ग्रीसका प्राचीन दार्शनिक प्लेटो प्रसिद्ध गुरु सोक्रेटिस (सुकरात) का चेला र अर्का प्रसिद्ध दार्शनिक एरिस्टोटलका गुरु हुन् । उनको यकिन जीवनकाल कहिले हो, भन्न नसकिए पनि इशापूर्व ४२८ देखि ३४७ को बीच भएको वैज्ञानिक अनुमान छ ।
यिनी पश्चिमी जगतको पहिलो शिक्षण संस्था (प्रतिष्ठान) एथेन्स शहरमा स्थापना गर्ने इतिहासपुरुष हुन् । दर्शनशास्त्रका संस्थापक तथा गणराज्य र कानुनका पनि अधिष्ठाता प्लेटो आजका धेरै ज्ञानका विधाहरूका अग्रणी वा संस्थापक हुन् । यिनका कालजयी र वैज्ञानिक दृष्टिकोण आज पनि त्यत्तिनै स्मरणीय छन् । यिनले इटली, सिसली, इजिप्टको भ्रमण गरेको तथ्य प्राप्त आधारबाट देखिन्छ भन्छन् ।
यिनको निधन कसरी भयो भन्ने प्रश्नमा पनि मतैक्यता देखिन्न । कसैले भनेका छन्, आफ्नै ओछ्यानमा कुनै युवतीको बाँसुरी वादन सुन्दासुन्दै उनको भुसुक्क निधन भयो । कसैले कुनै बिहा भोजका बेला भएको बताएका छन् भने धेरैजसोले उनको निधन उनकै ओछ्यानमा आकष्मिक रुपमा भयो भनेका छन् ।
चन्द्रमणि गाैतम