पोखरा । हिजो पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरू काठमाडौंबाट गएको यथार्थ खुल्न आएको छ । सबै मृतक यूवा युबतीहरू काठमाडौंको गोंगबुबाट घुम्न गएकाहरू रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । हिजो दिउँसो घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
यस दुर्घटनामा परेकी एक जनालाई सकुशल उद्दार गरिएको र अवस्था सामान्य रहेको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री छन् ।
जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोंगबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले दिएका हुन् ।
घटनामा २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको छ । उनको अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ। उनी भिरमा अड्किएको अवस्थामा फेला परेपछि प्रहरी र स्थानीयबासीले उनको उद्दार गरेका थिए ।
नौजना मानिस सबार रहेको जीप साढे १ बजे हुदुमा पुग्दा आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
पोखरा–घान्द्रुक कच्ची सडकखण्डको कलाभीरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा जीप खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिजै मुगुमा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो भने एक दर्शन बढी घाइते भएका थिए ।
्