शनिबार, आश्विन १७ गते २०८३

चित्तवनमा हिजाे कुटपिटबाट एक दलितकाे निधन

कार्तिक १, २०७८ सोमबार
चित्तवनमा हिजाे कुटपिटबाट एक दलितकाे निधन

हिजाे चितवनमा छिमेकीको कुटपिटबाट दलित समुदायका ५८ बर्षीय भीमबहादुर बिश्वकर्माकाे मृत्यु भएकाे छ । उनी  भरतपुर महानगरपालिका–४का निबासी हुन् । उनका छिमेकी सीताराम बस्नेत र दीलिप श्रेष्ठले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

यस घटनाकाे घटनाक्रम यस्ताे रहेकाे छ :-

दशैँको अघिल्लो दिन भीम बिश्वकर्मामाथि कुटपिट गरिएको उनका छिमेकीले बयान दिएका छन् । मधुमेह रोगी भिमले मादक पदार्थ सेवन गर्न केही वर्ष अघि नै छाडेका थिए । गाउँघरमा मिस्त्री काम गर्दै आएका र उनलेनै परिवारको जिम्मेवारी पनि आफैँ सम्हाल्दै आएका थिए । त्यो दिन बिहानको ९ बजे घरमा पाहुनाको करले भिमले थोरै भए पनि मादक पदार्थ भने सेवन गरेका थिए । त्यति  बेला उनैले हुर्काउदै आएका नातिको घरमा सम्पत्तिको बारेमा कुराकानी गर्न उनी पुगेका थिए । तर हजुरबुबाले मापसे गरेको थाहा पाएपछि नाती कुरा नगर्दै बाहिर निस्किए । त्यसपश्चात कान्छा नातिलाई हातमा समातेर भिम दीलिपको फार्मेसी तर्फ लागेका थिए । फार्मेसीमा भीम कहिलेकाँही बिरामी पर्दा औषधि, उपचारको लागि जाने गरेकोे छिमेकीहरु बताउँछन् । दीलिपले औषधि मात्रै बेच्ने भए पनि भीमले भने बिरामी जाच्ने डाक्टरको रुपमा नै सम्बोधन गर्दथे ।
 दीलिपको फार्मेसी नजिकै सीतारामको पनि घर छ । हल्का मादक पदार्थ सेवन गरेकाले पनि भीम आफ्नै कुरालाई लिएर कराईरहेका थिए । त्यस क्रममा उनले सीताराम र दीलिपको बारेमा पनि केही बोल्न भ्याए । त्यसपश्चात अश्लील शब्द बोलेको कारण भीमलाई प्लाष्ट्रिकको पाइपले सीतारामले कुटेको स्वीकार गरेका छन् । त्यस्तै दीलिपले पनि आफूलाई तथानाम गालीगलौज गरेका कारण आफूले कुटपिट गरेको जाहेरीमा उल्लेख छ । भिमले मापसेको बेला दुःखका कुराहरु मात्रै बोल्दै आएको तर अश्लील शब्दहरु नबोल्ने गरेको छिमेकीहरुको भनाई छ ।

त्यसरी कुटपिट भएको केही समयमा भीम अचेत अवस्थामा ढलेका थिए । त्यसपछि पीडक सीतारामले नै भीमलाई अस्पतालको लागि एम्बुलेन्समा लगे । अस्पताल लैजाने क्रममा भीमका कान्छा ज्वाई विकास विश्वकर्माले घटना बारे थाहा पाएका थिए । अचेत अवस्थामा ढलेका भीमलाई भरतपुर अस्पताल लैजाने भनिए पनि चितवन मेडिकल कलेजमा लगिएको थियो । तर केही समयमा नै चिकित्सकले भीमको मृत्यु भएको घोषणा गरे। 
भीमको माईली छोरीले सिएमसीमा सीतारामको आफन्त भएकोले त्यहाँ लगेपछि घटना लुकाउन सकिने भनेर सरकारी अस्पताल नलगिएको आरोप लगाएकी छन् । भीमको मृत्यु भएपछि त्यसबेला सीतारामले कुटपिट गरेको स्वीकार गरेका थिएनन् । दीलिपले सीतारामले पनि भीमलाई कुटपिट गरेको आफूले पनि धकेले बयान दिएपछि मात्रै सीतारामले स्वीकार गरेका थिए ।

भीमको कुटपिटपछि टाउकोको पछाडी भागमा चोट लागेको पोष्टमार्टम रिपोर्टमा देखिएको छ । दीलिप र सीतारामको कुटपिटबाट नै भीमको मृत्यु भएको पुष्टि भएपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा ज्यान मार्ने कसुरमा जाहेरी दिएका छन् । मृतकका आफन्तले दिएको जाहेरी चितवन प्रहरीले दर्ता पनि गरिसकेको छ भने  अनुसन्धान पनि थालेको छ । घटनाबारे सिसिटिभि फुटेज पनि सुरक्षित रहेको प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही हुने अधिकारीले दाबी गरेका छन् ।

बिश्वकर्माका आफन्तले जाहेरी दर्ता गराएपछि अनुसन्धानका लागि दीलिप र सीताराम दुवैलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको बताइएकाे छ । याे  घटनालाई हिजाे पीडित परिवार, जनप्रतिनिधिसहित छिमेकीले प्रहरी कार्यालय अगाडि धर्ना समेत दिएकाे समाचार छ।