हामीले पहिलो पटक ‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’ गर्न गइरहेका छौं । यही चैत्त ८ र ९ गते ललितपुरको हेरिटेज गार्डेनमा हुने यो सम्मेलनले सहकारी क्षेत्रमा क्रियाशील रहेका जिल्ला संघ, विषयगत संघ, प्रदेश संघ, केन्द्रीय संघ र राष्ट्रिय सहकारी महासंघलाई एकै थलोमा जमघट गराइ अभियानको एउटै आवाज बनाएर लैजान मदत पुग्ने विश्वास लिइएको छ । सम्मेलनमा आयोजक, सह आयोजक तथा सहकारी संस्थाका प्रतिनिधि गरी ६ सय सहकारीकर्मीको उपस्थिति रहनेछ । प्रदेश संघका सबै पदाधिकारी सम्मेलनलाई कसरी सफल बनाउने भनेर लागिपरेका छौं ।
यो सम्मेलन ऐतिहासिक हुने विश्वास हाम्रो छ । यो सम्मेलन संघीय संरचना बनेपछि पहिलो पटक आयोजना हुन लागेको हो । यो सम्मेलनमा स्थानीय, प्रदेश र संघीय निकायका सहकारी हेर्ने विभागका कर्मचारीहरुलाई समेट्छौं र उहाँहरुको कुरा पनि हामी सुन्छौं । त्यसका साथै तीन तहबीच सहकारी ऐन नियममा नमिलेका विषयवस्तुहरुमाथि पनि सम्मेलनमा छलफल गर्छौं र परिमार्जनका लागि आवश्यक मार्गचित्र प्रदान गर्छौं । बागमती प्रदेशमा रहेका सहकारीमार्फत् उत्पादन भएका वस्तु तथा सेवालाई पनि सम्मेलनमा सहभागी गराउँछौं ।
सरकारले ल्याएको सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डका विषयलाई समेत समेटेर सम्मेलनमा कार्यपत्र प्रस्तुत हुनुका साथै छलफल हुनेछ । सम्मेलनलाई मितव्ययी बनाएका छौं र सहभागी संस्थाका प्रतिनिधिहरुलाई अधिक वित्तीय भार नपरोस् भन्ने उदेश्यले न्युनतम शुल्कमा यो सम्मेलन गर्न गइरहेका छौंं । अन्य संघ संस्थाले आयोजना गर्ने शुल्कको तुलनामा हामीले न्युन शुल्क निर्धारण गरेका छौं । हामीले एक जना सहभागीको लागि ४ हजार र एउटै संस्थाबाट २ जना सहभागी हुनुभयो भने ३५ सय रुपैयाका दरले ७ हजार शुल्क निर्धारण गरेका छौं ।
सम्मेलनमा बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र नभई कृषि, उपभोक्ता, बहुउद्देश्यीय, महिला, दुग्ध, जुनार लगायतका सहकारी संस्थाका प्रतिनिधि समेत आउने र ती संस्थाहरुको आम्दानी कम हुने भएकाले कम शुल्क निर्धारण गरेका हौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि सम्मेलनको लागि केही स्रोत विनियोजन गरिदिएको छ । सहभागीहरुमार्फत् उठेको रजिष्ट्रेशन शुल्क र मन्त्रालयले दिएको आर्थिक स्रोतलाई उपयोग गरेर सम्मेलन गर्न गइरहेका छौं । सम्मेलनबाट नाफा कमाउने भन्दा पनि सहकारी क्षेत्रका समस्या, सम्भावना र समाधानको विषयमा प्रभावकारी रुपमा छलफल गरी निचोड निकालौं भन्ने नै हो । सहभागीलाई सहज रुपमा रजिष्ट्रेशन गराउने उद्देश्यले खल्ती एपसँग सम्झौता गरी अगाडि बढेका छौं । अहिलेसम्म रजिष्ट्रेशन गर्ने सहभागीको संख्या राम्रै रहेको छ र अझै रजिष्ट्रेशनको लागि केही दिन बाँकी रहेकाले हामीले सोचे अनुसारको सहभागिता हुनेमा आशावादी छौं ।
पछिल्लो समय शहरी क्षेत्रमा स्थापना भएका केहि सहकारी संस्थाको बद्मासीले गर्दा सहकारी क्षेत्र बदनाम हुन पुगेको छ भने सदस्यहरुले सहकारीलाई सहज रुपमा विश्वास गर्ने अवस्था छैन । केहि सहकारीका सञ्चालकको नियतका कारण ती सहकारीहरु वित्तीय रुपमा जोखिममा परेका हुन् । त्यसबाहेक समाजमा स्थापना भएका सहकारी संस्थाले सदस्य र समुदायको लागि ठुलो योगदान गरेका छन् । सहकारीले आर्थिक तथा सामाजिक रुपान्तरणमा गरेको योगदान अहिले केही सहकारीमा आएको समस्याले ओझेलमा पारेको छ । सबै सहकारी गलत छैनन् र सहकारीले समाजमा राम्रो काम पनि गरेका छन् भन्ने सन्देश पनि यो सम्मेलन दिनेछ, सहकारी क्षेत्रमा देखिएका समस्याको बारेमा गहन छलफल हुनेछ, निकासको लागि बाटो तय गर्नेछ । यो सम्मेलनले सहकारी क्षेत्रले वर्तमान समयमा भोगिरहेका समस्या समाधानमा पनि सघाउनेछ । जति सहकारी संस्था बिग्रिए र सदस्यको बचत दुरुपयोग भयो, अबको दिनमा सहकारीमा समस्या आउन नदिन र सही ढंगले अगाडि बढाउन समेत सम्मेलनले मार्गनिर्देश गर्नेछ ।
विगतमा पनि यस्ता सम्मेलन भएको र सम्मेलनका लागि मात्र सम्मेलन भएको भन्ने आरोप लागेको छ । एक हदसम्म यो सत्य हुन सक्छ । तर यो सम्मेलनले सहकारी क्षेत्रको वर्तमान समस्यालाई सम्बोधन गर्ने छ र आगामी दिनमा सहकारीलाई राम्रोसँग सञ्चालनको लागि अभिपे्ररित गर्नेमा हामी ढुक्क छौं । सहकारीले विश्वका कतिपय देशमा ठुलाठुला उपलब्धी भएका छन् । हामीले पनि ती देशबाट पाठ सिकेर सहकारीले राम्रो काम गर्न सक्छ, सदस्य र राष्ट्रको आर्थिक उन्नतिमा सघाउन सक्छ भन्ने सकरात्मक सोचका साथ अगाडि बढ्नुपर्छ । त्यसै सोचकासाथ सम्मेलनमा सहभागी भइदिनुहुन मेरो अनुरोध छ ।
प्रदेशमा सहकारीमार्फत् थुप्रै उत्पादनको काम भएका छन् तर त्यसको हामीले प्रचार गर्न सकेका छैनौं । सिन्धुपाल्चोकमा सहकारीले कफी उत्पादन गरेर निर्यात समेत गरिराखेको छ । दुग्ध उत्पादन, तरकारी तथा फलफूल, जुनार, मह उत्पादन र बजारीकरणमा समेत सहकारीले काम गरेका छन् । सहकारीमार्फत् भएका यी कुरालाई पनि सम्मेलनमा समेट्छौं । सम्मेलनले राम्रा कुराको प्रचारप्रसार गरी सहकारी क्षेत्रमा सकरात्मक वातावरण बनाउन समेत मद्दत गर्नेछ । सम्मेलनमा बागमती प्रदेशको १३ वटै जिल्लाबाट सहभागिता रहने भए पनि काठमाडौं, भक्तपुर, ललितपुर ,काभ्रे, दोलखा र चितवनबाट अलि बढी सहभागी हुने अपेक्षा हाम्रो छ । सम्मेलनपछि सबैको एउटै आवाज बन्नेछ । आआफ्नो कार्यक्षेत्रमा काम गर्ने सहकारीकर्मीको लागि एउटै नीतिनियम बनोस् र ढुक्कले काम गर्ने वातावरण बन्न सघाउनेछ ।
मुलुक संघीयता गएपछि पहिलो पटक प्रथम बागमती सम्मेलन आयोजना गर्न लागिएकाले यो ऐतिहासिक हुनेछ । त्यसका साथै स्थानीय, प्रदेश र संघीय सहकारी हेर्ने निकायहरुको समेत सहभागिता हुने र नीति नियमका बारेमा बहस तथा पैरवी हुने भएकाले पनि यो सम्मेलन उपलब्धिमूलक हुनेछ । सम्मेलनमा बचत ऋणको बाहेक उत्पादन र बजारीकरणमा लागेका सहकारी र तिनले उत्पादन गरेको वस्तुलाई समेत सहभागी गराइने हुँदा यस अघिका सम्मेलनहरु भन्दा फरक हुनेछ ।
(कुराकानीमा आधारित)
नेपालपत्र संवाददाता