बलम्बु च्याउ सहकारी संस्थाले सप्ताह व्यापी कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा संस्थाले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेको हो ।
२०६५ साल चैत्र १ गते स्थापना भएको यस संस्था स्थापनाको १६ वर्ष पुरा भई १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा फाल्गुण २४ गते संस्थाको सम्बृद्ध सेवा केन्द्रमा सहकारी शिक्षा शिविर तथा वित्तीय साक्षरता कक्षा, फाल्गुण २८ गते मातातिर्थमा रहेको मातातिर्थ वृद्धाश्रममा भोजनदान कार्यक्रम, चैत्र १ गते बलम्बुको क्वाथः मैदानमा स्थापना दिवस तथा निशुल्क दन्त शिविर, चैत्र २ गते सम्बृद्ध सेवा केन्द्रमा रक्तदान, निशुल्क स्वास्थ्य तथा दन्त शिविरको आयोजना गरिएको संस्थाका प्रबन्धक ज्ञानदास महर्जनले जानकारी दिए ।
स्थापना दिवसकै अवसरमा संस्थाको नियमित कार्यक्रम जेष्ठ सदस्य तिर्थस्थल भ्रमण अन्तर्गत भक्तपुरको नीलबाराही भ्रमणमा गरेका जेष्ठ सदस्यहरुलाई मायाको चिनोको रुपमा फोटो वितरण समेत गरिएको थियो । संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनले रक्तदाताहरुलाई प्रमाण पत्र एवं मायाको चिनो प्रदान गरेका थिए ।
शुरुवातमा २८ जना सदस्यबाट सञ्चालनमा आएको बलम्बु च्याउ सहकारी १७औं वर्षमा प्रवेश गर्दा ४ हजार १५७ जना सदस्यहरु आबद्ध भइसकेका छन् । हाल संस्थाको शेयरपँुजी रु.४ करोड ३८ लाख ७८ हजार, बचत संकलन रु. ५३ करोड, ६३ लाख, ९१ हजार, ऋण लगानी रु. ५२ करोड ५६ लाख ८० हजार गरी कुल सम्पत्ति रु.६६ करोड २५ लाख, ४३ हजार पुगेको संस्थाका प्रबन्धक महर्जनले बताए ।
