भक्तपुर । सरकारले हालै ल्याएको सहकारी सम्बन्धी अध्यादेश अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त प्रतिकूल रहेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जनाएका छन् ।
संघको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउनुको मनाशयको विरोध जनाएका हुन् । सदस्यको बचत सुरक्षा र सदस्य केन्द्रीत समुदायिक सहकारी संस्थाको हितमा अध्यादेश जारी हुनु पर्नेमा उल्टै संसद नै छलेर सहकारी ठगलार्ई पृष्ठपोषण गरेको उनको भनाई छ । सहकारी समुदायको भएकोले समुदायिक सहकारी संस्थालाई प्रोत्साहन हुने गरी बचतको सिमा कायम गर्नु पर्ने उनको भनाइ छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम संघले सञ्चालन गरेकाे हाे । संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले बचत तथा ऋण सहकारी संस्थाको मुख्य काम सदस्यबाट बचत स्विकार्ने र ऋण लगानी गर्नु रहेको जनाए ।
ऋण लगानी गरेका रकम समयमै सावाँ व्याज फिर्ता भएन भन्ने संस्था संचालनमा समस्या भई सदस्यको बचत फिर्तामै समस्या हुने हुदाँ संस्थाले ऋण लगानीमा विशेष ध्यान पुर्याउनुपर्ने उनको भनाइ थियो । तालिमले ऋण लगानीको प्रभावकारी व्यवस्थापन र जोखिम न्यूनिकरणका असल अभ्यासका सिकाईबाट संस्थामा सुरक्षित ऋण लगानी गर्नमा सहयोग पुग्ने कुरा उल्लेख गरे ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा बचत संगै ऋण लगानी सुरक्षित हुनुपर्ने भन्दै सहकारी सदस्यको विश्वास अडेकाले सदस्यको विश्वास जित्ने ढंगबाट सुरक्षित ऋण लगानी तथा असुलीमा ध्यान दिनुपर्ने औंल्याए ।
जारी अध्यादेश र निर्देशन तथा मापदण्ड मस्यौदामा व्यवहारिक रुपमा संशोधन गर्नुपर्ने कुराहरु रहेको र उक्त कुराहरुको संशोधन गर्न गराउन बहस पैरवी तथा विरोध गर्न सकिन्छ तर कानुनको पालना गर्दिन भन्न नमिल्ने उल्लेख गरे । अध्यादेशले सहकारीको ऋण सुरक्षित गर्न कर्जा सूचना केन्द्र र कर्जा सुरक्षण कोषमा आवद्ध हुन सकिने कानुनी व्यवस्था हुनु सकारात्मक रहेको उनको भनाई थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । तालिममा संघका सदस्य संस्थाहरुबाट २० जनाको सहभागिता रहेको थियो ।