ललितपुर बचत संघले सिईओ वर्कसप आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारिदिनुहोस् न,
संघको आयोजनामा यही चैत्र २२ र २३ गते ‘सिईओ साकोस गोष्ठी २०२५’ गर्न गइरहेका छौं । सिईओ वर्कसपमा ६ वटा फरकफरक विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । अहिलेका समयसामयिक विषयमा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत हुने भएकाले यो वर्कसप असाध्यै महत्वपूर्ण हुनेछ । सरकारले ल्याएको सहकारी अध्यादेशमा नमिलेका कतिपय व्यवस्था प्रतिस्थापन विधेयकमार्फत परिमार्जन भइसकेको छ । यसले सहकारी क्षेत्रलाई पार्ने प्रभावका साथै व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्ने विधि र टेक्निकको बारेमा वर्कसपमा छलफल हुनेछ । सहकारी क्षेत्रमा मानव संसाधन व्यवस्थापन मुख्य चुनौतिका रुपमा रहेको छ । सहकारीमा सुनौलो भविष्य र सम्भावना देखेर लागेका कर्मचारीहरुमा अहिलेको परिस्थितिले वितृष्णा पैदा भएको छ । अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा रहेको सहकारी क्षेत्रमा समस्या आएकाले यो क्षेत्रलाई मात्र नभई समग्र अर्थतन्त्रलाई नै अप्ठ्यारोमा पारेको छ । यस्तो विषम परिस्थितिमा सहकारीलाई कसरी व्यवस्थित गरेर जान सकिन्छ भनेर सिईओ गोष्ठीमा छलफल गरिनेछ । वर्कसपमा सहकारी अध्यादेशले यो क्षेत्रको समस्या समाधानमा कसरी काम गर्न सक्छ, ऐनमा व्यवस्था भएका कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, कालो सूची लगायतका व्यवस्था कसरी कार्यान्वयनमा आउँछन् भन्ने विषयमा घनीभूत छलफल गरिनेछ । सिईओ वा व्यवस्थापकलाई यी कुराको बारेमा पूर्ण जानकारी नहुँदासम्म संस्था सञ्चालनमा असहज हुने भएकाले सबै कुराको बारेमा जानकारी दिनका लागि यो वर्कसप आयोजना गरेका हौं ।
त्यसका साथै मानव संसाधानको व्यवस्थापन, वित्तीय सहकारी संस्था सञ्चालनका टुल्स लगायतका थुप्रै विषयमा वर्कसपमा सिकाइ हुनेछ । हामीले यस अघि अध्यक्ष तथा कोषाध्यक्ष गोष्ठी सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । सहकारी क्षेत्रका करेन्ट इस्युहरुमा जानकारी दिने र सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने उदेश्यले सिईओ वर्कसप गर्न गइरहेका हौं । संस्थाहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सिईओहरुको भूमिका महत्वपूर्ण हुन्छ । अहिले जुनसुकै क्षेत्रमा मानव संशाधन व्यवस्थापन चुनौतिपूर्ण विषय रहेको छ । त्यसमा पनि सहकारी क्षेत्रको विद्यमान समस्यालाई उचित व्यवस्थापन गरेर अगाडि बढ्नुको विकल्प छैन । सहकारी क्षेत्रमा कार्यरत सिईओ वा व्यवस्थापन प्रमुखहरुमा जुन प्रकारको निराशा छाएको छ, उहाँहरुमा उत्प्रेरणा जगाएर सहकारी क्षेत्रमा नै सुन्दर भविष्य छ, सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणसँगै आफ्नो पनि व्यक्तित्व विकास गर्न सकिन्छ भनेर बैंकर मनोज ज्ञवालीले सहभागीहरुलाई सिकाउनु हुनेछ । बचत संघले आयोजना गर्ने यस्ता गोष्ठी तथा सेमिनारहरु देखाउनको लागि भन्दा पनि उपलब्धीमूलक भएको हामीले पाएका छौं । यसपटकको सिईओ वर्कसप पनि फलदायी हुनेछ ।
जिल्लामा रहेका बचत ऋण सहकारी संस्थाको व्यवस्थापनमा के कस्ता कमी कमजोरी तपाईले पाउनु भएको छ ?
ललितपुरमा रहेका सहकारी संस्थामा समस्या आउनुमा व्यवस्थापनको पनि कँहीकतै हात रहेको छ । सञ्चालक समितिले नीतिगत रुपमा गरेका कतिपय निर्णयले संस्थालाई हानि पुग्ने भएपनि व्यवस्थापनले जस्ताको तस्तै लागु गर्दा समस्या आएको देखिन्छ । संस्थामा दक्ष कर्मचारी हुनुभएन कि भन्ने हाम्रो ठम्याई हो । संस्थालाई अगाडि बढाउने र सही ढंगले व्यवस्थापन गर्ने कुरामा सिईओहरु कै भूमिका रहन्छ । संस्थाका सिईओ र उच्च व्यवस्थापनका कर्मचारीहरुले नबुझ्दासम्म सहकारी क्षेत्रका विद्यमान समस्याहरु समाधान गर्न सकिँदैन । वर्कसपमा दुई दिनसम्म छलफल गरे पश्चात हिजो देखिएका कमीकमजोरीलाई सुधार गर्दै आगामी दिनमा संस्थालाई सफल रुपमा सञ्चालन गर्न सक्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।
सहकारी क्षेत्रमा दक्ष कर्मचारी नपाउने र भएका कर्मचारी पनि टिकाई राख्न समस्या देखिन्छ नि ?
जुन दिनसम्म कर्मचारीमा सहकारी क्षेत्रमा उज्वल भविष्य छ भनेर सन्देश प्रवाह गर्न सक्दैनौं, त्यो दिनसम्म सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउन कठिन छ । हिजो सहकारीमा लागेकाहरुमा पनि किन लागिएछ भन्ने वितृष्णा पैदा भएको छ । सहकारी क्षेत्रमा लागेर हामीले करियर नै बिगारेछौं कि भन्ने भान कतिपयलाई परेको छ । हामीले सहकारी क्षेत्रमा मात्र समस्या आएको होइन भनेर बुझाउन जरुरी छ । सहकारी क्षेत्रमा रहेर काम गर्दा यहाँ समस्या देखिएको छ भने अरु क्षेत्रमा काम गर्ने साथीहरुलाई सोध्दा उस्तै खालका समस्या त्यहाँ पनि छन् । सहकारीमा आवद्ध भएर काम गर्दा भोलिका दिनमा भविष्य सुन्दर छ, हाम्रो पनि करियर बन्छ भनेर राष्ट्र बैंकका डा. रामशरण खरेलले सिकाउनुहुन्छ । नेफ्स्कूनको सिईओ डा. शिवजी सापकोटाले पनि वर्कसपमा कार्यपत्र प्रस्तुत गर्नुहुन्छ । सहकारी क्षेत्रमा समस्या मात्र छैन, यो क्षेत्रमा काम गर्ने मानव संशाधानको भविष्य पनि छ भनेर वर्कसपले प्रमाणित गर्नेछ ।
ललितपुर जिल्लामा ‘म्यानेजर्स क्लब’ गठन गर्ने कुरा पनि थियो नि, प्रक्रिया कहाँ पुग्यो ?
हामीले धेरै अगाडिदेखि ललितपुर जिल्लामा म्यानेजर्स क्लब गठन गर्ने योजना बनाएका थियौं । त्यसमार्फत् सहकारी क्षेत्रका समसामयिक विषयमा छलफल गरी अगाडि बढ्ने हाम्रो योजना छ । यही वर्कसपमा ललितपुर म्यानेजर्स क्लब गठन गर्ने तयारी हामीले गरेका छौं । क्लब गठनपछि राज्यलाई दिनुपर्ने नीतिगत सुधारका सुझावहरु, लबिङ तथा एड्भोकसीका कुराहरु पनि क्लब मार्फत नै अगाडि बढाउँछौं । सम्बन्धित निकायमा जाँदा व्यक्ति पिच्छेका सुझावहरु लिएर जाँदा त्यसको सुनुवाई हुने देखिएन । सहकारी अध्यादेशमा देशभरबाट एउटै सुझाव गयो र त्यसको सुनुवाई स्वरुप प्रतिस्थापन विधेयक आयो । क्लब गठन गरी सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्छ भनेर लागेका छौं । ललितपुर बचत संघले नै म्यानेजर्स क्लबको स्वामित्व लिएर अगाडि बढ्छ । क्लबलाई सक्रिय बनाएर सहकारी क्षेत्रका हरेक विषयमा छलफल गर्ने र निचोड निकाल्ने काम पनि गर्छौं । क्लब गठनको लागि कार्यविधि र मापदण्ड निर्माण भइराखेको छ । जुन कुराले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सकिन्छ, त्यसतर्फ ध्यान दिन्छौं । त्यसका साथै सहकारी ऐन कानुनलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर पनि क्लबले छलफल र अन्तरक्रिया मार्फत मार्गप्रशस्त गर्नेछ । म्यानेजर्स क्लबमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रहने हुँदा कर्मचारीको विषयलाई समेत सम्बोधन गर्नेछ । कर्मचारीलाई प्रभावकारी रुपमा अगाडि नबढाइकन संस्था सफल हुन सक्दैन ।
सहकारी सञ्चालकले चलाउने कि कर्मचारीले ?
सहकारी संस्था सञ्चालनका विषयमा सहकारी ऐन २०७४ र नियमावली २०७५ मा नै प्रष्ट व्यवस्था छ । सहकारी अध्यादेशले पनि सहकारी सञ्चालनका विषयमा थप कुरा बोलको छ । सहकारीका सञ्चालक र कर्मचारी दुबै पक्ष नमिली संस्था सफल हुँदैन । नीतिगत तहमा रहनेहरुले सही नीति निर्माण गरिदिनुपर्यो । संस्थालाई हानि नहुने कुरामा ध्यान दिनुपर्यो र सदस्यको जीवनस्तर परिवर्तन गर्न सक्ने कुरालाई पोलिसीमा राख्नुपर्यो । व्यवस्थापनमा रहने कर्मचारीले संस्थाको अहित नहुने गरी नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्यो । यो हुन सक्यो भने सहकारी संस्था राम्रोसँग चल्छ र समस्यामा भएका संस्थाहरु पनि समस्याबाट बाहिर निस्कन्छन् ।
कर्मचारीहरुमा सहकारीमा काम गरेर सदस्यको हित गर्नुका साथै आफ्नो भविष्य समेत सुनिश्चित गर्न सकिन्छ भन्ने भावनाको विकास कहिले गर्न सकिएला ?
सहकारी सञ्चालन गर्ने क्रममा कर्मचारीहरुले तलब नै नलिइ काम गर्दिएहुन्थ्यो भन्ने सोच विकास भयो । कर्मचारी नियुक्ति गर्दा पनि उसमा हनुपर्ने न्यूनतम ज्ञान, सीप क्षमता, तालिम, योग्यता आदि कुरालाई पहिचान गरिएन । संस्थामा बसेर पैसा गन्ने र सदस्यले फिर्ता मागेको खण्डमा फिर्ता दिनसक्ने भए हुन्छ भन्ने कोणबाट मात्रै हेरियो । सहकारी पनि वित्तीय संस्था भएकाले वित्तीय ज्ञान लगायत प्राविधिक पक्षमा पनि सक्षम हुनुपर्छ भन्ने विषयमा ध्यान दिइएन । अहिले पनि राम्रा सहकारी संस्थामा बैंक तथा वित्तीय संस्थामा भन्दा कम सेवा सुविधा छैन । ती सहकारी संस्थाको व्यवस्थापनमा कुनै समस्या देखिएको छैन, उहाँहरुले बैंक भन्दा सहकारीमा भविष्य राम्रो छ भनेर काम गरिराख्नु भएको छ । अधिकांश सहकारीले क्षमतालाई पहिचान नगरी कर्मचारी नियुक्ति गरे, परिणाम स्वरुप सहकारीमा समस्या देखियो । कुनै सहकारी संस्थामा बजार प्रतिनिधिको रुपमा काम गरिराखेका साथीहरुले नयाँ संस्था दर्ता गर्ने र अध्यक्ष हुने चाहनाले संस्था किनेर चलाउन थाले । उनीहरुमा नीतिगत ज्ञान भएन । जसकारण अहिले दुर्घटनामा पर्ने अवस्था आयो । सहकारीमा काम गर्ने कर्मचारीको आधारभूत आवश्यकता पनि पुरा भएको थिएन । संस्थामा आउने, पैसा उठाउने र जाने भन्दा बाहेका पोलिसीका बारेमा थाहा पाउने र संस्थालाई सुशासनमा राख्ने भन्ने कुरा टाढाको विषय रह्यो । उनीहरु न त संस्था बनाउन सके, न आफ्नो करियर । सहकारी सदस्यको लागि खोलिएकाले हरेक बर्ष कुन कुन क्षेत्रमा के कस्ता परिवर्तन आए, एउटा सदस्य संस्थामा आवद्ध भएपछि हिजो र आजको के कुरामा परिवर्तन आयो, त्यो महत्वपूर्ण हुन्छ । त्यही खालको नीति संस्थाले बनाउनुपर्छ ।
सहकारीका कर्मचारीलाई क्षमतावान् बनाउन संघले कसरी काम गर्दै आएको छ ?
बचत संघले आयोजना गर्ने अधिकाशं तालिमहरु कर्मचारीको क्षमता वृद्धिमा केन्द्रीत हुन्छन् । हरेक महिना बचत संघले २ वटा तालिम सञ्चालन गर्छ, जसमा एउटा तालिम कर्मचारीको लागि लक्षित गरिएको हुन्छ । त्यसका साथै सञ्चालक समिति, लेखा समिति र विभिन्न उप समितिको समेत क्षमता वृद्धि गर्न तालिम कार्यविधि नै पास गरेर लागु गरेका छौं । कर्मचारीको क्षमता विकास नगरी सुशासनयुक्त र पारदर्शी संस्थाको रुपमा अगाडि बढाउन सकिँदैन । कर्मचारीलाई नै फोकस गरेर १२ महिना नै तालिमहरु गर्दै आएका छौं ।