
इन्द्रनारायण सुबेदी
केही सूक्तिहरू
(अनुष्टुप् छन्द)
---------------------------------------------------------------
दुखेको दिलको पीडा चिरफार गरे पनि
हुन्न काँडा झिके जस्तो डहन्छ नमिठो बनी।१।
मुगा मोती जुहारात सुनचाँदीहरू पनि
ठुलो महत्त्व राख्दैनन् उदार दिलका मनि।२।
दृष्टिकोण ठुलो बन्छ दूरगामी विचारमा
कुवामा भ्यागुतो बस्छ ह्वेल बस्छ समुद्रमा।३।
स्वाभाविक हुने गर्छन् प्राणीमा सृष्टिका गुण
आफैँ जान्दछ मौरीले चाकामा मह लाउन।४।
आफैँ समयले आफ्नो व्यवस्था तय गर्दछ
पर्खिँदैन छुटे गाडी यात्री अन्योल पर्दछ।५।
गुण रूप भए राम्रो गुणको छ महत्त्व झन्
विशिष्ट गुणले गर्दा अष्टावक्र प्रसिद्ध छन् ।६।
लेखिँदैन कुनै भाग्य बन्छ यो मिहिनेतमा
नलाए धानको बाली के उब्जिन्छ र खेतमा।७।
भोक सङ्घर्ष हो यौटा जब आक्रान्त पार्दछ
बाघले घाँस खाँदैन मत्ता हात्ती पछार्दछ।८।
छोड्दैन दुष्टले आफ्नो सारा आदत खोल्दछ
थाहै दिँदैन सिस्नोले छोइएपछि पोल्दछ।९।
शक्तिशाली बने निम्झा शक्तिहीन रमाउँछन्
स्यालले बाघको छाला भेटे राज जमाउँछन्।१०।
उपलब्धि रहेसम्म प्राणी सम्बन्ध जोड्दछ
सुकेमा माउको फाँचो बाछाले पनि छोड्दछ।११।