नेहरूले भारतमै बस्नआऊ भन्ने चिठी लेख्दा म मानिनँ, बिश्वेश्वरबाबुले मन्त्री बनाउँछु भन्दा परशुनारायणजीलाई बनाउनुस् भनेँ, अब म गरीब दाजुभाईका बीचमा जमिन्दार भएर बस्छु ? बरू किसान नेता हुन्छु नि !....: राधाकृष्ण थारू
कुलिन थारू परिवारमा जन्मेर लोकतान्त्रिक आन्दोलनलाई गति दिने र नेपाली काँग्रेसको जनप्रियता, यश र प्रतिष्ठा बढाउन निस्वार्थ योगदान पुर्याउने श्रद्धेय व्यक्तित्वमा बर्दियाका राधाकृष्ण थारू (१९६५–२०४५) अग्रणी स्थानमा आउने अविश्मरणीय नाम हो । पार्टीमा लागेर उहाँले पद वा प्रतिष्ठाको कदापि लोभ–लालच राख्नुभएन । आफ्ना उद्देश्य र अडानबाट कदापि विचलित हुनुभएन । उहाँलाई भूमिहिन र किसानका कल्याणकारी नायक पनि मानिन्छ । जमिन्दार परिवारमा जन्मेर लोकतन्त्र तथा समाजवादप्रति समर्पित रहँदै किसान र ‘रैती’हरूलाई नयाँजीवन दिने कार्यमा उहाँका योगदानहरू उच्च छन् ।
पश्चिम तराईमा प्रजातन्त्रका लागि राणा शासनका बिरूद्ध किसान र उपेक्षित जनतालाई जगाउने काम राधाकृष्णजीले गर्नुभयो । २००७ सालको सशस्त्र क्रान्तिमा उहाँ बाँके र बर्दियामा निकै सक्रिय हुनुहुन्थ्यो। २०१५ सालको आम निर्वाचनमा डा.के.आई.सिंहको संयुक्त प्रजातन्त्र पार्टीका उम्मेद्वार (निकटतम् प्रतिद्वन्द्वी) ले पाएकोभन्दा १० गुणाभन्दा बढी मत पाई उहाँ काँग्रेसबाट प्रतिनिधिसभाको सदस्य निर्वाचित हुनुभयो । बीपीले उहाँलाई मन्त्री बनाउन खोज्नुभएको थियो, तर उहाँले आफ्नो सट्टा परशुनारायण चौधरीलाई बनाउन सिफारिश गर्नुभयो, बीपीले २०१६ सालमा उहाँलाई काँग्रेस केन्द्रीय समितिको सदस्य मनोनित गर्नुभयो ।
राधाकृष्णजीका बाबुबाजेको बर्दियामा ६ / ७ गाउँमा जमिनदारी थियो । बर्दियाकै मोतीनगर लगायतका ठाउँमा दुईचार मौजाहरू पनि थिए । तर उहाँ हुनुहुन्थ्यो किसान र भूमिहिनहरूका नेता । नेपालको लोकतान्त्रिक आन्दोलनका नेतामात्र होइन, भारतको स्वतन्त्रताका पनि सेनानी हुनुहुन्थ्यो ।
भारतीय स्वतन्त्रता संग्राममा प्रभावकारी भूमिका निर्वाह गरेकोमा भारतीय प्रधानमन्त्री पं. जवाहरलाल नेहरुसँग सुपरिचित भएकोले नेहरुले अत्यन्त खुशी भएर उतैको नागरिकता लिई बस्न आग्रह गर्नुभएको थियो, तर उहाँ मान्नुभएन ।
पहिलो राणा प्रधानमन्त्री जंगबहादुरले ‘नयाँ मुलुक’का रुपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला अँग्रेजबाट फिर्ता ल्याएको भन्दै त्यस क्षेत्रमा राणाहरूको निकै दबदबा थियो । भारतको स्वतन्त्रतासँगै राधाकृष्णजी नेपाल फर्केर किसान आन्दोलनमा सरिक हुनुभयो र राणा शासनको सक्रिय बिरोधमा पनि । उहाँले बर्दियाका भूमिहिन र गरिब किसानहरूलाई जग्गा दिलाउन राणा प्रधानमन्त्री पद्म शम्शेरकहाँ पटकपटक विन्तीपत्र हाल्नुभयो । तर उहाँलाई काँग्रेसी भनी दोष मात्र लगाइएन भूमिहिनहरूलाई जग्गा दिलाउन विन्तीपत्र चढाउन काठमाडौँ आएको क्रममा उहाँसहित अन्यलाई पक्राउ गरियो ।
राधाकृष्णजीको जन्म बाबु भवानीदिन थारुका जेठा सुपुत्रका रुपमा बर्दियाको गुलरिया (कोठिया गाउँ) मा भएको थियो । बाजे खसाल महतो उही बेलाका जमिनदार भएको एवं राणा शासनमा थारु बस्तीको नायकलाई दिइने एक उपाधी ‘महतो’ पाउनुभएको थियो । राधाकृष्णजीले औपचारिक शिक्षा लिन पाउनु भएन । २०४५ मंसिर २५ गते ८० वर्षको उमेरमा उहाँको निधन भयो ।
_____________
ठाकुरसिंह थारुको सहयोगमा
चन्द्रमणि गाैतम