकाल

 

नेपाल बचत तथा केन्द्रीय सहकारी संघ ( नेफ्स्कून ) अध्यक्ष चन्द्र ढकालले सरकारले पूर्ण जिम्मेवारी दिए मुलुकमा रहेका सबै बचत तथा ऋण सहकारी संस्थाको जिम्मा लिन नेफ्स्कून तयार रहेको बताएका छन् । उनले आगामी ३ वर्ष भित्रमा ९० प्रतिशत बचत ऋण सहकारीको पूर्ण जिम्मेवारी लिने र त्यसको रिपोर्ट सरकारलाई पेश गर्ने समेत बताए । 

एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नेफ्स्कूनले एमआईएस सिस्टममार्फत संघमा आवद्ध संस्थाहरुको लाइभ मनिटरिङ गर्दै आएको र संस्थाहरुको गुणस्तर सुनिश्चितताका लागि स्तरिकरण कार्यक्रम समेत सञ्चालन गरेको बताए । अध्यक्ष ढकालले राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डले सहकारी ऐन २०७४ लाई क्रस गरेको प्रतिक्रिया जनाए ।  । सहकारीमा शेयरसदस्य नभए त्यो सहकारी नबन्ने एनजिओ मात्र हुने प्रष्ट पारे । सहकारी संस्था र संघको परिभाषा एउटै हुँदा यसले अन्यौलता ल्याएको भन्दै उनले त्यसलाई थप परिभाषित गरेर जानुपर्ने उल्लेख गरे । 

सहकारी ऐन २०४८, २०७४ र त्यसलाई प्रतिस्थापन गर्दै २०८१ आएको र यसको मुख्य ध्येय सहकारी नियमन प्राधिरकण बनाउने रहेको उनले बताए । प्राधिकरणले आफ्नो स्वरुप धारण गरिरहँदा प्राधिकरणमा बचत तथा ऋण सहकारी नयाँ दर्ता हो कि रि–रजिष्ट्रेशन हो भन्नेमा प्रष्ट्याउन आवश्यक रहेको उनले जनाए । प्राधिकरणमा रजिष्ट्रेशन भएका संस्थाहरुलाई मात्र निर्देशन तथा मापदण्ड लागु हुनुपर्ने उनको भनाई छ । 

सहकारी ऐन २०७४ को कार्यान्वयनको लागि आफुले पटकपटक आवाज उठाउँदै आएको भएपनि अमूक ठाउँबाट खण्डन भएको उल्लेख गरे । एउटै व्यक्ति धेरै वटा संघ संस्थामा बस्दा के आपत्ति हुन्छ भनेर अभियानभित्र नै कतिपयले कटाक्ष गरेको उनले जनाए । 

निर्देशनमा प्रारम्भिक सहकारी संस्थाले संघहरुको शेयर र डिबेन्चर खरिद गर्न नपाउने र आवश्यक परे अन्य खालको व्यस्थापन गर्न सक्ने कुरा आएको प्रति संघको ध्यानकर्षण भएको उनले जनाए ।