कोशी प्रदेशका ४० प्रतिशत सहकारीले मात्र नियमनकारी निकायमा विवरण बुझाएको भेटिएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाको नियमन क्षेत्रमा रहेका ५० प्रतिशत सहकारी संस्थाले पनि रजिस्ट्रार कार्यालयमा विवरण नै बुझाएका छैनन् ।
उक्त कार्यालय मातहत कोशी प्रदेशका एक हजार ७७ वटा सहकारी संस्थाको नियमन तथा अनुगमन हुँदै आएको छ । एउटा पालिकाभन्दा बढी कार्यक्षेत्र भएका सहकारी संस्थाको अनुगमन तथा नियमनको जिम्मा प्रदेश रजिस्ट्रार कार्यालय मातहत रहने व्यवस्था छ । सहकारी संस्थाहरुले हरेक वर्षको पौष मसान्तभित्र वार्षिक साधारणसभा सम्पन्न गरी अघिल्लो वर्षका पारित विवरणहरु सम्बन्धित नियामकलाई बुझाउनुपर्ने व्यवस्था सहकारी ऐन २०७४ ले गरेको छ ।
प्रदेश अन्तर्गतका १४ जिल्लामध्ये भोजपुर र सोलुखुम्बुका कुनै पनि सहकारी संस्थाले आर्थिक वर्ष २०८०।८१ को विवरण हालसम्म नबुझाएका देखिएकाे छ। रजिस्ट्रार कार्यालयको तथ्याङ्क अनुसार भोजपुरमा २३ र सोलुखुम्बुमा १४ वटा विभिन्न प्रकृतिका सहकारी संस्था रहेका छन् । रजिस्ट्रारको कार्यालयका अनुसार माघ २८ गतेसम्ममा प्रदेशका ४१३ वटा सहकारी संस्थाले मात्र विवरण बुझाएका छन् ।
रजिस्ट्रार कार्यालयको तथ्याङ्क अनुसार झापाका ३३३ वटा सहकारी संस्था प्रदेशको नियमन क्षेत्रमा रहेका छन् जसमध्ये १४७ वटाले विवरण बुझाएका छन् । मोरङका १६५ वटा सहकारी संस्थाले विवरण बुझाएका छन् । मोरङमा प्रदेश कार्यालयको नियमनभित्र २७७ वटा सहकारी संस्था रहेका छन् ।
यसै गरी सुनसरीका १३१ मध्ये ५१ वटाले, इलामका ६६ मध्ये १६ वटाले, तेह्रथुमका ३४ मध्ये छ वटाले विवरण बुझाएका छन् । यस्तै धनकुटाका २९ मध्ये आठले, सङ्खुवासभाका २३ मध्ये चारले, ताप्लेजुङका २१ मध्ये तीनले, खोटाङका २२ मध्ये दुईले, ओखलढुङ्गाका २५ मध्ये दुईले, उदयपुरका ३२ मध्ये चार र पाँचथरका ४७ मध्ये पाँच वटाले विवरण बुझाएका छन् ।
रजिस्ट्रार कार्यालयले माघ २८ सम्ममा १६६ वटा सहकारी संस्थालाई जरिबाना गरेको छ । जरिवानाबाट एक लाख २१ हजार एक सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।
कोशी प्रदेशमा बचत तथा ऋण सहकारी ४४७ वटा, बहुउद्देश्यीय १८१ वटा, कृषि २३८, दुग्ध २९, विद्युत् तथा वैकल्पिक ऊर्जा १७, सञ्चार १८, विशिष्टीकृत सहकारी सङ्घ चार, विषयगत सहकारी सङ्घ ६२ र विविध ८१ वटा सहकारी संस्था रहेका छन् । आव २०७९र८० मा पाँच सय सहकारी संस्थाले विवरण बुझाएका थिए भने ५७७ वटाले विवरण बुझाएका थिएनन् ।
नेपालपत्र संवाददाता