ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाले दुई दिने सिईओ गोष्ठी गर्न गइरहेको छ। सहकारी संस्थामा प्रमुख कार्यकारी वा व्यवस्थापनमा रहेर काम गरिरहनु भएकाहरुलाई लक्षित गरी यही चैत्र २२ र २३ गते हामीले यो वर्कसप आयोजना गरेका छौं । संस्थामा दैनिक कार्य सञ्चालन गरिरहनु भएका सिइओहरुलाई थप दक्ष र सचेत बनाउनको लागि यो कार्यक्रम गर्न गइरहेका छौं । यसको तयारी करिब पुरा भइसकेको छ । संस्थामा व्यवस्थापन प्रमुखको रुपमा कार्य गरिरहनु भएकाहरुलाई नाम दर्ता बाँकी छ भने शीघ्र नाम दर्ता गरिदिनुहुन पनि अनुरोध गर्दछौं । हामीले यो वर्कसपमा धेरै जना सहभागिता गराउँदैनौं । सीमित व्यवस्थापन प्रमुखहरुको सहभागितामा यो वर्कसप गर्दैछौं । त्यसकारण फष्र्ट कम फष्र्ट सर्भिस भन्ने मान्यतामा नाम दर्ता गरिराखेका छौं ।
पछिल्लो समय सहकारी क्षेत्रको वातावरण धमिलो भएको छ । यस्तो अवस्थामा सहकारी क्षेत्रमा सकारात्मक वातावरण बनाउन वर्कसपले सघाउने हाम्रो विश्वास छ । सहकारीमा लागेका दाग हामी सहकारीकर्मी आफैंले मेटाउनुपर्छ । अरु कसैले यो दागलाई मेटाइदिँदैन । कतिपय जानेर त कतिपय नजानेर समस्यामा परेका छन् । कतिपय नियतवश पनि समस्यामा परेका छन् । नियतवश समस्यामा परेकाहरुलाई हामी केही गर्न सक्दैनौं । तर नजाने र नबुझेर भएका कमजोरीहरुलाई हामीहरुसँगै मिलेर सुधार गर्नुपर्छ र आगामी दिनमा त्यस्ता गल्तीहरुलाई दोहोरिन नदिन ऐन नियममा बसेर संस्था सञ्चालन गर्नुपर्छ । अहिले सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड ल्याउने तयारी गरेको छ । ती विषयमा पनि थप प्रष्ट पार्न वर्कसपले सघाउने छ ।
सहकारी संस्थामा सञ्चालकहरु जति जिम्मेवार हुन्छन् त्यति नै जिम्मेवार संस्थाका प्रमुख कार्यकारी अधिकृत वा व्यवस्थापन प्रमुखहरु हुन्छन् । वर्कसपमा हामीले सहकारी सहित वित्तीय क्षेत्रका विज्ञहरु ल्याएर प्रशिक्षण दिने तयारी गरेका छौं । विज्ञहरुबाट मानव संसाधन, सहकारी व्यवस्थापन, विद्यमान सहकारी कानुन र सबै विषयमा वर्कसपमा छलफल गरिनेछ । वर्कसपमा सहभागी भएपछि सिईओहरुमा थप निखार आउने छ । वर्कसपमा सहभागी भएपछि सिईओहरुको काम गर्ने क्षमता र व्यक्तित्व विकासमा थप टेवा पु¥याउँछ । सहकारीमा काम गर्ने कर्मचारी वा व्यवस्थापन प्रमुखहरुले यो क्षेत्रमा नै निरन्तर काम गरुन् भन्ने हो तर त्यो नहुन पनि सक्छ । यो वर्कसपमा सहभागी भएपछि जुनसुकै क्षेत्रमा काम गरेपनि संस्था सञ्चालन गर्न थप टेवा मिल्छ भन्ने हामीलाई विश्वास छ । सहकारीमा भविष्य छैन भन्ने कुरामा म सहमत छैन । हाम्रो देशमा धेरै बेरोजगार छ तर सहकारीले धेरै जनालाई रोजगारी दिएको छ । हामीले सानो पुँजी परिचालन गरेको हुनाले थोरै सेवा सुविधा दिएको होला । तर पनि सहकारी क्षेत्रले हजारौंलाई रोजगारी दिएको छ । यस क्षेत्रमा काम गर्ने कर्मचारीको भविष्य छ । समय सधै भरी एकैनासको हुँदैन, अहिले सहकारी क्षेत्रको लागि गाह्राे समय छ । यो समस्या सधै रहिरहन्छ भने होइन । समय परिवर्तनशील छ । अहिले देखिएको समस्या समाधान गरेर जान सकियो भने सहकारी क्षेत्रका लागि पनि राम्रो समय आउँछ । सहकारीमा देखिएका समस्यालाई चिर्न सकियो भने यो क्षेत्रको भविष्य उज्वल छ ।
कर्मचारीहरुलाई अब्बल बनाउनको लागि हामी प्रयासरत छौं । यस्तै तालिम, गोष्ठी र वर्कसप मार्फत कर्मचारीलाई स्माट बनाएर काममा पूर्णता ल्याउने हाम्रो लक्ष्य छ । यस्ता वर्कसपहरु आवश्यक छ । सहकारी आफैमा भेग विषय हो । नेपालमा ३१ हजार सहकारी छन् भनिन्छ । ती संस्थामा कार्यरत कर्मचारी र सञ्चालकहरुबीच भेटघाट हुन र असल अभ्यास बारेमा एकापस साटासाट गर्न आवश्यक छ । एक अर्काले जाने बुझेका कुरा आदानप्रदान गर्ने थलो भनेकाे गोष्ठी सेमिनार र वर्कसप नै हुन् । सहकारी भनेपछि गजबको आत्मियता हुने रहेछ । सीमित व्यक्तिको स्वार्थको कारणले मात्र सहकारी क्षेत्र बिग्रिएको हो । २०५० सालपछि सहकारी खोल्ने क्रम बढेर गएको हो । सहकारीले भातृत्व प्रेम र सम्बन्ध धेरै विकास गरेको छ, यसलाई हामीले भुल्नु हुँदैन ।
हामीले अध्यक्ष र कोषाध्यक्षको गोष्ठी गरिसकेका छौं । संस्थामा जति पनि समस्या सञ्चालक समितिको अध्यक्ष र चेकमा हस्ताक्षर गर्ने कोषाध्यक्षले गर्दा आइरहेको छ । त्यसका साथै संस्थाको व्यवस्थापन प्रमुख पनि उत्तिकै जिम्मेवार हुन्छन् । अधिकांश समस्यामा परेका सहकारीमा यिनी तीन जनाको कारणले समस्या देखिएको छ । त्यसकारण मलाई थाहा छैन, मेरो भूमिका के हो भन्ने मैले बुझिँन र हामीले सिकेका थिएनौं भन्न पाइँदैन । कानुनमा भएका कुरा बुझ्नुपर्छ र अब थाह पाइन, जानिन भनेर छुट पाईंदैन । सहकारीमा जति पनि समस्या आएको छ, कोहीले अध्यक्ष त कोहीले कोषाध्यक्षले गर्दा समस्या आयो भनेका छन् । कोहीले व्यवस्थापनले गर्दा आएको भनेका छन्। कतिपय संस्थामा व्यवस्थापकले संस्था बिगार्यो भनेका छन् । अब यस्तो नहोस् । हाम्रो संस्था हो, यसलाई चुस्तदुरुस्त र पारदर्शी रुपमा सञ्चालन गर्नुपर्छ । यसैका लागि हामीले सिईओ वर्कसप आयोजना गरेका हौं । आवासीय गोष्ठी भएकाले दुई दिनमा थुप्रै कुरा सिक्न सकिन्छ र यो क्षेत्रलाई व्यवस्थित बनाएर लैजान सहयोग पुग्नेमा पूर्ण विश्वस्त छु ।
–कुराकानीमा आधारित–