शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेश कार्यालय पोखराकाे अर्थमन्त्रीद्वारा उद्घाटन


फाल्गुण ४, २०८१ आइतबार
राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेश कार्यालय पोखराकाे अर्थमन्त्रीद्वारा उद्घाटन


 
माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखरा र शाखा कार्यालय पृथ्वीचोकको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले बैंकबाट सबै सेवाग्राहीहरुलाई विश्वासनीय र सहज ढङ्गले सेवा प्राप्त हुन सकोस् भनी शुभकामना दिए । सरकारको स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समयसापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई निर्देशन दिए । 

राष्ट्रिय वाणिज्य बैँक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले आधार दरमा थोरै मात्र प्रिमियम जोडेर एकल अंकमा ब्याजदर कायम गरेको बताए । सस्तो ब्याजदरको फाइदा उठाउँदै व्यवसायीहरुलाई कर्जा लिएर देशको आर्थिक विकासमा योगदान गर्न आव्हान गरे । प्रतिस्पर्धी बजारको माग अनुसार बैँकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको उनले बताए । 

कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्याल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख दिपकराज लामिछाने, बैंक सञ्चालक समिति सदस्य प्रा.डा. रामप्रसाद ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, प्रादेशिक प्रबन्धक पुष्पचन्द्र थापा, कम्पनी सचिव प्रमोद अधिकारी, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको पूर्वसंध्यामा वित्तीय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैँकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर लगायतका अन्य मोबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।