शुक्रबार, कार्तिक ७ गते २०८३

कर्णाली प्रदेशमा सहकारी संस्थाको पुँजी, बचत संकलन र ऋण प्रवाहमा वृद्धि


पौष १८, २०८१ बिहीबार
कर्णाली प्रदेशमा सहकारी संस्थाको पुँजी, बचत संकलन र ऋण प्रवाहमा वृद्धि

 

कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी, बचत संकलन र ऋण लगानीमा वृद्धि देखिएको छ । सहकारी संस्थाहरुको कुल पुँजीमा ५.०६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो पुँजी ८.५४ प्रतिशतले वृद्धि भएको थियो । 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक गतिविधि अध्ययन २०८०/८१ को वार्षिक प्रतिवेदनले जनाएको छ । राष्ट्र बैंकले नमुना छनौटमा परेका सहकारीहरु को तथ्यांक विश्लेषण गरी अध्ययनको निष्कर्ष प्रस्तुत गरेको हो ।  

अध्ययनका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कर्णाली प्रदेशका सहकारी संस्थाहरुको कुल बचत ५.५९ प्रतिशतले वृद्धि भएकोमा आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म २९.०३ प्रतिशतले वृद्धि भएको छ । बचत बढ्नुमा त्यस प्रदेशका सहकारी संस्थाहरु ग्रामीण क्षेत्रमा अवस्थित तथा उत्पादनसँग जोडिनु मुख्य कारण रहेको जनाइएकाे छ ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल ऋण प्रवाह १८.३४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षमा ऋण प्रवाह २.१० प्रतिशतले घटेको थियो । 

गत वर्ष ५.८८ प्रतिशतले बढेको सदस्य संख्या समीक्षा वर्षमा ०.६० प्रतिशतले बढेको छ भने सहकारी संस्थाहरुले सिर्जना गरेको रोजगारीमा ६.२७ प्रतिशतले वृद्धि भएको देखिएको छ ।