तपाईं जनताले आफुलाई बुझिदिउन् भन्ने इच्छा गर्नुहुन्छ र तपाईंं जनसमूहसित एकरूप हुन चाहनुहुन्छ भने आफूलाई खार्ने दीर्घकालीन र अझ कष्टपूर्ण प्रक्रियाबाट तपाईंले गुज्रन अठोट गर्नैपर्छ। यहाँनेर मेरा आफ्नै भावनाहरू कसरी फेरिए भन्ने अनुभवको मैले चर्चा गर्नुपर्ला।
मैले विद्यार्थीका रूपमा जीवनको थालनी गरेँ र विद्यालय मा विद्यार्थीको चालचलन सिकेँ।आफ्ना काँधमा वा हातमा एउटा छेस्कोसम्म पनि बोक्न नसक्ने सहपाठीहरू का अगाडि मैले मेरा आफ्नै सरसामानहरू बोक्नेजस्तो मामुली शारीरिक श्रम गर्दा पनि मेरो इज्जत गइहाल्ला कि भन्ने मलाई लाग्थ्यो । त्यसबखत मलाई बुद्धिजीवीहरू मात्रै यस संसारका सफासुग्घर मानिस हुन् र तिनको दाँजोमा मजदुर र किसानहरूचाहिँ फोहोरी मानिस हुन् भन्ने लाग्थ्यो । बुद्धिजीवीहरू सफासुग्घर मानिस हुन् भन्ने विश्वास भएकाले उनीहरूका लुगा लगाउन मलाई पटक्कै अप्ठेरो लाग्दैनथ्यो तर मजदुर र किसानहरूचाहिँ फोहोरी हुन् भन्ने विश्वास भएकाले म तिनका लुगा लगाउँदैनथेँ तर म क्रान्तिकारी भएपछि र मजदुर र किसानहरू तथा क्रान्तिकारी सेनाका सिपाहीहरूसँग बसेपछि मैले बिस्तारैबिस्तारै उनीहरूलाई राम्ररी चिनेँ र उनीहरूले पनि बिस्तारैबिस्तारै मलाई चिने । पुँजीवादी विद्यालयहरूमा छँदा मेरा मनमा जरा गाडेका पुँजीवादी र निम्नपुँजीवादी भावनाहरूलाई मैले त्यसबखत मात्रै आधारभूत रूपमा फेर्न सकेँ।अनि मलाई कस्तो लाग्यो भने संस्कार नफेरिएका बुद्धिजीवीहरू मजदुर र किसानहरूको दाँजोमा सफासुग्घर हुँदा रहेनछन् र अन्तिम विश्लेषणमा मजदुर र किसानहरू नै सबभन्दा सफासुग्घर मानिस रहेछन् अनि हातमा हिलो लागेका र खुट्टामा गोबर लत्पतिएका भए पनि किसान र मजदुरहरू पुँजीवादी र निम्नपुँजीवादी बुद्धिजीवीहरूभन्दा त साँच्चै नै सफासुग्घर पो हुँदा रहेछन्। भावनात्मक परिवर्तन,एक वर्गबाट अर्को वर्गमा परिवर्तन भन्नाको अर्थ यही हो । बुद्धिजीवी समुदायबाट आएका हाम्रा लेखक र कलाकारहरू जनसमूहले आफ्ना रचनाहरू राम्ररी रुचाएको देख्न चाहन्छन् भने उनीहरूले आफ्ना विचार र भावनाहरूलाई रूपान्तर गर्नुपर्छ र पुनः संस्कार गर्नैपर्छ । यस्तो रूपान्तर नगरीकन, यस्तो पुनः संस्कार नगरीकन उनीहरूले कुनै काम पनि राम्ररी गर्न सक्नेछैनन् ।
अध्ययनको समस्या
अन्तिम समस्या अध्ययनको समस्या हो । यसो भन्नाको मेरो तात्पर्य हो माक्र्सवाद–लेनिनवाद तथा समाजको अध्ययन । आफूलाई माक्र्सवादी लेखक ठान्ने कुनै पनि व्यक्तिले र विशेष गरेर कम्युनिस्ट पार्टीको सदस्य रहेको कुनै पनि लेखकले माक्र्सवादलेनिनवादको ज्ञान हासिल गर्नैपर्छ । तैपनि हाल केही कमरेडहरूमा माक्र्सवादका आधारभूत धारणाहरूको जानकारी पनि छैन।
उदाहरणका निम्ति मानिसको अस्तित्वले उसको चेतनालाई निर्धारित गर्छ र वर्गसङ्घर्ष र राष्ट्रियसङ्घर्षका वस्तुगत वास्तविकताहरूले हाम्रा विचार र भावनाहरू लाई निर्धारित गर्छन् भन्ने कुरा एउटा आधारभूत माक्र्सवादी धारणा हो।तर हाम्रा केही कमरेडहरू यस तथ्यलाई उल्ट्याइदिन्छन् र ‘प्रेम’ बाटै हरेक कुराको थालनी हुनुपर्छ भन्छन् ।

अब प्रेमकै कुरा गर्ने हो भने वर्गीय समाजमा वर्गीय प्रेम मात्रै हुनसक्छ तर यी कमरेडहरू भने वर्गभन्दा माथि रहेको प्रेम,अमूर्त प्रेम, अमूर्त स्वतन्त्रता, अमूर्त सत्य, अमूर्त मानव स्वभाव आदि कुरा खोजिरहेका छन् । यसले के जनाउँछ भने उनीहरू पुँजीपतिवर्गबाट साह्रै गहिरोसित प्रभावित भएका छन् । उनीहरूले आफूलाई यस प्रभावबाट पूरापूर मुक्त गर्नुपर्छ र नम्रतासाथ माक्र्सवादलेनिनवादको अध्ययन गर्नुपर्छ। लेखक र कलाकारहरूले साहित्य र कलाका कृतिहरूको अध्ययन गर्नु उचित कुरो हो तर माक्र्सवादलेनिनवादको विज्ञान भने सबै क्रान्तिकारीहरूले अध्ययन गर्नैपर्छ र यस कुरामा लेखक र कलाकारहरू पनि अपवाद हुँदैनन्।
लेखक र कलाकारहरूले समाजको अध्ययन गर्नुपर्छ।भनाइको अर्थ के भने उनीहरूले समाजका विभिन्न वर्गहरू,तिनका आपसी सम्बन्धहरू र तिनका आआफ्ना स्थितिहरू,तिनको स्वरूप र तिनको मनोविज्ञानको अध्ययन गर्नुपर्छ।यी सबै कुरालाई प्रस्टसित ठम्याएपछि मात्रै हामीले समृद्ध विषयवस्तु र सही दिशा भएको साहित्य र कला हात पार्न सक्नेछौँ।(माओ त्सेतुङ २मई १९४२) :
साभार : महदीप पाेखरेलकाे मुहारपुस्तिकाबाट
नेपालपत्र संवाददाता