शुक्रबार, कार्तिक ७ गते २०८३

वित्तीय सुरक्षा र जोखिम न्यूनिकरणका लागि नेफ्स्कूनले ६५० संस्थाको नियमित सुपरीवेक्षण गर्दै


माघ २५, २०८१ शुक्रबार
वित्तीय सुरक्षा र जोखिम न्यूनिकरणका लागि नेफ्स्कूनले ६५० संस्थाको नियमित सुपरीवेक्षण गर्दै

 

काठमाण्डाै । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले स्तरिकरण कार्यक्रममा आवद्ध संस्थाहरुको सुरक्षाको लागि सदस्य सूचना प्रणाली (एमआइएस) को विकास गरेको छ । संघले जोखिममा आधारित सुपरिवेक्षण (कर्ब्स), प्रोबेशन र एक्सेस कार्यक्रममा आवद्ध ६५० भन्दा बढी संस्थाहरुलाई उक्त प्रणालीमा जोडी वित्तीय सुरक्षा र जोखिम न्यूनिकरणका लागि काम गर्दै आएको छ । 

नेफस्कूनका बरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर अधिकारीले बचत तथा ऋण सहकारी संस्थाहरुको दिगो विकासको लागि यो प्रणाली सञ्चालनमा ल्याइएको बताए । विश्वका अन्य कतिपय देशहरुमा पनि यस्तो अभ्यास रहेको र साकोसहरुलाई एकद्वार प्रणालीमा ल्याउँदा सुरक्षित र व्यवस्थित बनाएर लैजान सकिने उनले बताए । 

यो प्रणालीमा आवद्ध भएपछि साकोसहरुले उपलब्ध गराउने सेवा स्तरीय र सदस्यकेन्द्रित हुनुका साथै संस्थाहरु मूल्य, मान्यता सिद्धान्तका साथै मापदण्डमा रहेर सञ्चालन हुने हुँदा सुरक्षित रहने उनको भनाइ छ । बचत ऋण सहकारी एउटा स्टाण्डर्डमा चल्नुपर्छ भन्ने अवधारणा अनुसार नेफ्स्कूनले सञ्चालन गरेको कब्र्स, प्रोबेसन र एक्सेसमा आवद्ध संस्था उक्त प्रणालीमा जोडिएका छन् । वित्तीय क्षेत्र चञ्चले क्षेत्र भएको र संस्थाहरुमा समस्या आउन नदिनको लागि स्थिरिकरण कोष र स्तरिकरण कार्यक्रम मार्फत् बचत ऋण अभियानलाई अगाडि बढाउनुपर्छ भन्ने नेफस्कूनको धारणा रहेको उनले बताए । 

विगतमा नेफस्कूनले स्थलगत रुपमा संस्थाहरुको सुपरिवेक्षण गर्दै आएको भए पनि अहिले त्यो विधिलाई परिमार्जन गरी एमआइएस प्रणालीमा जोडिएको उनले बताए । स्तरिकरण कार्यक्रममा आवद्ध संस्थाहरुले हरेक महिनाको ५ गते सम्पूर्ण विवरण एमआइएसमा प्रविष्ट गर्नुपर्ने हुन्छ । सिष्टममा प्रविष्ट गर्नासाथ संस्थाको अवस्था के छ भन्ने नतिजा प्राप्त हुन्छ । संस्थाका कुन कुन इन्डिकेटरहरु के–कस्तो अवस्था छन् भन्ने कुरा सिष्टमले देखाउने र सुधार गर्नका लागि संस्थाहरुलाई नेफ्स्कूनको प्राविधिक टिमले सघाउने उनले जानकारी दिए । 

नेफस्कूनले सञ्चालन गरेका तीन प्रकारका स्तरिकरण कार्यक्रममा आवद्ध संस्थाहरुको नियमित अनुगमनको लागि कर्मचारीहरुको सुपरीवेक्षण टिम नै बनाएको छ । सुपरीवेक्षण टिममा रहेका कर्मचारीहरुले संस्थाहरुलाई तुरुन्त फिडव्याक पठाउने र उक्त फिडब्याकबारे संस्थाको व्यवस्थापन र सञ्चालक समितिमा छलफल गरी सुधारका लागि काम गनुपर्ने हुन्छ । मापदण्ड र सिद्धान्तभित्र सञ्चालन गरी  संस्थाहरुलाई जोखिमरहित बनाउन नेफ्स्कून लागि परेको उपाध्यक्ष अधिकारी बताउँछन् । मेम्बर इन्फरमेशन सिष्टम (एमआईएस) मा संस्थाहरुको मनिटरिङका लागि विभिन्न टुल्सहरु हुने र त्यसमा संस्थाहरुले सम्पूर्ण कागजात उपलब्ध गराएपछि त्यसकै आधारमा स्कोर प्राप्त गर्न सकिने उनको भनाई छ । 

संस्थाहरुको कार्यसम्पादन मापन गर्न, गुणस्तर सुनिश्चत गर्न र जोखिम विश्लेषण गर्न सदस्य सूचना प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको बरिष्ठ कार्यक्रम अधिकृत प्रेम वाग्लेले जानकारी दिए । सदस्य संस्थाहरूले सन्तुलन परीक्षण, सदस्य संख्या र भाखाम्यादको आधारमा ऋणको वर्गिकरणका सूचनाहरु राखिसकेपछी यसले वासलात, आय विवरण, पर्ल्स प्रतिवेदन प्रणालीले नै तयार गर्ने उनको भनाइ छ । उनले थपे, ‘प्रणालीले माग गरेको सुशासनका सूचकहरु अद्यावधिक गरेपश्चात यसले व्यवस्थापन प्रतिवेदन तयार गर्दछ । नेफ्स्कून सदस्य सूचना प्रणालीमा गुणस्तर मापनका लागि एक्सेस, प्रोबेसनको स्वःमूल्याकंन सूचकहरु रहेका छन् भने जोखिम विश्लेषणका लागि जोखिम विश्लेषणका स्वस्मूल्याकंनका सूचकहरु राखिएका छन् । साथै यस प्रणालीमा जोखिम भारित सम्पति र पूँजी पर्याप्तता मापनको गणना गर्न सकिन्छ ।’

सदस्य सूचना प्रणालीको विकास गरि कार्यान्वयनमा ल्याएको १ वर्ष भएको र हालसम्म ६५० भन्दा बढी संस्थाहरुको नियमित मासिक वित्तीय विवरणहरु संस्थाले पठाउने र सो प्रविष्टिको शुद्धता जाँच गरि त्यसलाई अप्रुभ गरिने उनको भनाइ छ । मासिक वित्तीय प्रतिवेदनको आधारमा संस्थाको वित्तीय जोखिम स्तर मापन गरी उच्च जोखिम भए रातो, मध्यम जोखिम भए पँहेलो र न्यून जोखिम भए हरियो संकेत दिइ हरेक महिनाको पल्स प्रतिवेदनहरु तयार हुने वाग्लेको भनाइ छ । उक्त प्रणालीमा सञ्चालक समिति र कर्मचारीहरुको बैयक्तिक विवरणहरु प्रविष्टि गर्न सकिने हुँदा यसबाट को कहिले कुन पदमा कति पटक रहेको भन्ने जस्ता विषय जानकारी लिन सकिने उनको भनाइ छ । 

संघले हाल ९ जना अधिकृत सहित १० जना सहायक कर्मचारीहरुलाइ ७ वटा युनिटमा विभाजन गरि  एमआइएसमा मासिक प्रतिवेदनहरु भर्न लगाउने र सो को आधारमा जोखिम विश्लेषण गरि सदस्य संघ संस्थाहरुलाइ प्रतिवेदन र परामर्श उपलब्ध गराउँदै आएको छ । नियमित अनुगमन सुपरिवेक्षलाइ  संस्थाहरुको स्थलगत सुपरिवेक्षण गरि सो को प्रतिवेदन एमआइएस बाटै दिने, स्थलगत सुझाव दिएको ९० दिनभित्रमा सुधार भए नभएको फलो अप गर्ने र सो को गैह्रस्थलगत प्रतिवेदन दिने गरिन्छ । त्यसैगरी, संस्थाले समयमै करचुक्ता लिए नलिएको, साधारण सभा समयमै गरे नगरेको जाँच गरी तथ्याकं अद्यावधिक गर्ने गरिएको छ । 

सदस्य सूचना प्रणालीको पहिलो उपयोगिता एवम् फाइदा स्वयं संस्थाले नै अनुभूति गर्नुपर्ने उनको भनाइ छ । उक्त प्रणालीले संस्थालाइ संस्थाको अवस्थाको विश्लेषण गर्न, कार्यसम्पादनको स्तर मापन गर्न, सदस्य संघसंस्थाले संघसँग सञ्चार गर्न, प्रतिवेदनलाइ भविष्यको लागि सुरक्षित राख्न एवम् चाहेको समयमा सजिलै प्राप्त गर्न, संघबाट गैह्रस्थलगत सुपरिवेक्षण सेवा प्राप्त गर्न सहज र सरल बनाउने वाग्ले बताउँछन् ।