मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक साधारण सभा शुरु गरेको छ । संस्थाले सीमित व्यक्तिको उपस्थितिमा २८औं साधारण सभाको उद्घाटन गरेको हो । संस्थाका अध्यक्ष नारायण बहादुर
श्रेष्ठको सभापतित्व एवं जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंको प्रमुख आतिथ्यतामा साधारण सभाको शुरुवात गरिएको हो ।
कार्यक्रमको अतिथिहरुमा संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ, निवर्तमान अध्यक्ष कृष्ण बहादुर दाहाल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौलागाईंले ग्रामीण सर शहरोन्मुख क्षेत्रमा रहेका गरिब विपन्न र कमजोर आयस्तर भएका बासिन्दाहरुको आर्थिक स्तर उकास्न सहकारीको महत्पूर्ण भूमिका रहेको बताए । मिलिजुली सदरमुकाममा स्थापना भएर आसपासका जनतालाई वित्तीय लगायतका अन्य सेवा दिँदै आएको र जनसचेतन सहकारीले ग्रामीण क्षेत्रमा स्थापना भएर आसपासका ग्रामीण जनतालाई सेवा पुर्याउँदै आएको उनले उल्लेख गरे । दुवै संस्था एकैसमयमा स्थापना भएर स्वस्थ प्रतिस्पर्धामार्फत जिल्लाभरका जनतालाई वित्तीय पहुँच अभिवृद्धि र आर्थिक, सामाजिक रुपान्तरणमा टेवा दिँद आएको उनले जनाए ।
संस्थापक अध्यक्ष रामदास श्रेष्ठले संस्थाको शुरुवाती अवस्थाको सम्झना गर्दै हालसम्म आइपुग्दा संस्थाले प्राप्त गरेका उपलब्धीका बारेमा चर्चा गरेका थिए । संस्थाका सचिव ठाकुरप्रसाद पाठकले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन तथा चालु आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस आ.व. मा सदस्यहरुमाझ वित्तीय साक्षरता एवं वित्तीय समावेशिता, उत्पादन तथा सेवामा विविधिकरण, सदस्यद्वारा उत्पादित वस्तुको बजारिकरण र कृषकसँग मिलिजुली कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।
संस्थाका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले आ.व. २०७७।०७८ को आर्थिक प्रतिवेदन तथा चालु आ.व.को प्रस्तावित बजेट तथा प्रक्षेपित कारोबार सभामा प्रस्तुत गरेका थिए । गत आर्थिक वर्षको असारमसान्तसम्म संस्थाको शेयरपुँजी ९ करोड २२ लाख, बचत ८६ करोड, ऋण लगानी ९२ करोड ६ लाख, कोषहरुमा ९ करोड ९७ लाख, स्थिर सम्पत्ति ४ करोड १९ लाख रहेको जानकारी दिए ।
संस्थामा ३४९४३ सदस्य आवद्ध रहेका छन् । संस्थाकी उपाध्यक्ष सरुणा बस्नेतले उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । संस्थाले २ चरणमा साधारणसभा सम्पन्न गर्ने जनाएको छ । सदस्यहरुको सहज उपस्थितिका लागि संस्थाले कार्तिक ४ गते जिल्लाका विभिन्न ११ ठाउँ र ६ गते १५ स्थानमा सदस्य उपस्थिति एवं प्रतिवेदन वितरण गर्ने जनाएको छ । सदस्यहरुले दिएको सल्लाहसुझावलाई समेटेर कार्तिक १३ गते साधारणसभा समापन गर्ने संस्थाले उल्लेख गरेको छ ।
मुख्य कार्यालय सहित ८ वटा सेवाकेन्द्रबाट सदस्यहरुलाई प्रविधिको प्रयोग गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएको संस्थाले ४ वर्षे रणनीतिक योजना तयार गरी अगाडि बढेको उल्लेख गरेको छ ।