ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सिईओ वर्कसप आयोजना गर्नुको उदेश्य के हो ?
ललितपुर जिल्ला बचत संघले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यही चैत्र २२ र २३ गते भक्तपुरको रत्नागिरि रिर्सोटमा सिईओको वर्कसपको आयोजना गरेको छ । सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष समेत घोषणा गरिएकाले संघले सहकारी सचेतनासम्बन्धी विभिन्न गतिविधि अगाडि बढाइराखेको छ । सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित ढगंले अगाडि बढाउनु पर्ने चुनौति हामीमाझ छ । ललितपुर बचत संघ मुुलुककै सबैभन्दा पुरानो संघ हो । २०५० सालमा संघ स्थापना भएपछि सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
जिल्लामा ५ सय ३९ वटा बचत तथा ऋण सहकारी संस्था छन् । त्यस मध्ये ४ सय ८२ वटा संस्था संघमा आवद्ध रहेका छन् । ती प्रारम्भिक सहकारी संस्थालाई दिगो, व्यवस्थित र सबल बनाउनको लागि प्रमुख भूमिका बचत संघको हुन्छ । प्रारम्भिक सहकारी संस्था सिधै जोडिने भनेकै बचत संघसँग हो । अहिले परिस्थिति पनि फरक रहेको र सहकारी भनेपछि तर्सने बेला छ । यस्तो परिस्थितिमा संघले केही न केही काम गरोस् भन्ने प्रारम्भिक संस्थाको अपेक्षा भएकाले हामीले यो वर्कसप गर्न लागेका हौं । हामीले गत वर्ष अध्यक्ष र कोषाध्यक्षको गोष्ठी गर्न सफल भयौं । बचत संघले गएको साधारण सभाको नीति तथा कार्यक्रममा सिईओ वर्कसप गर्ने भनेर पारित गरेका थियौ । सोही अनुसार १ सय सहकारी संस्थाका सिईओहरु, जसले व्यवस्थापकिय भूमिका वहन गरिराख्नु भएको छ । उहाँहरुलाई मात्र वर्कसपमा सहभागी गराउँछौं ।
सहकारी क्षेत्रमा समस्या रहेको र समस्यालाई समाधान गर्न सघाउने गरी हामीले वर्कसपका विषयवस्तु छनौट गरेका छौं । समस्याको बीचमा पनि नीति, कार्यविधि र विनियमलाई आधार मानेर काम गर्ने भनेको संस्थाका व्यवस्थापनमा रहेका कर्मचारीहरुले नै हो । कर्मचारीहरुमा पनि मुख्य व्यवस्थापकिय भूमिका खेल्ने भनेको सिईओले नै हो । उहाँहरुलाई उत्साहित गर्न र बदलिँदो परिवेशमा नयाँ कुरा सिकाउन यो वर्कसप आयोजना गरिएको हो । अहिले नियमकानुन पनि पालना नगर्ने र लहैलहैमा सहकारी खोल्ने प्रवृत्तिका कारण समस्या आएको छ । कतिपय संस्थामा गरेको ऋण लगानी समयमा उठ्न नसक्दा सदस्यको बचत फिर्ता दिन समस्या भएको छ । यो विषम् परिस्थितिमा सहकारीहरु छन् । यो विषयलाई बचत संघले गम्भिरताका साथ ध्यान दिएको छ । यस्तो परिस्थितिमा सिईओहरुको आत्मबल बढाउनको लागि र उहाँँहरुमार्फत् नै संस्थामा सुशासन वृद्धि गर्न यो वर्कसप महत्वपूर्ण हुने ठानेका छौं ।
हामीले वर्कसपमा सोही अनुसारका प्रस्तोताहरुलाई निमन्त्रणा गरेका छौं । सहकारी मन्त्रलायका सचिव, खुल्ला विश्व विधालयका प्राध्यापक, नेपाल राष्ट्र बैंकका निर्देशक, नबिल बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत र नेफ्स्कूनका सिईओले वर्कसपमा प्रशिक्षण दिनुहुनेछ । त्यसैगरी मोटिभेसनको पनि आवश्यकता छ भनेर त्यसको समेत सेसन राखेका छौं । यो विषम परिस्थितिमा हामीले सदस्य संस्थालाई केही गर्न सकेनौं भने संघप्रतिको भरोसा गुम्न सक्छ । सिईओहरुलाई सहकारीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र बचत ऋणको अभ्यासको बारेमा वर्कसपमा सिकाइने छ । सरकारले सहकारी अध्यादेश जारी गरेको छ । त्यसैगरी राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्डको मस्यौदा सुझावको लागि जारी गरेको थियो र अव छिट्टै नै कार्यान्वयनको लागि जारी गर्ने तयारी गरेको छ । यस्तो बेलामा दिमागलाई अन्यत्र नलगाइकन आवासीय रुपमा नै वर्कसप गर्दा फलदाइ हुने विश्वासका साथ नगरकोटमा गर्न लागेका हौं ।
वर्कसपमा सहभागी हुन चाहने सहभागीहरुको लागि शुल्क पनि तय गर्नु भएको होला नि ?
हामीले वर्कसपमा सहभागिताको लागि शुल्क निर्धारण गरेका छौं । यो वर्कसपको लागि प्रतिव्यक्ति ७ हजार शुल्क तोकेका छौं । सात हजार रुपैयाँले वर्कसपमा पुग्दैन । करिब १२ हजारको खर्च हुन्छ । नपुग रकम संघको शिक्षा तथा तालिम कोषबाट बेहोर्ने गरी यो कार्यक्रम तय गरेका छौं । संस्थाहरुबाट सहभागी हुन नाम दर्ता गराइराख्नुभएको छ । हामीले फष्ट कम फष्ट सर्भिसको व्यवस्था गरेका छौं । अन्य जिल्लाहरुबाट पनि वर्कसपमा भाग लिन लागि आग्रह भएको छ । ललितपुर केन्द्रीत सिइओ वर्कसप भएका कारणले गर्दा संघका सदस्य संस्थालाई नै पहिलो प्राथमिकता दिने हाम्रो योजना छ । यो वर्कसपले अवेयरनेस पनि जगाउने छ । संस्थाहरुमा सुशासन कायम गर्न मागदर्शन गर्नेछ । सिईओहरुलाई मर्यादित र व्यवस्थित भएर संस्था सञ्चालन गर्न टेवा मिल्ने विश्वास छ । सहकारी संस्थाको विकास र प्रवद्र्धनमा पनि यो वर्कसप आफैंमा महत्वपूर्ण हुन्छ भन्ने अपेक्षा छ । यस्ता खालको वर्कसप अवसर हो, यसलाई नगुमाउनको लागि सम्पूर्ण संघ संस्थालाई हार्दिक अनुरोध गर्दछु ।
सहकारी संस्था सञ्चालकले कि व्यवस्थापन कसले सञ्चालन गर्ने हो ?
संस्था दिगो बनाउन कर्मचारीहरुले सञ्चालन गर्नुपर्छ र त्यसमा पनि सिईओको मुख्य भूमिका हुन्छ । सञ्चालकहरुले नीति, नियम र कानुन बनाइदिने हो । सञ्चालकहरु संस्थामा स्वंयसेवी हुन् । उनीहरुले संस्थाबाट सेवा सुविधा लिएका हुँदैनन् । सहकारी ऐनले पनि सञ्चालकलाई कार्यकारीको भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ । त्यसकारणले गर्दा सहकारी संस्थालाई सुशासनमा लैजान, सबल र दिगो संस्था बनाउन व्यवस्थापन प्रमुखको भूमिका महत्वपूर्ण हुन्छ । सिइओ वा व्यवस्थापन प्रमुखमार्फत अगाडि लगियो भने मात्र संस्था राम्रो र दिगो हुन्छ । संस्थालाई नीतिसम्मत सञ्चालन गर्न सिईओहरु मुख्य हुन्छन् । वर्कसपमा सहकारीका असल अभ्यास आदानप्रदान हुने र नजानेका कुरा सिक्न पाइने हुँदा यसलाई अवसरको रुपमा लिन मेरो आग्रह छ । संघमा आवद्ध संस्थाको सिईओहरुलाई वर्कसपमा सहभागी हुने पहिलो अवसर प्रदान गरेका छौं । यदि केही सिट बाँकी रहयो भने मात्रै संघ भन्दा बाहिरका संस्थाका सिईओ वा व्यवस्थापकहरुको लागि सोच्नु पर्ने हुन्छ ।
सदस्य संस्थाहरुबाट वर्कसपमा सहभागिताका लागि कत्तिको उत्सुकता पाउनु भएको छ ?
२ सय सहकारी संस्थाले सिट मिलाइदिुनपर्यो, हामी जान तयार छौं भनेर भनिराख्नु भएको छ । तर हामी १ सय भन्दा बढी सहभागी गराउँदैनौं । धेरै जना हुँदा सिकाईमा प्रभाकारिता हुँदैन । संख्या मात्रै थपेर के गर्ने ? व्यवस्थापनको पक्षलाई पनि ध्यान दिनुपर्छ । त्यहाँ गएपछि केही कुरा सिक्नु पर्यो र सिकेको कुरालाई संस्थामा कार्यान्वन गर्नुप¥यो । त्यसका लागि त्यही खालको व्यवस्थापन, क्षमता, हल र संरचना मिलाउनुपर्ने हुन्छ । यसले गर्दा हामीले धेरै जनालाई सहभागी गराउन सक्दैनौं । यसको प्रभावकारितालाई हेरेर अर्को सिईओ वर्कसप गर्न सकिन्छ । वर्कपसँगै हामीले ‘ललितपुर म्यानेजर्स क्लब’ पनि गठन गर्दैछौं । त्यसकारणले गर्दा यो वर्कसप आफैंमा महत्वपूर्ण छ ।
ललितपुरका व्यवस्थापकीय प्रमुखहरु जमघट हुने, भेला गर्ने, संस्था–संस्थाबीचको सिकाईलाई आदानप्रदान गरी एउटा पाठशालाको रुपमा विकास गर्न म्यानेजर्स क्लब गठन गर्न लागिएको हो । क्लब गठन गरेपछि बचत ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखबीच नियमित भेटघाटको वातावरण बन्नेछ । सहकारी क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने र अभियानमा एकरुपता कायम गरेर जान समेत मद्दत मिल्नेछ । त्यसका साथै सहकारीका समस्या समाधानमा पहल गर्ने, यो क्षेत्रमा देखिएका विकृति विसंगतिलाई चिर्न सिइओहरुको भूमिका महत्वपूर्ण हुने भएकाले म्यानेजर्स क्लब गठन गर्ने सोच बनाएका हौं ।
सहकारी अध्यादेशले यो क्षेत्रलाई व्यवस्थित गर्नेमा तपाई कतिको आशावादी हुनुहुन्छ ?
नेपालमा ३१ हजार सहकारी संस्था आवश्यक छैन । सहकारीहरु बीच एकीकरण गरेर संस्था घटाउनुपर्छ । सहकारी संस्थालाई वर्गिकरण गर्नुपर्छ । संस्था कुन वर्गको हो भनेर पुँजी, सदस्यता र कार्यक्षेत्रको आधारमा छुट्याउनुपर्छ । अध्यादेशमार्फत बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई वित्तीय संस्था अन्तर्गत राखिएको छ । यो आफैंमा राम्रो पक्ष हो । सहकारीमा बचतको सीमा राख्नु हुँदैन भन्ने हाम्रो माग थियो तर प्राथमिक पुँजीको १० प्रतिशतसम्म बचत लिन पाउने व्यवस्था आएको छ । यसले पनि राम्रो वातावरण बनाउँछ । सहकारी संस्थामा एक व्यक्ति दुई कार्यकालसम्म बस्न पाउने व्यवस्था गरिएको छ । यो पनि राम्रो छ । सहकारीमा स्वःनियमन र स्वःअनुशासन भनेपनि त्यसमा नबस्दा समस्या आएको हो । सहकारीमा स्वायत्तता र स्वतन्त्रता भनिरहँदा त्यसलाई हामीले पालना गर्न सकेनौं । जसले गर्दा सहकारी अभियान यस्तो अवस्थामा पुग्यो ।
अब सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ र सरकारले ल्याएको नियम कानुनलाई पालना पनि गर्नुपर्छ । समयसापेक्ष नियम कानुन परिमार्जन हुनुपर्छ । सोही अनुसार सहकारी ऐन २०७४ र नियमावली २०७५ आयो । त्यसलाई पूर्ण पालना गर्न सकिएन । सरकारले पनि प्रभावकारी रुपमा नियमन तथा अनुगमन गर्न सकेन । सहकारी ऐन पूर्ण रुपमा कार्यान्वयन पनि भएन, ऐन कार्यान्वयन भएको भए धेरै समस्या समाधान हुन्थ्यो । त्यसमा हामी चुक्यौं । सहकारीमा विकराल समस्या सृजना भइसकेपछि अध्यादेश आएको छ । अध्यादेशलाई हामीले कार्यान्वयन गर्नुपर्छ । कानुन बन्ने तर कार्यान्वयन नहुने हो भने त्यसले कुनै अर्थ राख्दैन । सहकारी प्राधिकरण आफैमा राम्रो छ । तर प्राधिरकण भन्सारको रुपमा परिणत हुने हो कि भन्ने डर छ । यो पनि अर्को भन्सारको रुपमा मात्र खडा भयो भने केही अर्थ राख्दैन । सहकारी विभाग निस्कृय हुँदै जाने र प्राधिकरण सक्रिय हुँदा जाँदा संस्था दर्ता तथा नविकरण र नियमन गर्दा पर्दा पछाडि आर्थिक लेनदेनका कुरा आयो भने यसले विकृति ल्याउँछ ।
तर हामीले सकारात्मक रुपमा लिनुपर्छ । अधिकार सम्पन्न प्राधिकरण निर्माण गरेर बचत ऋण सहकारीलाई व्यवस्थित गर्नुपर्छ र यो क्षेत्रलाई व्यवस्थित बनाएर लैजानैपर्छ । आशा गरौं प्राधिकरणले सहकारी क्षेत्रलाई दिगो, व्यवस्थित र सुरक्षित बनाउने काममा महत्वपूर्ण भूमिका खेल्नेछ । सहकारी संस्थालाई आजको भोलि नै दायरामा ल्याउन सम्भव छैन । संस्थाहरुलाई समयसिमा दिएर व्यवस्थित र सुरक्षित बनाउने तर्फ लाग्नुपर्छ ।
सहकारी संस्थाका पदाधिकारीलाई थुनेर मात्रै समस्या समाधान हुँदैन । सहकारी शिक्षा, तालिम, अवेयरनेस र क्षमता विकासका लागि रचनात्मक र प्रवद्र्धनात्मक कार्यक्रमको आयोजना गरी अगाडि बढ्नुपर्छ । सहकारी संस्थाले गरेका राम्रा कामहरुको प्रचारमा कमि भएको छ । सहकारी संस्थाले गरेका असल अभ्यासलाई बाहिर ल्याउन सञ्चार माध्यमहरुसँगको सहकार्यता बढाउनुपर्छ । त्यसका लागि अभियानले काम गर्नुपर्छ । हाम्रो अभियानमा एकमत देखिँदैन । आफुलाई कसरी फाइदा हुन्छ, अभियान त्यसतर्फ केन्द्रीत भएको छ । सदस्यको हित गर्दै आर्थिक सामाजिक रुपान्तरण गर्ने कुरामा सहकारी अभियानलाई लगाउनुपर्छ । त्यो भयो कि भएन भन्ने कुरा हामीले हेर्नुपर्छ ।
व्यक्ति केन्द्रीत भएर सहकारी अभियान अगाडि बढेको छ , यसले परिणाम दिन सक्दैन । एकले अर्कालाई हिलो छ्याप्ने काम यो क्षेत्रमा भएको छ । यसले अभियानलाई फाइदा पुग्दैन । राम्रो काम गर्ने, सदस्यलाई सबल बनाउने र आफुले नेतृत्व गरेको संस्थालाई कसरी अब्बल बनाउन सकिन्छ, त्यसतर्फ हामी केन्द्रीत हुनुपर्छ । तब सहकारी मार्फत दिगो अर्थतन्त्र निर्माण हुन्छ । विषम परिस्थिति सृजना गरिरहने र हामी अभियानकर्मी मूकदर्शक भएर रहने र एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले कसैको हित गर्दैन । यस्ता कुरालई रोक्न पनि गोष्ठी तथा सम्मेलन गर्नुपर्छ । त्यसै मध्येको सिईओ गोष्ठी पनि एक हो । यसले विषम परिस्थितिलाई सम्बोधन गर्न र संस्थालाई सही बाटोमा हिँडाउन सहयोगी हुनेछ ।