भक्तपुर । भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि कृष्ण बल्लले सहकारी मुल्य मान्यता विपरित जारी भएकोले सहकारी अध्यादेशको विरोधमा संघ रहेको बताएका छन् । उनले अध्यादेश सदस्य केन्द्रीत समुदायका सहकारी संस्थाको अहितमा रहेको बताएका छन् ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत उपसमितिको आयोजनामा भएको सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम कार्यक्रममा मन्तब्य राख्दै उनले सहकारी पिडीतहरुको माग बचत फिर्ता भएको, अध्यादेश नभएको स्पष्ट पार्दै उनले सहकारीमा ठगी गरेका व्यक्तिहरुलाई बचाउन या संरक्षण गर्ने गरी अध्यादेश जारी भएको भन्दै त्यसमा विरोध जनाए ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा दायित्वको जोखिम सहकारीको छविसँग समेत जोडिने भएकोले सहकारीले भुक्तानी गर्नुपर्ने छोटो र लामो अवधिका दायित्वको उचित व्यवस्थापनका लागि सम्पत्ति दायित्व व्यवस्थापन तालिम महत्वपूर्ण रहेको उल्लेख गरे । हालै जारी भएको अध्यादेशको विरोध आफुहरु रहेपनि कानुन पालना गर्दैनौं भन्न नमिल्ने भएकोले अध्यादेश अनुसार संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनका लागि अभ्यासको थालनी गर्नुपर्ने उनले उल्लेख गरे ।
संघका उपसमिति सदस्य चन्दिका छुकांले संस्थाको सम्पत्ति र दायित्व व्यवस्थापन तालिमबाट सिकेका ज्ञान सिप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार राखे । त्यसैगरी सघका उपसमिति सदस्य विकुलाल सुवालले सहभागीहरुलाई धन्यवाद दिएका थिए ।
प्रशिक्षक श्यामराजा तिमल्सिनाले संस्थाको स्रोत र स्रोतको परिचालनमा ध्यान दिनुपर्ने कुराहरु, वित्तीय विश्लेषण, सम्पत्ति दायित्वको संचित फरक गणना, सम्पत्ति दायित्वको व्यवस्थापनका नीतिगत व्यवस्था लगायतका विषयमा सहजिकरण गर्दै तालिमबाट सिकेका कुराहरुको निरन्तर अभ्यासमा लैजानुपर्ने सल्लाह दिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक साझेदारीमा भएको तालिममा सहभागीहरुले सैद्धान्तिक, नीतिगत तथा प्रयोगात्मक सहितको सिकाई भएकोले खुशी व्यक्त गरे । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा बरिष्ठ कर्मचारीहरु २४ जनाको सहभागिता रहेको थियो ।
नेपालपत्र संवाददाता