बुधबार, भाद्र ३ गते २०८३

"मलाई झुन्ड्याएको बेला कोही नरुनू, डोरी सुरक्षित राख्नु, म फर्केर आउनेछु।" शहीद लखन थापा मगर


फाल्गुण २, २०८१ शुक्रबार
"मलाई झुन्ड्याएको बेला कोही नरुनू, डोरी सुरक्षित राख्नु, म फर्केर आउनेछु।"  शहीद लखन थापा मगर

मलाई झुन्ड्याएको बेला कोही पनि नरुनू सूर्ता नगर्नू,....मलाई झुन्ड्याएको डोरी सुरक्षित राख्नु, म एक दिन फर्केर आउनेछु....
: शहीद लखन थापा मगर

नेपालका प्रथम शहीद कोहो भन्ने विवाद जिउँदै छ । लखन थापा मगर (वि.सं. १८९१–१९३३) भन्दाअघि कोही पनि शहीद नभएको पृष्ठभूमिमा उनलाई प्रथम शहीद मान्नुपर्छ भन्ने आवाज न्यायोचित देखिन्छ । त्यसो त प्रधानमन्त्री के.पी शर्मा ओलीले लखन थापा प्रथम सहिद होइनन्, जंगबहादुर विरोधी डोटीका बाँकावीर (बलदेव शाही) नै पहिलो सहिद हुन् (वि.स. १९०६) हुन् भन्ने भाषणनै गरेका थिए ।
०५६ फागुन ११ गते लखनलाई शहीद ठहर गरेको, नेपाल सरकारको हुलाक टिकट (फोटो) मा उनलाई ‘प्रथम शहीद’ उल्लेख छ । जंगबहादुर राणाका (देवीदत्त गणका) सेनाले उनलाई बि.सं. १९३३ फागुन २ गते आफ्नो अन्तिम इच्छा अनुरुप आफैँले बनाएको दरबारअगाडि खिर्राको रुखमा फाँसी दिएर शहीद बनाएका थिए । लखन थापाको अन्तिम विचार जस्तै जंगबहादुरको मृत्यु १९३३ फागुन ९ गते पत्थरघट्टामा रहस्यमय तरिकाले भएको थियो ।
लखन थापा सन्त ज्ञानदिल दासको जोसमनी सम्प्रदायका अनुयायी थिए । जोसमनी सम्प्रदायमा जातीपाती उचनीच नमान्ने ‘निर्गुण उपासना’ हुनेगर्छ । “जङ्गेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राही–त्राही पारिरहेको छ । जातपात छुवाछुत चर्काएको छ । जङ्गेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ । नेपालमा सत्ययुग फिराउ, मनकामना देवीले मलाई बरदान दिएकी छन् । भाई हो तयार होऔँ......” भन्दै गाउँलेलाई भेला गराउँदै चेतना फैलाएर संगठित हुन आह्वान गर्दै हिँड्दथे ।
जङ्गबहादुरको शासन नमान्ने भनी उनले गोर्खाको बुङ्कोट काहुले भङ्गारमा ठूलो किल्ला, तीनतले दरबार, पिटी तथा परेड खेल्ने टुँडिखेल बनाउनुका साथै विद्रोहका लागि आवश्यक हातहतियार पनि जम्मा गरेका थिए । वि.स. १९३३ मा आफ्नै नेतृत्वमा २ हजारजति युवाको सैनिक सङ्गठन गरे । उनले गोरखामा राजद्रोही सरकार खडा गरी स्वयं त्यसको मुख्तियार (प्रधानमन्त्री) बनी जयसिंह चुमी राना मगरलाई जनरल (सेनापति) र अन्य सहयोगीमा लमजुङ्का सुपति गुरुङ्द्वय र रुम्जाटारका सन्त ज्ञानदिल दास, ब्राम्हण कालु लम्साललाई मन्त्री बनाएका थिए ।
बुङ्कोटमा देवीदत्त गणसँग लखन थापाका लडाकुहरूको दोहोरो भिडन्त भएपछि उनलाई बाँधेर बासँको खोर बनाई काठमाडौँ पुर्याएर निर्मम यातना दिइयो । ज्ञान दिलदास र कालु लम्साल बाहुन भएको हुनाले मृत्युदण्डबाट जोगिएको भनिन्छ । अर्को खोज अनुसार जंगबहादुरले ज्ञानदिल दासलाई पक्राउ गरी अनुसन्धान गर्दा उनी लखनको योजनामा सरिक नभएकोले रिहा गरिएको पाइन्छ । लखनको विद्रोही सरकारका मन्त्री सुकदेव गुरूङ्लाई गोरखामै यातना दिएर मारियो । अन्य ५० जना सहयोगीलाई पनि गोरखाबाट काठमाडौँमा ल्याई टुडिखेलमा झुन्ड्इयो ।
लखन संसदीय प्रणालीप्रति आस्था राख्दथे तर अँग्रेज साम्राज्यवादीका कट्टर विरोधी थिए । उनी १९११ मा २० वर्षको उमेरमा मगरहरूको पल्टन भनिएको देवीदत्त गणमा भर्ती भएर क्याप्टेनसम्म भएका थिए । अस्त्रशस्त्र, घोडचडी, सैन्य संगठन लगायत तान्त्रिक विधामा पनि लखन निपुण थिए ।
मारिने बेलामा उनले भनेका थिए, “म मरेको सात दिनपछि त्यो जङ्गे पनि मर्नेछ । मलाई झुन्ड्याएको बेला कोही पनि नरुनू सुर्ता नगर्नू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नु । यदि त्यसै सुकेर सानो–सानो भई झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिँउदै छ भनेर जान्नु । मलाई झुन्ड्याएको डोरी सुरक्षित राख्नु, म एक दिन फर्केर आउनेछु ।”
_____________
(मूख्य स्रोत : कान्तिपुर, २०६४ फागुन ४ शनिबारको अंकमा सञ्जोग लाफा मगरको लेख ‘नेपालका प्रथम सहिद'।)

साभार : गाैतमजीकाे मुहारपुस्तिका