नेपालको राजनीतिक मूलप्रवाहमा माओवादी समावेश भएपछि पनि दलतन्त्र, प्राविधिकतन्त्र, भारततन्त्र, साहुकारतन्त्र, स्वार्थीतन्त्र चल्यो, वास्तविक लोकतन्त्र भएन....: प्रो. जोहन ग्याल्तुङ्
प्रख्यात नर्वेली समाजशास्त्री, सन् ५० को दशकमा चलेको ‘नव वाम’ (New Left) वैचारिक अभियानका महत्वपूर्ण विद्वान, प्रो. जोहन फिन्सेन्ट ग्याल्तुङ् (१९३०– ) शान्ति तथा द्वन्द्व अध्ययनका प्रमुख संस्थापक शान्तिदूत हुन् । नर्वेस्थित शान्ति अनुसन्धान प्रतिष्ठान ओस्लो (Peace Research Institute Oslo; PRIO-1959) का मूख्य संस्थापक तथा १९७० सम्मका मूख्य निर्देशक र ओस्लो विश्वविद्यालय अन्तर्गत शान्ति तथा द्वन्द्व अध्ययन विभागका अध्यक्ष पनि हुन् ।
अमेरिकाको हवाई विश्वविद्यालय, अन्तर्राष्ट्रिय इस्लामिक विश्वविद्यालय मलेशियामा शान्ति तथा द्वन्द्व अध्ययनका विषयमा उनले अनुसन्धानमूलक योगदान पुर्याएका छन् । चिकित्सकका छोरा तथा नाती यी बुढाले समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, इतिहास, समष्टिगत इतिहास, मानवशास्त्र र नीतिशास्त्रमा पनि गहकिलो वैचारिक योगदान पुर्याएका छन् । दुई विहे गरेका ग्याल्तुङ्की पछिल्ली जहानचाहिं जापानी मूलकी फुमिको निशिमुरा हुन्।
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाउन पार्टीहरूको अनौठो कसरत चलिरहेको, २०६९ माघमा सपत्नी काठमाडौं आएका प्रो. ग्याल्तुङ्को प्रवचनका लागि, म संलग्न द्वन्द्व तथा शान्तिका लागि कार्यरत संस्था NTTP द्वारा होटेल सांग्रिलामा माघ १ गते आयोजित अन्तरक्रियामा बोल्ने क्रममा उनले माथिको भनाई व्यक्त गरेका थिए ।
२०५२ सालमा माओवादीले ‘जनयुद्ध’ सञ्चालन गर्नुअघि सरकारसमक्ष राखेको ४० बुँदे मागमध्ये आफू सत्तामा आएपछि एउटा मात्र पनि पूरा गर्न चुनौती दिँदै उनले भनेका थिए, “नेपालमा आमूल परिवर्तन ल्याउने कोशिश नगर्नुहोस्, स्थानीय जनसमुदायको भावना तथा आवश्यकतामाथि ध्यान दिनुहोस् ।”
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कसरतलाई उनले ‘प्राविधिकतन्त्र तिरको यात्रा, जसमा जनादेश हुँदैन जो दलतन्त्रको प्रतिक्रियाचाहिं हो’ पनि भने । ‘अर्को खिलराज उभ्याउने’ व्युहरचना त अहिले पनि उसैगरी सल्बलाईरहेको बुझिन्छ । दलतन्त्र नै बाधक भएकोले लोकतन्त्र र संघीयता पनि फस्टाउन नसकेको उनको जिकिर थियो ।
नेपाल एकदमै केन्द्रीकृत मुलुक हो, जसको शीर्षस्थानमा काठमाडौं छ । काठमाडौं राजधानीमात्र होइन, सर्वेसर्वा मनोवृत्तिको प्रतीक नै हो, जसले आफ्नो मनोमानी चलाउँदा बाँकी समाजलाई बेवास्ता गर्दैआएको छ । राजा–महाराजा, राणा, सामन्ती मालिकहरूले विगतमा यस्तै खेल खेले भने अहिले पार्टीहरू यही खेल गर्दैछन्,....जनतालाई शोषण गर्ने विषयमा भनेचाहिं पार्टीहरूबीच सहमति जुटिहाल्छ; प्रो. ग्याल्तुङ्को भनाई थियो ।
श्रवणशक्ति एकदम कम भएकोले प्रश्नकर्ताको भनाई बुझ्न, बसेको स्थानबाट जुरुक्क उठेर वक्ताकै छेउमा हत्केलो राखेर कान थाप्नुपर्ने यिनको अवस्था भए तापनि यिनका प्रखर विचारबाट म पनि प्रभावित भएको थिएँ ।
"No substantial change except ‘partyocracy’, 'Indiaocracy', 'Bankocracy', Technocracy, Autocracy has been achieved even after UCPN-Maoist joined mainstream politics, and no true democracy."
चन्द्रमणि गाैतम