शुक्रबार, कार्तिक ७ गते २०८३

महिलाहरुमा वित्तीय पहुँच बढाउन विशेष ऋण कोषको व्यवस्था गर्नुपर्छः अध्यक्ष मल्ल


फाल्गुण २२, २०८१ बिहीबार
महिलाहरुमा वित्तीय पहुँच बढाउन विशेष ऋण कोषको व्यवस्था गर्नुपर्छः अध्यक्ष मल्ल


राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले आरक्षणलाई सशक्तिकरणमा बदल्नुपर्ने उल्लेख गरेकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंकले भर्चूअल रुपमा आयोजना गरेको महिला उद्यमशीलता विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा कार्यक्रमको उद्घाटन गर्दै उनले महिलाहरूलाई सधैं आरक्षणमा निर्भर हुनुको साटो आफैंलाई सक्षम बनाउँदै प्रतिस्पर्धी बन्न आग्रह गरिन् । उनले भनिन्, ‘सधैं आरक्षणमा भर पर्ने भन्दा पनि महिलाले आफैंलाई सशक्त बनाएर प्रतिस्पर्धामा अब्बल बनाउनु पर्छ ।’ 

मल्लले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूको वित्तीय पहुँच वृद्धि गर्न सहकारी तथा बैंकहरूले सहुलियतपूर्ण ऋण प्रणालीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रिय सहकारी बैंकलाई महिलाका लागि विशेष ऋण कोषको व्यवस्था गर्न उनले आग्रह गरिन् । साथै, व्यवसाय गर्न चाहने महिलाहरूलाई धितोबिना ऋण प्रवाहको नीति निर्माण गर्न आवश्यक रहेको बताउँदै सहकारीमा महिला नेतृत्व वृद्धिका लागि आफूले पहल गरिरहेको उनले उल्लेख गरिन् ।

महासंघले प्रदेश तथा राष्ट्रिय स्तरमा ’कोसेली घर’ प्रवर्धन गरी महिला उद्यमशीलता विकासलाई गति दिने योजना अघि बढाएको जानकारी दिँदै, महिलालाई व्यवसाय केन्द्रित तालिम प्रदान गर्न सरोकारवालाहरूलाई आग्रह गरिन् । 

नेपालमा महिला सहभागिता वृद्धि भएको उल्लेख गर्दै उहाँले संसदमा ३३.१ प्रतिशत महिला प्रतिनिधित्व रहेको र निजामती सेवामा २८.७ प्रतिशत महिला कार्यरत रहेको तथ्य प्रस्तुत गरिन् । यस्तै, सामुदायिक विद्यालयमा ३७.९७ प्रतिशत महिला शिक्षक रहेको र सुरक्षा निकायमा २१ हजारभन्दा बढी महिलाहरू कार्यरत रहेको तथ्यांक दिएकी थिइन् ।