बुधबार, भाद्र ३ गते २०८३

सत्ता स्वार्थले ल्याएको अकल्पनीय संकट र समाधान

आषाढ ११, २०७८ शुक्रबार
सत्ता स्वार्थले ल्याएको अकल्पनीय संकट र समाधान

Lok narayan Subedi.jpg

लोकनारायण सुवेदी

 

विगत होस् कि बर्तमान होस् नेपालको सत्ता राजनीति कुरूप र अबिश्वसनीय बनेको हाम्रो कटु इतिहास छ । धेरै टाढा नगइकन नेपालको नयाँ संविधान बनाउने, नयाँ नॆपाल निर्माण गर्ने र नेपाली जनताको भाग्य र भबिष्य सुनिश्चित र सुखद तुल्याउने भनेर बाँडिएको सपना पहिलो संबिधान सभाको अवसानले देश क्षतबिक्षतपूर्ण र घोर अन्यौलको स्थितिमा पुगेको हो  । त्यति मात्रै होइन त्यतिबेला जनताका बीच नराम्रोसँग बैमनस्यताको बीजारोपण गरिएको थियो । जनतालाई त्यसरी खण्डित गर्ने र एक आपसमा सन्देह र अबिश्वासको बिषाक्त जहर घोल्ने काम कसले कुन उदेश्यले किन गरिरहेको थियो अत्यन्तै गम्भीर र संबेदनशील प्रश्न खडा भएको हो  र त्यसको तुष अहिलसम्म पनि रहेकै छ । त्यस स्थितिमा खडा गरिएको दोश्रो संबिधान सभाबाट जस्तो संबिधान बन्यो  र लागु भयो त्यसको परिणाम आज सबैका सामु प्रकट भएकै छ ।

आजको नेपाल हिजोको नेपालबाट बिकसित भएर आएको हो र त्यो नेपाली जनताले आपसी एकताको बलमा निर्माण गरेको हो । नेपाल निर्माण गर्ने कुनै कालखण्डमा एउटा अगुवा थियो होला कुनै कालखण्डनमा अर्को । तर त्यसको मूलभूत अन्तरबस्तु भने नेपाली जनताका बीचको एकता, सद्भाव, सहिष्णुता र परस्पर सहयोगी भावना नै हो । अरु कुनै कुरा होइन । वास्तवमा नेपालको अस्तित्व नेपाली जनताको यही एकताको ऊर्जाको आधारमा टिकेको हो र टिकीरहने छ । यो नेपालको इतिहासले प्रमाणित गरिसकेको बस्तुगत यथार्थ हो ।

तर कुरा यतिमात्र होइन नेपाली जनतालाई कमजोर तुल्याउने र उनीहरुमाथि हालहुकुम चलाउने सामन्ती तानाशाही होस या अर्थसामन्ती नब सामन्ती तानाशाही त्यसको बिरुद्ध नेपाली जनता एकजुट भएर लडेका हुन् र एक पछि अर्को तानाशाहीलाई ढाल्दै अघि बढेका हुन् । नेपाली समाजमा उत्पन्न अन्तरबिरोधको पहिचान र त्यसको समाधान पनि नेपाली जनताले आफ्नो एकताको बलमा नै खोजी गरेका हुन् र सफलता पनि पाएका हुन् । हामीले नेपालको निर्माण गर्ने र नेपाली जनतालाई एकताबद्ध तुल्याउने इतिहासको खोजी गर्दा गोपाल, महिषपाल, किराँत, लिच्छवी, मल्ल, शाह काल राणा कालसम्मको इतिहासका केश्रा केश्रा केलायौ भने त्यहाँ जनता परिवर्तनको पक्षमा ( सकरात्मक दिशामा देशलाई अघि बढाउने पक्षमा एकाकार भएर अघि बढेको अत्यन्तै असल परम्परा रहेको हामी पाउदछौ ।

नेपाल एकीकरणको पछिल्लो कालखण्डमा रसद पानी नपाउँदा पनि देशको निमित्त शत्रुका सामु नझुकी नालापानीमा बृटिश साम्राज्यावादसँग लडने नेपाली बीर बिरांगनाहरु बीर बलभद्र अमरसिह थापा आदिको नाम लिदा हामीले गर्ब गरेको के ब्यर्थ हो रु बृटिश साम्राज्यबाद बिरोधी देशभक्त भाइभारदारलाई कोतपर्बमा सिध्याएर एकतन्त्री जहाँनियाँ राणा शासनको सुत्रपात गरेको निकै बर्ष पछि नै भए पनि त्यसको बिरुद्ध उत्रिएका आदि शहीद लखन थापाप्रति सम्मानपूर्ण सम्झना गर्नु के निरर्थक हो र रु अनि राणा शासन बिरोधी प्रातस्पमरणीय अमर शहीदहरु गंगालाल दशरथ चन्द धर्मभक्त शुक्रराज शास्त्रीहरुको अमरत्वप्रति आस्था र शतत श्रद्धाको फूल चढाउनु के अनर्थ हो रु अनि के राजाको निरंकुश सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरुद्ध लड्दा अमरत्व प्राप्त गरेका त्यस संघर्षमा लाग्दा बर्षौबर्षसम्म जेलमा सडेका र प्रवासको पट्यारलाग्दो पीडा खेपेका नेपाली बीर बिरांगनाहरुप्रति गर्ब गर्नु नकाम हो रु अनि निरंंकुश शोषण र अन्याय गर्ने राजतन्त्रका बिरुद्ध अन्तिम संघर्षमा नेपाली जनता एकाकार भएर सडकमा महासागरजस्तै उर्लिएको पछिल्लो इतिहास पनि ब्यर्थ हो रु 

वास्तवमा आज यी सबै कुरालाई उपेक्षा गर्ने गराउने अत्यन्तै संकीर्ण पुरानै सामन्ती तथा साम्राज्यबादी साम्प्रदायिकता मुलुकमा चलाइएको छ । आफ्नो जातलाई मात्र हेर्ने अरुलाई नहेर्ने्र मानसिकता वास्तवमा यस्तै सामन्ती नबसामन्ती तथा साम्राज्यबादी साम्प्रदायिकताको उपज बाहेक अरु केही होइन । बिश्वले २१औं शताब्दीमा प्रवेश गरिसकेकॊ तेश्रो दशकमा पनि गणतन्त्रमा प्रवेश गरेको नोपलको यो दुर्दशाा देखेर बिश्वको सभ्य समुदायले के भन्ला १ अनि हाम्रो भावी पुस्ताले हामीलाई कसरी मूल्यांकन गर्ला यो कुरा आज ठूलो चिन्ता र गम्भीर चासोको बिषय बनेको छ । हो देशमा राजनीतिक निरंकुशता मात्रै छैन र थिएन । यहाँ जातिय निरंकुशता पनि थियो सामाजिक निरंकुशता पनि थियो । साँस्कृतिक निरकुशतमा पनि थियो र क्षेत्रीय निरंकुशता पनि थियो । आर्थिक निरंंकुशतमा पनि थियो । यी सबै निरंकुशता मिलेर केन्द्रिय सामन्ती बर्गको निरंकुशता खडा भएको थियो र त्यसलाई आड भरोसा दिने बाह्य साम्राज्यादी साम्प्रदायिक शक्ति थियो जसको आधारमा नेपालमा सामन्ती निरंकुशता टिकेको थियो र  त्यस सामन्ती निरंकुशता र साम्प्रदायिकताका बिरुद्ध नेपाली जनता निरन्तर कुनै न कुनै रुपमा संघर्ष गर्दै आएका पनि थियो ।

 पछिल्लो संघर्षको परिणामा हामीले देख्यौं । नेपाली जनता पहिले कहिलेभन्दा राम्रोसँग बिजयी बनेका थिए । नेपालमा गणतन्त्र आयो । धर्मनिरपेक्षता आयो । संघीयता आयो । यी सबै सामन्ती राजतन्त्रको अन्त्य भएको सन्देशको रुपमा आएका नेपाली जनताका बिजयका प्रतीक कुरा हुन् र रहने छन् । तर आज एक वा अर्को बहानमा यी नै कुराको प्रत्यक्ष या परोक्षा बिरोध भइरहेको छ । घुमाईफिराई सामन्ती ब्यवस्थालाई मलजल गर्ने साम्राज्यवादी शक्तिका लागि स्थान बनाइदिने तर नेपाली जनतालाई फेरि पनि निरीह नै राख्ने खतरनाक प्रपञ्च चलिरहेको छ । त्यसैले नेपाली जनताको एकता जुन उनीहरुको बिजयको एक मात्र सशक्त ऊर्जा हो माथि प्रहार गरिदैछ । गणतन्त्र धर्मनिरपेक्षता र संघीयतालाई जनता बलियो बनाउने साधन होइन उनीहरुलाई बिभाजन गर्ने खण्डित तुल्याउने र एक आपसमा लडाउने र देशको अस्तित्व नै मेट्ने माध्यमकोरुपमा अत्यन्तै गलत किसिमले दुरुपयोग गर्न खोजियो र गरिदै छ ।

वास्तवमा यो कुरा नेपाल र नेपाली जनताको हितमा बिल्कुलै छैन । यो सामन्ती नबसामन्ती तथा तिनलाई आडधाप दिए जस्तो गरेर नेपाललाई आफ्नो मुठ्ठीमा राख्न चाहने साम्राज्यवादी शक्तिको हितमा मात्रै छ । त्यसैले यतिबेला नेपाली जनता अत्यन्तै सजग सचेत र संगठित भएर आपसी एकतालाई सुदृढ र सशक्त तुल्याउन अग्रसर हुनै पर्दछ । यसरी मात्र उनीहरुले आफुले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको गणतन्त्र धर्मनिरपेक्षता र संघीयतालाई बचाउन र देशलाई सही र थप अग्रगामी  दिशामा अघि बढाउन सक्नेछन् । त्यसैले जनताको एकतालाई तोड्ने द कुनै पनि हर्कतलाई दृढतापूर्वक बिरोध गर्नु पर्दछ । त्यही नै नयाँ नेपाल बनाउने तर्फको मूलभूत प्रस्थान बिन्दू हो । नेपाली जनताको एकता, सद्भाव सहिष्णुता र सहयोगी भावनालई ध्वस्त पारेर नयाँ नेपाल कदापि बन्न सक्तैन । त्यो त फुटाउने र शासन गर्ने कुत्सित षडयन्त्रकारी प्रपञ्च मात्रै हो । अहिलेको शासक बर्गीय सत्ताको खिचातानी हो, त्यसैको प्रतिबिम्ब मात्र हो,अरू  केही होइन ।

तर जनताले ठूलो बिश्वास र भरोसा गरेको राजनीतिक नेतृत्व अहिले जसरी भस्मासुर तरीकाले एक पछि अर्को अराजकता, अन्यौल र दिशाहीनता सिर्जना गरिरहेको छ  त्यो अत्यन्तै दुर्भाग्यपूर्ण र आश्चर्यजनक कुरा छ । कुनै शक्तिको बशमा परेर या शिकार भएर जानेर या नजानेर यस्तो अबाञ्छित समस्या उत्पन्न गरिए पछि त्यसको सही समाधान खोज्नु राजनीतिक नेतृत्वको पहिलो जिम्मेवारीको कुरा हो । यद्यपि हाम्रो नेतृत्वले  समाधानको सही बाटो पहिल्याउनेभन्दा पनि उत्पन्न अन्तरबिरोधलाई आफ्नो संकीर्ण सत्ता स्वार्थको खेलमा परिणत गर्ने काम गर्दै आउँदा नै हिजोदेखि आजसम्म समस्याको खात लाग्दै गएर समाधानबिहीन र जटील स्थिति खडा हुन आएको हो । त्यसैले बिगतका सबै गल्ती कमजोरीहरुबाट मुक्त भएर इमानदार किसिमले आज राजनीतिक दलहरुले सोच्नै पर्ने भएको छ। एक पटक पुनः नेपाली जनता र देशलाई सर्बोपरी राखेर अघि बढ्नुपर्ने अत्यन्तै संबेदनशील र ज्वलन्त राष्ट्रिय आवश्यकता बन्न गएको छ । अब पनि एक वा अर्को किसिमले देश र जनतालाई धोका दिने काम भयो भने त्यसबाट निश्चय पनि अकल्पनीय दुष्पपरिणाम ल्याउँने कुरा निश्चित छ । सम्पूर्ण देशभक्त, प्रगतिशील र क्रान्तिकारी लोकतन्त्रबादी शक्तिहरू एक जुट भएर खडा हुनुको बिकल्प छैन । होसियार !