शुक्रबार, कार्तिक ७ गते २०८३

पर्यटक स्थल बनाएर समस्याको समाधान हुन्छ त प्यालेस्टिनहरुको ?


माघ २७, २०८१ आइतबार
पर्यटक स्थल बनाएर समस्याको समाधान हुन्छ त प्यालेस्टिनहरुको ?
 
 
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलद्वारा अतिक्रमण गरेर बर्बादी र बिध्वंशको शिकार तुल्याइएको प्यालेस्टिनको पुननिर्माणको जुन ‘पर्यटक स्थल’ बनाउने प्रस्ताव अघि सारेका छन् त्यसले बिश्वका बिभिन्न देशहरुलाई निकै आश्चर्यमा पारेको देखिन्छ । बितेको १५ महिनायता गाजामा जुन बिध्वंशकारी बमबारीको महाप्रलय इजरायले मच्चायो त्यहाँ अहिले केही दिनका लागि जुन युद्ध बिराम लागेको छ र केही बन्धकहरुको रिहाईको क्रम जारी रहेकोे छ । आशा के गरिन्छ भने शान्तिको यो सीमित समयले एउटा दूरगामी संघर्ष बिरामको रुप पनि लिनसक्छ । यसै समयमा ट्रम्पले गाजाको अधिग्रहण गरेर त्यहाँ तथाकथित पुननिर्माणको प्रस्ताव पनि प्रस्तुत गरेका छन् । 
 
डोनाल्ड ट्रम्पले इजरायलका युद्ध पिपासु प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूलाई आफ्नो ह्वाइट हाउसको दोश्रो कार्यकालको पहिलो बिदेशी नेताकोरुपमा आमन्त्रण  गरे । त्यस भेटघाटको अवसरमा नै उनले के भने भने अमेरिका उनी गाजालाई आफ्नो नियन्त्रणमा लिएर त्यहाँ त्यसलाई एउटा ‘पर्यटन स्थल’कारुपमा बिकसित गर्न चाहन्छन् । ५० हजार जति मानिसको मृत्यु र लार्खौंलाख मानिसहरु युद्ध–घाइते भएको त्यो क्षेत्रलाई पर्यटन स्थल बनाउने कुरा कत्तिको मानबीय र अब्यवहारिक छ त्यस कुरालाई लिएर पनि बिश्वभरीका मानिसहरु स्तब्ध बनेका छन् ।
 
त्यो पूरै गाँजा क्षेत्र भिषण इजरायली बमबारीमा परेर खण्डहर बनिसकेको छ । अहिलेको सीमित संघर्ष बिरामको क्रममा  लाखौ प्यालेस्टिनी नागरिकहरु उत्तरी गाजामा आफ्ना खण्डहर बनेका घरहरुलाई पुनः स्याहार सुसार गर्ने प्रयत्न गरिरहेका छन् । यस्तो दयनीय स्थितिमा कुनै पनि बिश्व नेताबाट के आशा गरिन्छ भने तिनले मानबीय दृष्टिकोणको हिसाबले पीडित मानिसहरुको लागि नयाँ मानबीय र न्यायपूर्ण कदम चालोस र यथासम्भव सहयोग पु¥याउने सन्देश प्रबाह गरुन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस अपेक्षाको ठीक बिपरीत काम गरे । अन्तर्राष्ट्रिय न्यायलयको फैसला र आदेश बिपरीत  इजरायली प्रधानमन्त्री नेतान्याहूलाई अमेरिकाको सम्मानित अतिथि बनाए । अनि अफुलाई अतिथि बनाउने ती राष्ट्रपतिले गाजाका बारेमा जे जस्तो कुरा गरे  त्यस्तो कुरा त अतिथि बनेका स्वयं नेतान्याहूले पनि त्यसो भन्ने दुस्साहस शायद गर्ने थिएनन् ।  
 
Palestinequestion.webp
बास्तवमा  गाँजमा पुननिर्माणको सुझाव गएको बर्ष ट्रम्पका ज्वाईं जरेड कुश्नरले दिएका थिए । त्यतिबेला गाजामा इजरायलले मच्चाइरहेको जनसंहार प्रारम्भिक अबस्थामै थियो । तर त्यसपछि झन पछि झन त्यो बम बर्षा र बर्बादी बढ्दै गयो । आज त त्यो गाजा क्षेत्रले अनेक किसिमले चिहानघारीकै रुप लिइसकेको छ । त्यस्तो बेला र स्थितिमा कुनै पनि देशका जिम्मेवार राजनेताले गाजा क्षेत्रलाई पर्यटन क्षेत्र बनाउने सुझाव दिन नै सक्तैन ।  अझ आश्चर्यको कुरा त के छ भने ट्रम्पले र उनका समर्थकहरु  चुनाव प्रचारका बेला यस्तो बयानबाजी गरेका थिए कि उनको नयाँ प्रशासनले बिश्वमा कुनै संघर्ष शुरु गर्नको साटो  युद्धलाई अन्त्य गर्ने बिषयलाई उच्च प्राथमिकता दिनेछ । अनि के आशा दुनियाले गरेको थियो भने ट्रम्प प्रशासनले रुस र यूक्रेनमाथि दबाब दिएर त्यहाँको तीन बर्षदेखि जारी रहेको युद्ध समाप्त पार्ने कोशिश गर्नेछ । अनि त्यसै गरेर इजरायल, हमास र प्यालेस्टिनका बीच चलिरहेको संघर्ष समाप्त पार्न बाध्य तुल्यािउने छ । तर अब के बिश्वमा महसुश गरिदैछ भने ट्रम्पले इजरायलालाई बिनाशकारी युद्धको ताण्डव जारी राख्न हरियो झण्डा देखाइदिए । त्यति मात्र होइन, ट्रम्पले गाजामाथि प्रत्यक्ष अमेरिकी दख्खल हस्तक्षेप गर्ने पृष्ठभूमि तयार पारिरहेका छन् । ट्रम्पको योजना के देखिन्छ भने गाजाका लाखौ मानिसहरुलाई त्यहाबाट बिस्थापित गरेर छिमेकी देश मिस्र(इजिप्ट) र जोर्डन धपाउने छ । 
 
गाजा क्षेत्रमा बमबारीले ध्वस्त बनाएको खण्डहरको थुप्रोलाई पञ्छाएर त्यहाँ सफा गरिने र त्यहा बिश्वभरीबाट लगानी आकर्षित गरेर त्यहाँ नयाँ भवनहरुको निर्माण गरिनेछ । हुन पनि डोनाल्ड ट्रम्प मूलतः रियल इस्टेट कारोबारी हुन् । त्यसैले पनि होला उनी एउटा बिश्वको शब्तिशाली देशको नेताको हैसियफ्तलेभन्दा पनि एउटा आफ्नो पुरानो काराबारी मानसिकताले काम गर्न थालेका छन् । गाजाको पुनर्निर्माणमा  करीब एक दशकको समय लाग्ने अनुमान गरिन्छ । अनि के त्यति लामो समयसमम कुनै देशले आफ्नो देशमा लाखौलाख शरणार्थीलाई शरण दिने बोझ उठाउन तयार हुन सक्ला र ! अहिले भर्खरै त इजिप्ट र जोर्डन दुबैले प्यालेस्थिनीहरुलाई आफ्नो देशमा आश्रय दिने त्यस्तो कुनै प्रस्ताव स्वीकार पनि गरेका छैनन् । अर्को चिन्ताजनक पक्ष के पनि छ भने ट्रम्प खुलेर यसो पनि भन्दैनन् कि पुनर्निर्माण पछि सबै प्यालेस्टिनी नागरिकरुलाई उनीहरुको आफ्नो मूल स्थान मातृभूमिमा बसाइने छ । 
 
अमेरिकी राष्ट्रपति ट्रम्पको त के भनाइ रहेको सुनिन्छ भने गाजा एउटा यस्तो प्रमुख स्थल बन्न जाने छ, जहाँ बिश्वभरीमा मानिसहरु आएर बस्ने छन् । तर अमेरिका र इजरायलको पुरानो प्रबृत्तिलाई जाने बुझेका सबैले के अनुमान लगाउन बिर्सदैनन् भने नयाँ गाजामा वास्तवमा इजरायलकै बोलवाला हुनजानेछ । पुनर्निर्माणको योजना बिना सैनिक उपस्थिति सम्भव हुने झिनु सम्भावना पनि छैन । आशंका त कुन कुराको अझ ठूलो छ भने पेलिस्थिन कतै अमेरिकाका लागि दोश्रो भियतनाम नबनोस् ! 
 
यस प्रकार अहिलेको अस्थाई संघर्ष बिरामलाई स्थायी शान्तिमा परिणत गर्ने न्यायपूर्ण सर्ब स्वीकार्य समाधान खोजी गर्ने दिशामा लाग्नुको साटो पेलेस्थिनीहरुलाई कसैगरी राज्यबिहीन बनाइराख्ने र शक्तिशाली राष्ट्रहरुको मातहतमा प्यालेस्टिनी मूमिको अतिक्रमणलाई नयाँ स्वरुपमा कायम राख्ने मनशायले गतिबिधिहरु अघि बढाउन खोजिन् भने त्यो समाधान स्थाई  र दीर्घकालीन हुन सक्तैन । बरु कुनै पनि बेला युद्ध भड्किने बिध्वंश मच्चिने स्थिति कायम रहिरहन्छ ।