बुधबार, भाद्र ३ गते २०८३

परस्पर जोड्ने मकर सक्रान्ति एक सकारात्मक   पर्व


पौष २९, २०८१ सोमबार
परस्पर जोड्ने मकर सक्रान्ति एक सकारात्मक   पर्व

लाेकनरायण सबेदी

 हामी मकर संक्रान्ति,माघे संक्रन्ति या माघी जे भनौ स्थान, अभ्यास या परम्परा अनुसार, त्यसको नजिक छौ  । यस संक्रान्तिलाई बिबिध किसिमले मनाउने चलन छ । तर यसमा सन्निहीत भावना भने एउटै छ । जुन दिन सूर्य उत्तरायण हुन्छ त्यस दिनलाई मकर संक्रान्तिका रुपमा मनाउने गरिन्छ । सक्रान्ति शब्दको अर्थ हुन्छ — मिलन, एक बिन्दूबाट अर्को बिन्दूसम्मको मार्ग, सूर्य या कुनै ग्रहको एक राशीबाट अर्को राशीमा प्रवेश गर्ने,दुइ युग या बिचारधाराहरुको संघर्षबाट परिवर्तित हुदै गएको बातावरणबाट उत्पन्न अबस्था ।

वास्तवमा संक्रान्ति हुनु नै जीवन हो । परिबर्तन र सन्धि – यसका दुइ महत्वपूर्ण पक्ष रहेका छन्, जसलाई राम्रोसँग बुझ्नु आवश्यक छ ।  जस्तो कि धनु र मकर राशी, फल र फूल । जस्तो बचपन र यौवन । जस्तो परम्परा र आधुनिकता । जस्तो शब्द र वाक्य । एक अर्कासँग जोडिनु, बद्लिनु र बिस्तार र बिनिमय हुनु । खिचडीको पनि यही भाव छ । खिचडी अर्थात् मिश्रण ।

बिश्वका सारा समाज र सँस्कृतिहरुको मूलाधार यही मिश्रण नै हो । मकर संक्रान्तिलाई सूर्यको गतिबाट निर्धारित गर्ने गरिन्छ । बाल बच्चाहरुको बिष्मय भावनामा तथा सिर्जनशील कलकारहरुको सिर्जनमा हरेक दिनको सूर्योदय आफ्नो प्रकारको पहिलो सूर्योदय नै हुने गर्दछ । सूर्यसँग जोडिएका परम्पराहरु सम्पूर्ण बिश्वमा हरेक ठाउमा रहेका छन् । पूर्वीय गोलार्ध्दमा त्यसमा पनि खाशगरी दक्षिण एशियाली क्षेत्रमा यसको परम्परा जत्तिको ब्यबस्थित र बैज्ञानिक लाग्दछ शायद यस्तो अन्यत्र पाइदैन कि ! संगममा त्रिबेणी घाटहरु या तीन नदीहरुको एकत्रीकरण जस्तो नेपालका बिभिन्न त्रिबेणी घाटहरु छन्, अझ हामीकहा त सात नदीहरुको संगम भएका सप्तकोशी र सप्तगण्डकी पनि छन् । अनि भारतका गंगा, यमुना र सरस्वतीको संगम जस्तो दुर्लभ प्राकृतिक संयोग अन्यत्र कतै छैन । यस्तोमा  त्यसै  सूर्य बिशिष्ट बनेको होइन । यसमा लोकको स्पर्श र परम्पराको संरचना पनि सम्मिलित छ । यस्तो परम्पराको संरचना कतिपय निर्धारित मूल्य,बिश्वास, ब्यवस्था र सामाजिक प्रकृयाहरुबाट बन्दछन् र ती मूल्य, बिश्वास र प्रकृयाहरुको परम्पराको आधार हुन्छ । हाम्रा कतिपय यस्ता परम्पराका अनेक रुपहरु छन् जुन संरचनारहीत मात्र होइन, त्यसका बिरोधी पनि हुने गर्दछन् ।

मकर संक्रान्ति अर्थात माघे संक्रान्तिमा सामुहीक स्नानले बर्ण, जाति, स्थान र भाषाका धेरैजसो सीमाहरु तोडिदिन्छ । यो यसको पारम्परिक र समकालीन दुबै रुप हो । दक्षिणायनलाई देबताहरुको रात्री अर्थात् नकारात्मकता र उत्तरायणलाई देबताहरुको दिन अर्थात सकारात्मकताको प्रतीकका रुपमा मान्ने गरिन्छ । यो सकारात्मकता एक अर्कासँग मिल्ने, संगमित हुने, दान गर्ने र सहश्र शीर्षानुभवबाट आउने कुरा हो । दान महत्वपूर्ण कुरा छ । किनकि जुन सँस्कृतिमा दिने या प्रदान गर्ने कुरालाई महत्वपूर्ण बनाइन्छ त्यहाँ समता भावको सम्भावना हुन्छ । प्रसिद्ध बिचारक डायनले भनेका थिए कि ममा अनेक ब्यक्तिहरु छन् । यसलाई अझ अगाडि बढाएर बुझ्न सकिन्छ कि संक्रान्तिमा अनेकौंको समाहार हुन्छ । मकर संक्रान्तिका दिनमा कतिपय ठाउँमा तील, सख्खर खाउ र मीठो बोलीबचन गर भन्ने चलन पनि छ । यसले हाम्रो मनुष्यताको सार पनि झल्काउँदछ। अनि यो मकर संक्रान्ति कृषि सँस्कृतिकोरुपमा पनि सराबरी भएर मिलेको छ र यसलाई धान्य उत्कर्षको प्रतीकका रुपमा पनि लिइन्छ । सूर्यलाई जुन नैबेद्य चढाउने गरिन्छ त्यो कृषि उपज नै हुने गर्दछ । यस दिन कतिपय ठाउँमा खीरलाई प्रसादकारुपमा ग्रहण गर्ने चलन पनि छ । खिच्रो, खीर लड्डु, तरुल, सखरखण्ड सबैको मिलनको भाव र एउटा रहस्यजस्तै लाग्ने अनुभूतिमा केही समानान्तर लाग्ने कुरा पनि यसमा छिपेको देखिन्छ । अर्थात् पृथ्बीबाट उत्पन्न ‘अन्नमय भावना’ यसमा रहेको हुन्छ ।

   यसै दिनले बताउँदछ कि दक्षिणायनबाट उत्तरायणतिर लाग्नु नकारात्मकताबाट सकारात्मकतातिर, अन्धकारबाट उज्यालोतिर जानु हो । सूर्य अर्थात् तेजको ज्ञान । बास्तवमा यो तेज बाहिर र भित्र दुबैमा उत्रिन्छ । समाजशास्त्रीयरुपमा कृषि आधारित उत्पादन जब जब निरर्थक हुन थाल्दछन् र गाउँबाट शहरमा आएका मजदुरहरुको अनियन्त्रित भीडलाई आर्थिक कृयाकलाहरमा लाग्ने कुनै ठाउँ मिल्दैन त्यो बेला स्थिति काबु बाहिर हुन पुग्दछ । त्यसले सामाजिक तथा राजनीतिक क्रान्ति या संक्रान्ति स्पष्ट भइरहेको हुन्छ कि सत्ता सम्प्रभूता प्राप्त भनिने  राज्य–ब्यबस्था एकको हातबाट गुमिरहेको हुन्छ र अर्को  समूह, उप समूहमा पुग्न थालेको हुन्छ । अन्धकार र प्रकाश बीचको एउटा नयाँ समकालको रचना गरिदै गरेको कुराको पनि यो एउटा प्रतीक हो ।

बास्तवमा परिबर्तन शाश्वत कुरा हो, अनि त्यसलाई सकारात्मक तुल्याउनु मानिसको सिर्जनात्मकता हो ।  संक्रान्तिबाट प्रकाश बढी र अन्धकार कम हुन्छ भन्ने भाव यसै मांगल्यको प्रतीक पनि हो । त्यसमा समन्वय अर्थात खिचडी, संगम, मिष्ठान्न भाव,स्नानको सहर्ष शीर्ष अनुभव लोकमनको संपृक्ति सबै एकसाथ एकत्र रहेका हुन्छन् र छन् । जेम्स जाँको शब्दमा ‘बिश्व एक मेशिन (यन्त्र)को अपेक्षा बिचार अधिक हो’ । यो उन्नत र सकारात्मक बिचार एउटा उज्यालो हो,जसले हामीलाई सिर्जनाधर्मी बनाउने गर्दछ । यही नै परिर्बतनको धेय या हेतु पनि हो । यसैले हामी मानिसलाई संक्रान्त तुल्याइरहन्छ र यसैले हामीलाई लालित्यपूर्ण या ललित बनाइरहन्छ । त्यसो भएकाले गहिरोसँग बुझ्दा मकर संक्रान्ति केवल स्नान गर्ने, शुद्ध शान्त हुने, घिउ, चाकु, मिष्ठान्न, पक्वान्न खाने पर्व मात्र होइन यसमा अन्तरनिहीत भाव धारालाई बुझ्दा रचनात्मक क्रान्तिकारी बन्ने र नकारात्मकतालाई बदलेर समाजलाई शतत सकारात्मकतातिर लैजाने सूचक र प्रतीक पर्व पनि हो भन्न सकिन्छ । सूर्यको उत्तरायण गत्यात्मकताले पनि यही जनाउँदछ । मकर संक्रान्तिको सार हो — नकारात्मक बिकृतिका बिरुद्ध सकारात्मक दिशातिर गतिमान होऔं !