भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गरेका छन्। चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटीका नाममा लामो समय देखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको भन्दै गुनासो आउन थालेपछि अर्थ तथा सहरी विकास मन्त्री स्वयम चाँगुनारायणको अवलोकनमा आएका हुन् ।
चाँगुनारायण नगरपालिकालाई एक उच्च स्तरीय नगर बनाउनको लागि उहाँहरूले अवलोकन गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । चाँगुनारायण नगरपालिका अन्तर्गत ३५ हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडि बढाइने अर्थ तथा सहरी विकास मन्त्रीले बताएको नगर प्रमुख जीवन खत्रीले बताए । उनका अनुसार लामो समय देखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको केवल स्मार्ट सिटीलाई कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोली सहित नगरपालिका क्षेत्रको अवलोकन गरेका हुन् । चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले विभिन्न समस्या झेल्नुपरेको तथा यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताए ।
अर्थ तथा सहरी विकास मन्त्रीका साथमा उपत्यका विकास प्राधिकरणका पदाधिकारी तथा नगरका सरोकारवालाहरू बिचमा भएको उक्त अवलोकनबाट छिटो भन्दा छिटो स्मार्ट सिटी कार्यान्वयनको अवस्थामा आउनेमा आफू विस्वत भएको उनको भनाई छ । स्मार्ट सिटी अन्तर्गत कहाँ अस्पताल बन्ने कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्छ साथै स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसाथ गर्दै लैजाने भन्ने विषयमा छलफल तथा अवलोकन भएको उनले जानकारी दिए । मन्त्रीहरूका साथमा भएको उक्त अवलोकनबाट चाँगुनारायणबासीमा स्मार्ट सिटीको परिकल्पना पुरा हुने आशा जागेको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उनीहरुको साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, पूर्व सचिव मनि राम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल लगायत वडा अध्यक्षहरू तथा सरोकारवालाहरूले चाँगुनारायण क्षेत्रको अवलोकन गरेका थिए ।
नेपालपत्र संवाददाता