निर्माण सामग्रीमा कृत्रिम मुल्य गराइएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले मुल्यवृद्धि फिर्ता गराउने माग गरेको छ । अस्वाभाविक र कृत्रिम मुल्यवृद्धि फिर्ता गराउन मञ्चले प्रधानमन्त्रसमक्ष ज्ञापन समेत दिएको छ ।
भौतिक विकास निर्माणको लागि अत्यावश्यक वस्तुको रुपमा रहेको सिमेण्टको मूल्य एकवर्ष अघिसम्म प्रति बोरा ५०० रुपैयांमा सहज रुपमा प्राप्त भई रहेकोमा केही समय देखि क्रमशः मूल्यबृध्दि हुँदैहुँदै हाल प्रतिबोरा खुद्रा मूल्य नै ९०० रुपैयासम्म लिन थालिएको मञ्चले जनाएको छ ।
सिमेण्टसँगै भौतिक निर्माणको लागी चाहिने डण्डीको मूल्य हालसम्म पनि साविककै दररेट अनुसार प्रति किलो अधिकतम ९५ रुपैयांमा पाई रहेको, खोलाको बालुवा प्रति क्यू. फिट १२ रुपैयांमा पाई रहेको र रोडाको प्रति क्यू. फिट १४ रुपैयाँमा पाइरहेको अवस्थामा सिमेण्टको मूल्य अस्वाभाविक रुपमा बढाइएको मञ्चले आपत्ति जनाएको हो ।
सरकारी सिमेण्ट उद्योगहरु हेटौडा सिमेण्ट र उदयपुर सिमेण्ट उद्योगले आफनो उत्पादन नियमित रुपमा बजारमा पठाउन नसक्दा निजी क्षेत्रका सिमेण्ट उद्योगहरुले सिण्डिकेट र कार्टेलिङ्ग गरी मुल्य बढाएको देखिन्छ ।
अफ सिजनमा घाटामा सिमेण्ट बिक्री गर्नु परेको तथा नेपाल बिद्युत प्राधिकरणले डेडिकेटेड लाइन प्रयोग गरे बापतको महसुल उद्योगहरुबाट उठाउन लागेको कारणले मूल्य बढाउनु परेको भन्दै अस्वाभाविक रुपमा कृत्रिम मूल्य बढाउने काम गरेको हुंदा तत्काल यस्ता गैरकानूनी काम गरी मूल्य बढाउने सिमेण्ट उद्योगहरुलाई कारवाहीको दायरामा ल्याई मूल्यबृध्दि नियन्त्रण गर्न उसको माग छ ।
नेपालपत्र संवाददाता