नेपाल राष्ट्र बैंकले ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गरेको छ । मापदण्डमा सहकारी संस्था संस्थाले आफ्नो कार्यक्षेत्र अनुसार प्रतिसदस्य बचत संकलनको सीमा निर्धारण गरेको छ । जस अनुसार एक जिल्ला कार्यक्षेत्र भएको संस्थाले प्रतिसदस्य १० लाख, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएकोले २५ लाख र एक भन्दा बढी प्रदेश कार्यक्षेत्र भए ५० लाखसम्म अधिकतम बचत संकलनको सीमा तोकिएको छ ।
संस्थाहरुले साधारण, नियमित र तीन वर्ष अवधिसम्मका आवधकि बचत योजना सञ्चालन गर्न सक्नेछन् । तर नियमित बचतको अंश कुल बचतको न्यूनतम २५ प्रतिशत कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ । सदस्यले १० लाख भन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रुपमा श्रोत खुलाउनुपर्नेछ ।
राष्ट्र बैंकले कुल बचत दायित्वको १५ प्रतिशत तरल सम्पत्ति कायम गर्नुपर्ने जनाएको छ । संस्थाको भल्टमा रहेको नगद मौज्दाज, सरकारी ऋणपत्रमा गरेको लगानी, बैंक तथा वित्तीय संस्थामा निक्षेप रहेको रकम, सहकारी बैंकमा रहेको रकम र मुद्दतीमा रहेको भए ९० प्रतिशत रकमलाई तरलतामा गणना गर्न सकिनेछ । तर मुद्दती निक्षेप धितो र सरकारी ऋणपत्रको धितोमा ऋण लिएको भए त्यसलाई भने कुल तरलता रकमबाट घटाउनुपर्नेछ । तरल सम्पत्तिको मासिक विवरण तयार गरेर सम्बन्धित नियमनकारी निकायमा पठाउनुपर्ने निर्देशनमा उल्लेख छ ।
नेपालपत्र संवाददाता