नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अब लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् । तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिँदै १० अर्ब पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरेका हुन् ।
नेपालको पर्यटन, ऊर्जा, सूचना प्रविधि र कृषि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरूलाई आग्रह गरे । महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुन सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको अध्यक्ष ढकालले उल्लेख गरे ।
पर्यटक आगमन बढिरहेको, रेमिटेन्स मार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको पनि उनको भनाइ थियो । भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामनासमेत व्यक्त गरे ।
नेपालपत्र संवाददाता