शुक्रबार, कार्तिक ७ गते २०८३

प्रगतिशील समीक्षक र पाठकहरूले मलाई जनविरोधी र प्रगतिवादी मात्र मान्छन्; यो वैज्ञानिक दृष्टिकोण होइन


चैत्र २७, २०८१ बुधबार
प्रगतिशील समीक्षक र पाठकहरूले मलाई जनविरोधी र प्रगतिवादी मात्र मान्छन्; यो वैज्ञानिक दृष्टिकोण होइन


मदन पुरस्कार पाउने पहिलो महिला साहित्यकार ‘पारिजात’ (वि.सं.१९९४–२०५०) को वास्तबिक नाम विष्णुकुमारी वाइबा हो । आजीवन अविवाहित यिनले शिरिषको फूल (मदन पुरस्कार), महत्ताहिन, परिभाषित आँखाहरू, बैँशको मान्छे, तोरीबारी, बाटा र सपनाहरू, अन्तर्मुखी, उसले रोजेको बाटो, पर्खालभित्र पर्खालबाहिर, अनिदो पहाडसँगै र बोनी नामका १० उपन्यास, मैले नजन्माएको छोरो नामक छोटो कथा, आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु, बधशाला जाँदा आउँदा गरी चारवटा कथा संग्रह, आकांक्षा, पारिजातका कविता र बैँशालु वर्तमान गरी तीन कविता संग्रह र धूपी, सल्ला र लालीगुराँसको फेदमा, एउटा चित्रमय सुरुवात र अध्ययन र संघर्ष गरी तीन संस्मरणात्मक निवन्ध आदि जम्मा २० वटा कृतिहरू लेखेकी छन् । नेपाली साहित्यमा यति उच्चकोटिकी महिला साहित्यकार अरु छैनन् भन्नु अत्युक्ति नहोला ।


वामपन्थी विचारधाराकी पारिजात २०२० को दशकको उत्तरार्धतिर चर्चित ‘राल्फा’ नामक साहित्य र संगीतद्वारा जनचेतना जगाउने विद्रोही टोलीको एक हिस्सा बनिन् । साथै प्रगतिशील लेखक संघकी एक संस्थापक, अखिल नेपाल महिला मञ्च, बन्दी सहायता नियोग, नेपाल मानव अधिकार संगठनमा क्रियाशील भएर पनि यिनी सक्रिय रहिन् ।

दार्जिलिङ्गको सम्पन्न परिवारमा जन्मेकी पारिजातलाई सानै उमेरमा आमा अमृत मोक्तानको निधनले टुहुरी भएपछि मनोविज्ञानविद् पिता डा. के.एस्. मोक्तानले हुर्काएका हुन् । स्कूलको अध्ययन दार्जिलिङ्गमै पूरा गरेर उनी १७ वर्षको उमेरमा २०११ सालमा नेपाल आइन् । उनका बहिनी–ज्वाईँ कम्युनिष्ट नेता निर्मल लामा, नेपाली कांग्रेसकै झण्डा बोकेर २००७ सालको क्रान्तिमा सक्रिय सरिक र २००८ सालमा बडाहाकिम भएका थिए ।

बैनी-ज्वाईं नेता निर्मल लामाका साथ नयाँबजारमा बसेकी पारिजातसँग मेरो धेरै पटक भेट भयो, जुन बेला म त्यही बाटो पैदल हिंड्ने गर्थें । निर्मल लामाजीसँग सोही घरमा मैले गरेका कतिपय अन्तरवार्ताहरूको प्रत्यक्ष स्रोता उनी हुनेगर्थिन् ।पद्मकन्या कलेजबाट बीए उत्तीर्ण गरेकी उनी २६ वर्षकै उमेरमा पक्षाघातले गर्दा कुँजिइन् । भारतको पश्चिम बंगालस्थित सिलिगुढी र नेपालका विभिन्न स्थानमा उनको शालिक खडा गरिएको छ भने सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ ।

ब्यानरमा प्रस्तुत भनाई ‘विष्णु कुमारी वाइबा कसरी पारिजात बनिन् ?’ शीर्षकको अन्तर्वार्तामा पारिजातले प्रष्ट पारेकी हुन् । उनलाई ‘प्रगतिशील’ र ‘जनविरोधी’ रुपमा चित्रण गरिएको साँघुरो चित्रप्रति उनको असन्तुष्टि उक्त अन्तरवार्तामा प्रकट भएको छ । त्यसको अझ स्पष्ट रुप : “प्रगतिशील समीक्षक र पाठकहरूले मलाई मात्र दुई चिरा पारेर हेर्छन् । एक जनविरोधी र दुई प्रगतिवादी । यस्तो हेराई वैज्ञानिक हुँदैन । मेरो लेखन कसरी गतिवान भएर आएको छ, त्यसको मूल्यांकन नगरिदिएकोमा मलाई गुनासो छ” (पारिजातका संकलित रचनाहरू, ग्रन्थ ६, २०५४, पृ. २८५) ।