भक्तपुर। बागमती प्रदेश अन्तर्गत रहेका जिल्ला बचत तथा ऋण सहकारी संघहरुको पहिलो ‘वि क्यान वर्कशप’ भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना तथा बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा वर्कशप भएको हो ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले सुशासन र दिगोपनका लागि बागमती प्रदेश सरकारसंगको सहकार्यमा सञ्चालित स्तरिकरण कार्यक्रम ‘कोशिस’ अन्तर्गत विषयगत संघ समूहकोे पहिलो सार्थक एवम् नविनतम व्यवस्थापन कार्यशाला ‘वि क्यान वर्कशप’ गरिएको हो ।
कार्यक्रमको शुरुवात गर्दै प्रमुख अतिथि बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले संघमा आवद्ध रहेका सहकारी संस्थाहरुमा समस्या नरहेको बताए । अरुलाई सिकाउन पहिले आफू दक्ष हुनुपर्ने र त्यसैका लागि संयुक्त सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषयगत संघहरुको लागि स्तरीकरण कार्यक्रम विकास गरिएको उनले जनाए । सो कार्यक्रमले संघको स्तरीकरण भई सदस्य सेवामा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जिल्ला बचत तथा ऋण सहकारी संघमा आबद्ध रहेका संस्थाहरुलाई माथिल्लो संघहरुले आफ्नैे सदस्यको रुपमा गणना गर्न सक्ने कानुनी व्यवस्था गर्न सके प्रारम्भिक संस्था बहुसंघमा सदस्यता लिने परिपाटीको अन्त्य हुने भनाइ राखे । सहकारीको कारोबारका कारण राज्य ग्रे लिष्टमा परेको गलत भाष्य निर्माण भएको उनले बताए । सिक्ने सिकाउने कार्यलाई निरन्तरता दिन र विषयगत संघहरुबीच एकता कायम गरी सहकारी अभियानलाई शुद्धिकरण गर्न स्तरीकरण कार्यक्रमले टेवा पु¥याउने उनको धारणा थियो ।
बागमती प्रोस्कूनका उपाध्यक्ष कल्पना श्रेष्ठले लामो प्रयास पछि संघहरु समेत स्तरिकरण कार्यक्रममा समावेश हुन सकेकोमा खुशि व्यक्त गरिन् । भक्तपुर बचत संघका उपाध्यक्ष हरि कृष्ण बल्लले संघहरुलाई समेत स्तरिकरण कार्यक्रममा समावेश गराएर सुशासनको अभ्यास सहकार्य गर्ने उद्धेश्यका साथ सञ्चालित विषयगत संघहरुको पहिलो कार्यशाला नेपालको सहकारी ईतिहासकै पहिलो भएको जनाए ।
बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले कार्यक्रमको मोड्युल अनुसार प्रत्येक कार्यशालामा एक नविनतम विषयमा अनुशिक्षण गर्ने सन्दर्भमा व्यक्तिगत क्षमता विकासका लागि धारणा निर्माण विषयमा अनुशिक्षण गरेका थिए ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले भक्तपुर जिल्लाको परिचय सहित भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले समग्र सहकारी अभियानमा खेलेको भूमिका र उपलव्धीबारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा १० वटै जिल्ला संघ सहित बागमती प्रोस्कूनको प्रस्तुतीकरण मार्फत संघहरुको वित्तीय तथा गैर वित्तीय गतिविधिबारे जानकारी गराइएको थियो ।
स्तरिकरण कार्यक्रमका चार दृष्टिकोण वित्तीय दृष्टिकोण, आन्तरिक व्यवसायिकरणको दृष्टिकोण, सिकाई र वृद्धिको दृष्टिकोण र सदस्य दृष्टिकोणमा आधारित भई प्रस्तुतिकरण रहेका थिए । प्रदेशको साझा सम्पत्ति स्वरुप व्यक्तिगत क्षमता विकासका लागि धारण निर्माण, दबाब परीक्षण र प्रभावकारी कार्य मूल्य गरी तीन वटा विषयका पाठ्यक्रम तयार गर्ने बारेमा छलफल गरिएको थियो ।
नेपालपत्र संवाददाता