लाेकनारायण सुबेदी
सामुदायिक बिबिधताले भरिएको नेपाली समाज बिबिध किसिमले अत्यन्तै उत्सवधर्मी छ । त्यस्ता अनेक उत्सवहरुमध्यको एउटा रंगिलो र रमाइलो उत्सव या पर्व हो - होली । यसलाई फागु पनि भनिन्छ । आज त कुनै पनि नेपाली जन समुदाय बिशेषले मनाउने गरिएका धेरैजसो चाड पर्वहरु सम्पूर्ण नेपाली जन समुदाय र सिंगो समाजकै चार्डपर्वकोरुपमा पनि बिकसित हुदै गएका छन् । यो जन समुदाय बीचको बढ्दो सह-भाव तथा बिज्ञान र प्रबिधिको बिकासले गर्दा समेत सम्भव भएको आजको यथार्थ हो । अब कुनै एक क्षेत्र र समुदायका चाड पर्वहरु बिस्तारै बिस्तारै प्रायः सबै समुदाय सहभागी हुने पर्ब बन्दै गएका छन् । होली पनि एउटा त्यस्तै पर्व बनेको छ । हिजो तर्राई र उपत्यकामा मात्र बढी मनाइने ती ठाउहरुमा मात्र सीमित रहेको यो पर्व आज पहाडको समेत एउटा सँस्कृति जस्तै भएको छ । यो साच्चै नै खुशीको कुरा हो । यसले नेपाली जनताको पारस्परिक सद्भाव र एकतालाई अझ गाढा, जीवन्त र एकत्वको भाबना जगाउन र राष्ट्रिय एकतालाई सबल तुल्याउन योगदान गर्दछ । याे बर्ष यही फागुन महिनाको अन्तिम सातामा आएको होली पर्वले पनि यस दिशामा योगदान पुर्याउने अपेक्षा गरिन्छ र अनुभूति पनि त्यस्तै हुने अपेक्षा गरिन्छ । गलत राजनीतिले बिगारेर बिभाजनकारी बनाएको समाजमा चाडपर्वले भए पनि सद्भाव र एकतालाई कायम राख्न खेल्ने भूमिका कम महत्वपूर्ण छैन ।
चाड पर्वहरु आफै कसरी चल्दै आए त्यसको बारेमा खोजबिन गर्दा ती युग बिशेषका उपज हुन् र कालान्तरमा परिबर्तन र परिमार्जन हुदै आएका छन् र हुँदै जानछन् भन्ने कुरामा दुइ मत नहोला । युग बिशेष भन्ने बित्तिकै त्यहाँ आम जन समुदायको जीवन यापन के कसरी हुदै चल्दै आएको थियो भन्ने कुराको ख्याल गरिनु पर्ने हुन्छ । हाम्रा चाड पर्वहरुले त्यस्तै युगको उद्बोधन गराउँदछन् । तर चार्डपर्वहरु हिजोकै अबस्था र उस्तै रुप आकार तथा आयतनमा सीमित भएर कायम रहिरहँदैनन् । तिनले पनि आफुलाई समयसँगै परिमार्जित र परिस्कृत गरेर लैजान्छन् । आज हाम्रा चार्डपर्वहरु बिश्वब्यापी रुपमा परिचित हुदै गएका पनि छन् । त्यसको कारण हो आज नेपाली जन समुदायका यूवाहरु बिश्वभरी नै कामको खोजीमा जीबन यापनका लागि जाने, भौतारिने गरेका छन् र तिनले आफ्ना देशका बिबिध साँस्कृति चार्डपर्वहरु पनि आफुसँगै लिएर गएका र त्यहाँ पनि प्रदर्शन गर्ने गरेका छन् । यसले गर्दा हाम्रो बिबिधताको झल्को बिश्वरभरी फैलिन पाएको छ । यसले पनि हाम्रो सँस्कृतिलाई जीवन्त राख्न मद्दत गर्दछ नै । आज जान अञ्जानमा समाजिक सद्भाव र एकत्वको भावनालाई समेत कुत्सित र कुटील स्वार्थका कारण खल्बल्याइएको र बिभाजनको रेखा कोर्न लागेको भए पनि जुनसुकै समुदायका नेपालीहरु बिदेशिएका किन नहुन् तिनले जुन सुकै नेपाली समुदायका चाड पर्वहरु भए पनि सबै मिलेर मनाउने गरेका छन् र आपसी मित्रता र सद्भावलाई अझ गाढा र ब्यापक बनाएका छन् । यो कम महत्वपूर्ण कुरा होइन ।
फागु या होलीका सन्दर्भमा कुरा गर्दा होली निकै प्राचीन उत्सव भए पनि यसको प्राचीनताका बारेमा भने बिद्वानहरुका बीच । एक मत पाइदैन । यो समोल्लासमय पर्वको आरम्भ यति बेलै भएको हो भनेर कसैले ठोकुवा गर्न नसके पनि यो धेरै पुरानो चाड पर्वहरुमध्येको एक हो भन्ने कुरामा भने कुनै सन्देह छैन । के भनिएको छ भने प्रकृति आफ्ना सबै रुपमा जब तरुण बयको देखिन्छ तब होली आउँदछ । यसले पनि होलीको प्राचीनता र औत्सबीय प्रबृत्तिलाई निकै राम्रोसँग दर्शाउँदछ ।
कतिपय बिद्वानहरुले होलीलाई इशा पछिको उत्सव भन्ने गरेका छन् भने पूर्वीय एक बिद्वान जेमिनीको मीमांसा सुत्रहरुमा भने होलीलाई 'होलाका' भनेर उत्सव मनाएको उल्लेख छ । आचार्य जेमिनीले इसाको ४००-३०० बर्षपहिलेका भनेर चिनिन्थे । पूर्ब मीमांसामा यसै पर्वको उल्लेख हुनुको सोझो अर्थ यही हो कि होली ती सुत्रहरुको रचना कालभन्दा पनि धेरै पहिला निकै ठूलो उत्सवकोरुपमा रहेको हुन सक्छ । त्यसैले यसमा शायदै कसैको बिमति होला कि रंगीबिरंगी यो उत्सव अति प्राचीन उत्सव हो । यस सम्वन्धमा आचार्य जेमिनीलाई उल्लेख गरेर भारत रत्न भनेर सम्मानित डा. पीबी काणोले यो सबै आर्यको उत्सव हुन पर्दछ भनेका छन् ।अर्का बिद्वान कामसुत्रका रचनाकार बात्स्यायानले पनि यस उत्सवका बारेमा बर्णन गरेका छन् । पुराणा साहित्यमा पनि होलीको रंग रसका बारेमा धेरै कुरा उल्लेख गरेको पाइन्छ । प्राचीन साहित्यमा होलीको उल्लेख वास्तवमा अकारण भएको छैन भन्ने प्रष्ट हुन्छ । होलीलाई योग र भोगको एकात्मकरुपमा मानिएको छ । सप्त सुर, सप्त ताल र सप्त रंगकै पर्यायकोरुपमा पनि यसलाई लिइने गरेको छ ।
आनन्द, उमंग र उत्साहको सञ्चार गर्ने होली कुनै क्षेत्र, जाति या गोत्रको भेदभाव नगरी मनाइने चलन भएकाले यहाँ 'आनन्द' नै सबैको गोत्र मानिदै र ठानिदै आएको पनि पाइन्छ । यद्यपि कतिपय बिद्वानले होली मिश्रतिरको आयातित पर्व पनि भन्ने गरेका छन् । जे भए पनि 'नराम्रो नमान होली हो' भन्ने यसको सन्देशले सबैलाई मनको बह पोख्न, खुलेर घुलमिल हुन र रमाइलो मनाउन कम्तिमा बर्षको एक पटक ढोका उघारिदिन्छ । आज यसको एउटा प्रमुख बिशेषता यही नै भएको छ । यस अर्थमा होलीले जीवनको, समाजको समीक्षा गर्ने र गल्तीलाई सच्याउने अवसर दिन्छ भन्ने कुरा त्यस दिनलाई 'नराम्रो नमान होली हो' भनेबाट पनि संकेत मिल्दछ ।
एकजना भारतीय मार्क्सवादी बिद्वान डा. रामबिलाश शर्माले बताएका छन् कि भारतीय मूलका आर्यहरु पश्चिम एशियामा फैलिएका थिए । ती भारतीय आर्य ऋग्बेदको रचनाकालपछि बाहिर गएका हुन् । होली जस्तो उत्सव पनि भारतबाटै बाहिर मिश्र पुगेको हो भन्ने कुरामा के आश्चर्य नै छ र ?आज त होलीकै भूमण्डलीकरण भइसकेको छ । जे होस्, अबाञ्छित मुठभेड र रगतको होली लगायतका बिकृति र बिसंगतिका राक्षस राक्षसीहरुलाई अन्त्य गरेर मनाइने यो उत्सवले जे सन्देश दिदै आएको छ त्यसलाई आत्मसात गर्न सके समाजलाई सुसँस्कृत तुल्याउन अबश्य मद्दत पुग्ने थियो । समाजका राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृति हरेक किसिमका बिकृति र बिसंगतिलाई पञ्छाउन र अन्त्य गरेर या गर्ने दिशामा अग्रसर भएर यो रमाइलो मानउन होली पर्वको सदुपयोग गर्न सके समाजलाई अझ सुन्दर, प्रेममय र परिष्कृत तुल्याउन अवश्य मद्दत मिल्न सक्तछ । नेपालका सबै जन समुदायका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा सप्तरंगी होली २०८१ को पावन अवसरमा परस्पर मैत्री, सद्भाव र एकताको अभिबृद्धि हुन सकोस् भन्ने मंगलमय शुभ कामना !