भ्यालेन्तिना भ्लादिमिरोभ्ना तेरेस्कोभा (१९३७–) सेवानिवृत्त पहिलो महिला अन्तरिक्ष यात्री, रुसी सेनाको पहिलो जर्नेल, ईन्जिनियर हुन् । उनी त्यसअघि शौखिन प्यारासूट गोताखोर पनि भईन् । हाल उनी रुसी संसद ‘दुमा’ को सदस्य छन् । तेरेस्कोभा त्यस्ती महिला अन्तरिक्षयात्री पनि हुन्, जसले १६ जुन १९६३ मा एक्लो रुपमै त्यहाँ २ दिन र करिब २३ घन्टा बिताएकी थिइन् भने त्यस अवधिमा उनले ४८ पटक पृथ्वीको परिक्रमा गरिन् । त्यसबेला उनको उमेर २६ वर्ष थियो । अन्तरिक्ष उडानका लागि ४०० महिला आवेदक र पाँच अन्तिम प्रतिद्वन्द्वी मध्येबाट उनी छानिएकी हुन् । यिनलाई ‘स्कट लगाएकी युरी गागारिन’ पनि भनिन्छ ।
गागारिन (१९३४–१९६८) विश्वकै पहिलो सोभियत मानव अन्तरिक्षयात्री (१९६१) थिए । मानिस अन्तरिक्षमा जानुभन्दा पहिले कुकुर र बाँदरलाई पठाइएको थियो । शीतयुद्ध र अनेकौ होडबाजीको दबदबाका बीच अमेरिका र तत्कालीन सोभियत संघका बीच अन्तरिक्ष होडमा पनि सोभियत संघले उछिनेको थियो भने चन्द्रमामा मानिस उतार्न चाहिँ अमेरिकाले उछिन्यो । अहिले त अन्तरिक्ष विज्ञानमा अमेरिका रुसभन्दा धेरै अगाडी पुगिसक्यो ।
तेरेस्कोभाले अन्तरिक्ष यात्रा र इन्जिनियरिङ् बाहेक सोभियत कम्युनिस्ट पार्टीका विभिन्न निकायमा बसेर पनि काम गरिन् । १९६१ मा उनी कम्युनिस्ट पार्टीको सचिव भइन् । पार्टीको ओहोदा पाउनुअघि उनी योङ् कम्युनिस्ट लीग (कम्सोमोल) को सदस्यका रुपमा पनि क्रियाशील भइन् ।
तेरेस्कोभाका पिता भ्लादिमिर तेरेस्कोभ सेनाको ट्याङ्क चालक थिए र आमा स्थानीय कपडा कारखानाकी कामदार थिइन् । उनी २ वर्षकी छँदा दोस्रो विश्वयुद्धका क्रममा पिताको मृत्यु भयो । तेरेस्कोभाले ८ वर्षको उमेरमा मात्र विद्यालय शिक्षा पाउन थालिन् ।

तेरेस्कोभाले अन्तरिक्ष यात्राकै वर्ष १९६३ मा अन्तरिक्ष यात्री एन्द्रियन निकोलाएभसँग विवाह गरिन् । उनको वैवाहिक समारोहको अध्यक्षता नै निकिता ख्रुश्चेभले गरेका थिए, जुन पार्टीमा महाशक्ति सोभियत संघका सबैजसो उच्च पदाधिकारीहरू उपस्थित थिए । एक वर्षपछि दुवै अन्तरिक्ष यात्री रहेको यो जोडीले एउटी छोरी (डा.) एलेना एन्द्रियानोभ्नालाई जन्म दिए । तर १९८२ मा यिनले पारपाचुके गरिन् र हाडजोर्नीका डाक्टर युलिय जी शापोस्निकोभसँग बिहे गरिन्, तर यिनको १९९९ मा निधन भयो । २०१३ मा उनलाई मंगल ग्रहको एकल यात्राका लागि पनि प्रस्ताब आएको थियो भनिन्छ ।
यिनले धेरैवटा राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारहरू पाएकी छन्। अन्तरिक्षलाई शान्तिपूर्ण प्रयोजनमा उपयोग गर्नुपर्छ भन्ने उनको जोड रहँदैआयो ।
हिन्दुहरूले शान्तिवाचन्मा भन्ने गरेको “ॐ शान्ति.....अन्तरिक्ष शान्ति...सामाः शान्ति.....” को कामनालाई यिनले गति दिइन् भन्नु अत्युक्ति नहोला ।
"Once you've been in space, you appreciate how small and fragile the Earth is"- Valentina .
चन्द्रमणि गाैतम