शुक्रबार, कार्तिक ७ गते २०८३

सिको साकोस बन्यो लुम्बिनी प्रदेशको उत्कृष्ट संस्था


चैत्र २१, २०८१ बिहीबार
सिको साकोस बन्यो लुम्बिनी प्रदेशको उत्कृष्ट संस्था

सिको बचत तथा ऋण सहकारी संस्था लिले लुम्बिनी प्रदेश सरकारबाट उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गरेको छ । ६८औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सिको साकोस यस वर्षको ‘उत्कृष्ट सहकारी’ पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आबद्ध रहेको ठाकुरबाबार नगरपालिका १, भुरिगाउँ बर्दियामा सञ्चालनमा रहेको सिको साकोसको कार्यसम्पादन र स्थलगत मुल्यांकनका आधारमा विभिन्न सूचकहरुमा गरिएको परीक्षणबाट साकोस उत्कृष्ट भएको साकोसको प्रतिनिधित्व गर्दै नेफ्स्कूनको बरिष्ठ उपाध्यक्ष तथा साकोसका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिए । बचत तथा ऋणको माध्यमबाट वित्तीय सेवा प्रवाह गरी सहकारी व्यवसाय मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेख्य योगदान पुर्याए वापत प्रदेश सरकारको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्था मध्ये बचत तथा ऋणको सेवा तर्फबाट सिको साकोसलाई उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ । 

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले समाजिक सेवाको व्यवसाय मार्फत सदस्यहरुको आर्थिक, सामाजिक जीवनस्तर सुधारमा लागेको सहकारी क्षेत्रमा बाहिरबाट गलत र छद्मभेषी व्यक्तिहरु प्रवेश गरेर सहकारीको बदनाम गराउने र सहकारीको बचतको दुरुपयोग समेत गर्ने गरेको पाइएको बताए ।  कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारीलाई प्रदेश सरकारले कार्यसम्पादन मूल्यांकनले असल सहकारी र कमसल सहकारीको वर्गिकरण गर्न सकिने र कमसललाई सच्याउन अवसर मिल्ने बताए । 

साकोसका अध्यक्ष एवं नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले प्रदेश सरकारले सहकारीहरुको कार्यसम्पादन स्तरलाई मुख्य आधार बनाएर अनुगमन अगाडि बढाएको विषय प्रशंसायोग्य रहेको जनाए । नियतवश ऋण नतिरी भाखा नघाएर बस्ने सदस्यहरुलाई सरकार मातहत प्रदान गरिने सेवा सुविधामा कटौति गरेर ऋण असुली सहजताका लागि समन्वय गरिदिन समेत सरकारलाई उनले अनुरोध गरेका थिए । 

लुम्बिनी प्रदेश मातहत ८ सय ४८ सहकारी छन् । प्रदेशले सहकारीमा वित्तीय व्यवस्थापन, सदस्य केन्द्रीयता, सुशासन, कार्यसम्पादन स्तर, आन्तरिक व्यवसायिक प्रक्रिया, सिकाई र बृद्धि लगायत विविध ८० वटा सूचकका आधारमा बचत तथा ऋण सहकारीको स्थलगत अनुगमन शुरु गरेको छ । जस अन्तर्गत बचत तथा ऋण सहकारी मध्येबाट दुई सहकारी र अन्यबाट दुई सहकारी गरि ४ वटा सहकारीलाई पुरस्कृत गरेको हो ।