आइतबार, आश्विन १८ गते २०८३

भूपुगोर्खाहरूको विषयमा दुई सार्वभौम देशबीचको सहमतिमा नयाँ सन्धि हुनु पर्छ ःओली


फाल्गुण ९, २०८१ शुक्रबार
भूपुगोर्खाहरूको विषयमा दुई सार्वभौम देशबीचको सहमतिमा नयाँ सन्धि हुनु पर्छ ःओली


प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती सेनाबाट पेन्सनरत भूपुगोर्खाहरूको समान पेन्सन, अधिकार र अन्य सुविधाको लागि बेलायत सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि गर्न नेपाल सरकार तयार रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा.बद्री केसीको नेतृत्वमा बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले बेलायती सेनाबाट पेन्सनरत भूपुगोर्खाहरूको समान पेन्सन, अधिकार र अन्य सुविधाको लागि बेलायत सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि गर्न नेपाल सरकार तयार रहेको  बताए ।

प्रधानमन्त्री ओलीले भने, “गोर्खा भर्तीसम्बन्धी नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धिको सान्दर्भिकता तत् समय अनुकुल थियो तर अब दुई सार्वभौम देशबीचको सहमतिमा नयाँ सन्धि हुनु पर्छ ।” अध्यक्ष डा .केसीले नेपाल, भारत, र बेलायतबीच भएको त्रिपक्षीय सन्धिअनुसार सबै सैनिकहरूलाई समान पेन्सन र सेवा–सुविधा प्रदान गरिनुपर्ने व्यवस्था भए पनि ब्रिटेन सरकारले गोर्खाहरूलाई सो अधिकारबाट वञ्चित गरिरहेको  भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । अध्यक्ष डा केसीले  भने, ‘यो विषय राष्ट्रिय महत्वको भएकोले नेपाल–बेलायत सरकारबीच वार्ता जारी रहेको छ । तर, हालसम्म २४ वटा प्रविधिक बैठक र ४ वटा मन्त्रिस्तरीय वार्ता सम्पन्न हुँदासमेत ठोस निष्कर्ष निस्कन सकेको छैन। त्यसैले, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक तहमा शीघ्र पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

  डा .केसीले संघको गोर्खा समन्वय समितिका संयोजक चन्द्र गुरुडलाई आगामी दिनमा हुने वार्ता समितिमा प्रतिनिधिका रुपमा राख्न समेत अनुरोध गरे । नेपालको २१० वर्षको इतिहासमा गोर्खाहरूले सधैं देशको गौरव बढाउँदै मातृभूमिलाई विश्वभर चिनाउँदै आएका छन्। उनीहरू भविष्यमा पनि मातृभूमिको गरिमा अभिवृद्धि गर्न प्रतिबद्ध छन्। तर, समय, परिस्थिति, र अन्तर्राष्ट्रिय सन्धिहरूका कारण कतिपयलाई अन्य मित्र राष्ट्रको नागरिक बन्ने बाध्यता आइपरेको छ ।